विराटनगर । प्रदेश १ मा करिब ६० प्रतिशत मत खसेको छ । सबै जिल्लाबाट अन्तिम तथ्यांक आइनसकेको र आइतबार रातिसम्म प्राप्त तथ्यांक अनुसार करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवनकश्यप अधिकारीले जानकारी दिए ।
निर्वाचन कार्यालयका अनुसार मोरङमा ६६.२२ प्रतिशत मत खसेको छ । मोरङमा ७ लाख ३५ हजार ५२५ जना मतदाता छन् रहेकोमा ४ लाख ८७ हजार ४७ मत खसेको अधिकारीले जानकारी दिए । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा मोरङमा करिब ६८ प्रतिशत मतदान भएको थियो । स्थानीय तहको तुलनामा संघ र प्रदेशको निर्वाचनमा मोरङमा दुई प्रतिशत कम मतदान भएको हो ।
मोरङमा ८३९ वटा मतदान केन्द्र र ३०६ वटा मतदानस्थल रहेको थियो भने दुई वटा अस्थायी मतदान केन्द्र रहेको थियो । मोरङमा सबैभन्दा बढी मोरङको ३ नम्बर क्षेत्रमा मतदाता छन् । क्षेत्र नं. १ मा १ लाख २३ हजार ६१५, क्षेत्र नं. २ मा १ लाख २४ हजार ७२९, क्षेत्र नं. ३ मा १ लाख ४९ हजार ८३३, क्षेत्र नं. ४ मा १ लाख १० हजार ९३, क्षेत्र नं. ५ मा १ लाख ४ हजार ९४ र क्षेत्र नं. ६ मा १ लाख २६ हजार ७६१ जना मतदाता छन् ।
प्रतिनिधिसभाका ६ र प्रदेशसभाका १२ सिटको लागि मोरङमा २१५ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा १०५ र प्रदेशसभातर्फ १ सय १० जना उम्मेदवार रहेका छन् ।
निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङ्गमा ५५, झापामा ६०, संखुवासभामा ५१, तेह्रथुममा ५८, धनकुटामा ६०, सुनसरीमा ६२, खोलुखुम्बुमा ५०, ओखलढुङ्गामा ५६ र उदयपुरमा ५३.६ प्रतिशत मतदान भएको अधिकारीले जानकारी दिए । यस्तै भोजपुरमा ५० प्रतिशत र खोटाङमा करिब ४८ प्रतिशत मात्र मत खसेको छ ।
पहाडी जिल्लाका मतपेटिका गणस्थलमाा आइपुग्न सोमबार दिउँसोसम्म लाग्ने बताइएको छ । प्रदेशभर कतैपनि पनि मतदान स्थगित नभएको प्रदेश निर्वाचन कार्यायलले जनाएको छ । ‘छिटफुट घटना भएका स्थानहरुमा पनि मतदान सुरु गरिएको थियो’ अधिकारीले भने । छिटपुट घटनाबाहेक अन्य ठाउँमा भयरहित ढंगबाट मतदान भएको उनले बताए ।
प्रदेशमा १ हजार ८ सय ९७ वटा मतदानस्थल र ४ हजार ९९ वटा मतदान केन्द्र रहेका थिए । मतदान सम्पन्न गराउन प्रदेशमा ३२ हजार ७९२ जना कर्मचारी र १६ हजार ३९६ जना स्वयंसेवक परिचालन गरिएको थियो । सुरक्षाका लागि प्रदेश १ मा नेपाल प्रहरी र म्यादी ३१ हजार १२२ जना परिचालन भएका थिए ।

