विराटनगर । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रदेश १ का मुख्यमन्त्रीसहित ९ मन्त्रीहरु उम्मेदवार रहेकोमा मतगाणना जारी रहँदा सबै मन्त्रीहरुले अग्रता लिएका छन् ।

अहिलेसम्म मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, खानेपानी तथा सिचाईंमन्त्री रामकुमार राई, पर्यटनमन्त्री खिनु लङ्वा लिम्बूको क्षेत्रमा मतगणना भइरहँदा सबैले अग्रता लिएका छन् ।

भोजपुरमा नेकपा एकीकृत समाजवादीबाट प्रदेशसभाको उम्मेदवार रहेका मुख्यमन्त्री राई फराकिलो मतान्तरसहित अगाडि छन् । उनले ३११३ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार हरि राईले १७७८ मत पाएका छन् ।

यस्तै पाँचथरको २ बाट प्रदेशसभाको उम्मेदवार रहेका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पनि मतान्तर घढाउँदै लगेका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनले पछिल्लो गणनामा ४५१९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार आइन्द्रसुन्दर नेम्बाङको मत ३६५५ रहेको छ ।

प्रदेशसभाका खानेपानी तथा सिंचाईमन्त्री रामकुमार राई खोटाङबाट प्रतिनिधिसभाको उम्मेदवार छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार उनले पनि अग्रता कायम राखेका छन् ।

नेकपा एमाले नेता विशाल भट्टराईलाई ४०९ मतले पछि पार्दै राईले अग्रता लिएका छन् । राईले ४२९४ मत पाउँदा भट्टराईले ३५७६  मत ल्याएका छन् ।

प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले पनि उदयपुरको क्षेत्र नं. १ (२) मा अग्रता कायम राखेका छन् । नेपाली काँग्रेका उम्मेदवार उनले ४२१४ मतसहित अग्रता बनाउँदा नेकपा एमालेका उम्मेदवार ईश्वरमणि राउतले ३३७९ मत प्राप्त गरेका छन् ।

यस्तै इलामको क्षेत्र नं. १ (१) बाट उम्मेदवार बनेकी पर्यटनमन्त्री खिनु लङ्वा लिम्बूले पनि लगातार अग्रता कायम राखेकी छन् । नेकपा एकीकृत समाजवादीकी उम्मेदवार उनले ४११२ मत प्राप्त गर्दा नेकपा एमालेकी शोभा पराजुलीले ३३५६ मत पाएकी छन् ।

जनता समाजवादी पार्टीबाट स्वास्थ्यमन्त्री रहेका जयराम यादव उम्मेदवार भएको मोरङ क्षेत्र नं. ५(२), नेपाली काँग्रेसबाट आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका केदार कार्की उम्मेदवार भएको मोरङ क्षेत्र नं. ६(२), प्रदेश सरकारका कृषिमन्त्री झलकबहादुर मगर उम्मेदवार भएको झापाको ४ (१) र यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरे उम्मेदवार भएको मोरङको क्षेत्र नं. १(२) मा भने गणना सुरु भइसकेको छैन ।