काठमाडौं । हिमालपारीको जिल्ला मुस्ताङमा प्रतिनिधिसभा र प्रदेशसभाका दुबै सिटमा जीन निकाल्दै नेपाली कांग्रेसले ‘क्लिन स्वीप’ गरेको छ ।
प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका योगेश गौचन थकाली विजयी भएका छन् । नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराएका हुन् । योगेशले ३ हजार ९९२ मत पाउँदा प्रेमप्रसादले ३०७८ मत पाएका छन् ।
मुस्ताङको दुवै प्रदेशसभा सदस्यमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा १ मा नम्डु गुरुङ र प्रदेशसभा २ मा विकल शेरचन विजयी भएका छन् ।
गुरूङले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गरेका हुन् भने शेरचनले एमालेकै चन्द्रमोहन गौचनलाई पराजित गरेका हुन् । गुरुङले १ हजार ४८ मत ल्याएर प्रदेशसभामा निर्वाचित हुँदा विष्टले ७९३ मत पाएका छन् । विष्ट निवर्तमान प्रदेशसभा सदस्य हुन् ।
यस्तै शेरचनले २ हजार ७२३ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी गौचनले २ हजार ५६५ मत पाएका छन् ।

