विराटनगर। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रतिस्पर्धीको भन्दा आफूले दोब्बर बढी मत ल्याएर विजयी हुने बताएका छन् ।
प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा प्रदेश २ मा आङ्बो र नेकपा एमालेका केन्द्रीय सदस्य अइन्द्र सुन्दर नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ । आङ्बोलाई सत्ता गठबन्धनको साथ छ ।
उनी ४ वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयमा रहँदा जिल्लाको विकास निर्माणले आफूले राम्रो काम गरेकाले जनता उनको पक्षमा रहेको दाबी गर्छन् । ‘मेरो क्षेत्रका जनताको साथ मलाई राम्रो छ । एमालेकै साथीहरूले पनि मलाई भोट दिने सम्भावना छ । हामी गठबन्धन त झन् यो क्षेत्रमा बलियो छौँ । म एमालेको भन्दा दोब्बर मत ल्याएर प्रदेशको निर्वाचन जित्ने तयारीमा छु । जनताहरू मेरो काम देखेर खुसी हुनुहुन्छ । जनताको मलाई मुख्यमन्त्रीको रुममा देख्न चाहेका छन् । म घरदैलोमा जाँदा अब तपाईँ प्रदेशको मुख्यमन्त्री बन्नुपर्छ भन्नु हुन्छ र मेरो सम्भावना पनि छ,’ उनी भन्छन्, ‘गठबन्धनको अंक गणितका आधारमा पनि हामी ढुक्क छौँ । हाम्रो जिलामा गठबन्धनका सबै साथीहरूले जित्ने कुरामा द्विविधा छैन । स्थानीय तह निर्वाचनमा यहाँका सबै स्थानमा गठबन्धनले जितेको छ । यो हिसाबले हेर्दा हाम्रो मत एमालेको भन्दा दोब्बरले आउँछ ।’
यो निर्वाचन क्षेत्रमा ६४ हजार ८ सय ८४ मतदाता छन् । फिदिम नगरपालिकाको ५, ६ र ९ वडा, मिक्लाजुङ, तुम्बेवा, कुम्मायक र फाल्गुननन्द गाउँपालिका पर्छन् । आङ्बो र नेम्वाङसहित प्रदेश २ मा आठ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । तर मुख्य प्रतिस्पर्धा भने नेम्बाङ र आङ्बोको नै हुने देखिन्छ । यता नेम्बाङ भने आफू एमालेको उम्मेदवार भएकाले यो पटक आफूलाई जनताले जिताउने दाबी गर्छन् ।