धनकुटा । राप्रपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री सुर्य बहादुर थापाको गृह जिल्ला धनकुटामा राप्रपाको जमानत जफत भएको छ ।
राप्रपाका उम्मेदवार सहित ११ जनाको जमानत (धरौटी) जफत भएको हो । प्रतिनिधिसभातर्फ ५ जना र प्रदेशसभातर्फ ६ जनाको जमानत जफत भएको हो।
जसमा प्रतिनिधिसभा सदस्यका ७ जना उम्मेदवारमध्ये ५ जना तथा प्रदेशसभाका ११ जना उम्मेदवार रहेकामध्ये ६ जनाको जमानत जफत भएको निर्वाचन कार्यालय धनुकटाले जनाएको छ ।
स्वतन्त्र उम्मेदवार हेमराज भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आरामकुमार लिम्बु, मंगोल नेशनल अर्गनाइजेशनका विश्वामित्र लावती र एकीकृत शक्ति नेपालका रमेश राईले जमानतजफक नकटाएका हुन । उनिहरु प्रतिनिधिशभाका उम्मेदवार थिए । हेमराज माओवादी बाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका हुन ।
प्रतिनिधिसभातर्फ ६६ हजार ४४४ मत खसेकोमा ६६ हजार ७२७ मत सदर भएको थियो। जसमा जमानत जफत नहुन उम्मेदवारले ६ हजार ६७३ मत ल्याउनुपर्ने रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले बताए ।
स्वतन्त्र भण्डारीले ५ हजार ९२६, राष्ट्रिय प्रजातन्त्र पार्टीका थापाले १५९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका लिम्बुले ६२५, मंगोल नेशनल अर्गनाइजेशनका लावतीले २१७ र एकीकृत शक्ति नेपालका राईले ९५ मत मात्रै ल्याएका छन्।
प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा १ जना र निर्वाचन क्षेत्र ‘ख’ मा ५ जनाको उम्मेदवारको जमानत जफत भएको हो।
प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मनकुमार राईको जमानत जफत भएको छ। यता प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामबहादुर गुरुङ्ग, जनता समाजवादी पार्टी, नेपालका डम्बरबहादुर कटुवाल, स्वतन्त्र बालनन्द दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सोमबहादुर घिसिङ तामाङ र स्वतन्त्र जीतेन्द्र राईको जमानत जफत भएको हो।
प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा ३७ हजार ५५६ मत खसेकोमा ३६ हजार ४५ मत सदर भएको थियो। जसमा जमानत जफत नहुन उम्मेदवारले ३ हजार ६०५ मत ल्याउनुपर्ने रहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
जसमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राईले ५५४ मत मात्रै ल्याएका छन्।
प्रदेशसभा निर्वाचन क्षेत्र २ मा ३१ हजार ७८७ मत खसेकोमा ३० हजार ७११ मत सदर भएको थियो। जसमा जमानत जफत नहुन उम्मेदवारले ३ हजार ७२ मत ल्याउनुपर्ने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।
जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीका गुरुङ्गले १ हजार ७१५, जनता समाजवादी पार्टी नेपालका कटुवालले ७७४, स्वतन्त्र दाहालले ६८६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका तामाङले २८८ र स्वतन्त्र राईले २२१ मत ल्याएका छन्।
धनकुटामा प्रतिनिधिसभामा नेकपा एमालेका राजेन्द्रकुमार राईले ३० हजार १०१ मत ल्याएर विजयी भए भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुनिल थापाले २८ हजार ७ सय ४ मत ल्याए।
प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा नेकपा एमालेका निरन राईले १७ हजार १८ मत ल्याएर विजयी भए भने गठबन्धनका नेकपा एकीकृत समाजवादीका अर्जुन राईले १० हजार २२५ मत ल्याएर दोस्रो भए। जनता समाजवादी पार्टी नेपालका रकम चेम्जोङले ८ हजार २४७ मत ल्याएर तेस्रो भए।
प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ मा पनि नेकपा एमालेका इन्द्रमणि पराजुली १५ हजार ७९७ मत ल्याएर विजयी भए भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठले ११ हजार २३० मत ल्याएर दोस्रो भइन्।