केराबारी–९को तुर्के खोलाको पुल बनाउन ढिलो गर्ने निर्माण व्यावसायि कालो सुचिमा

विराटनगर । मोरङको केराबारी गाउँपालिका–९ भलुवाका तुर्के खोलामा पुल बनाउन ढिला सुस्ती गर्ने  निर्माण व्यावसायि सहित १२ निर्माण व्यावसायि कालो सुचिमा परेका छन ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारित समयमा काम सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको हो  । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हो ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटको सिफारिसमा निलगिरी–नेसनल–क्यानोन जेभीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । निलगिरी निर्माण सेवा प्रालिका सञ्चालक युवराज डाँगी, नेसनल डेभलपमेन्ट सेवा प्रालिका सञ्चालक धनकुमार थापा र क्यानोन कन्स्ट्रक्सन प्रालिका सञ्चालक गौरव पुडासैनी रहेका छन् । यी तीन वटै कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

निलगिरी निर्माण सेवा प्रालिले मोरङका तिन वटा पालिका जोड्ने पुल निर्माण गर्न थालेको ८ वर्ष वित्न लाग्दा पनि काम सकेको छैन ।  नीलगिरिसञ्चालक युवराज डाँगी हुन । मोरङको बेलबारी, केराबारी र लेटाङ गरी ३ पालिका जोड्ने पुल अलपत्र अवस्थामा हुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । केराबारी–९ तुर्के खोलामा ३० मिटर लम्बाइको पुल बनाउन केन्द्रीय योजनामै ४ करोड ५५ लाख रुपैयाँ बजेट छुटाइएको थियो ।

२०७१ साल निलगिरी कन्स्ट्रक्सनले ठेक्कामार्फत पुल निर्माणको जिम्मा पाएको थियो । सुरुमा ४ वर्षमा निर्माण सक्ने सम्झौता भएको थियो । ठेकेदारले ३ पटक म्याद थप गरेका छन् । गत चैत्रसम्ममा उनले ३ पटक म्याद थप गरेका थिए ।
कालो सुचिमा पर्नेमा होमनाथ गौतम मुख्य सञ्चालक रहेको भारत–सप्तकोसी जेभी काठमाडौँलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन कार्यालय बुटवलले यो ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको थियो ।

रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको काममा ढिलाइ गर्ने हाइग्रिवारसिद्धि साँई प्रकाश जेभीलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक देपेन्द्रबहादुर शाही र नरेन्द्र प्रधान रहेका छन् ।

त्यस्तै, हेटौँडा महानगरपालिकाको सिफारिसमा भरतपुर चितवनको हाइवे कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको छ । नारायण सुवेदी मुख्य सञ्चालक भएको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

शहीद गङ्गालाल हृदय केन्द्र बाँसबारीको सिफारिसमा काठमाडौँको विधि बिल्डर्स प्रालि पनि कालोसूचीमा परेको छ। विप्लव पोख्रेल सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

खलङ्गा जाजरकोटको साइबाबा एन्ड तारा कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेको छ । सञ्जयाकुमारी राना –शाह) सञ्चालक रहेको यो कम्पनीलाई कालोसूचीमा राख्न टोखा नगरपालिकाले सिफारिस गरेको थियो ।
त्यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा जुम्लाको अनुकूल निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीको सञ्चालक तिलबहादुर भण्डारी रहेका छन् ।

काठमाडौँको नयाँ बानेश्वरमा कार्यालय रहेको पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न पर्यटन विकास आयोजना हेटौँडाले सिफारिस गरेको थियो । प्रेमप्रसाद अधिकारी सञ्चालक रहेको यो कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

गुर्भाकोट नगरपालिका–४ सुर्खेतमा रहेको प्रभु निर्माण सेवालाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । रेशमबहादुर शाह सञ्चालक रहेको यो कम्पनीलाई कालोसूचीमा राख्न खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले सिफारिस गरेको थियो ।

उत्तरगया गाउँपालिका, रसुवाको सिफारिसमा सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ। यो कम्पनीका सञ्चालक सिद्धिबाबु रेग्मी रहेका छन् ।कपिलवस्तु नगरपालिकाको सिफारिसमा रुपन्देहीको एसएसके निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीका सञ्चालक सफीउर्रहमान अन्सारी रहेको छ ।

त्यसैगरी, कृषि विकास निर्देशनालय डोटीको सिफारिसमा कैलालीको सुर्मादेवी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । यो कम्पनीको मुख्य सञ्चालक मीनाकुमारी शर्मा कोइराला रहेका छन् ।

बुधबार, १४ मंसिर, २०७९, साँझको ०६:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर