संखुवासभा । संखुवासभाको प्रदेश निर्वाचन क्षेत्र २ पुराना एमाले सहयात्रीबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका विदुरकुमार लिङ्थेप र नेकपा (एस)की सरिता खड्का प्रतिस्पर्धा हुने देखिन्छ । २०७४ को निर्वाचनमा एमालेबाट प्रदेशसभामा समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भई प्रदेश १ को सामाजिक विकास समिति सभापति भएकी खड्का नेकपा (एस)बाट अहिले चुनावी प्रतिस्पर्धामा छन् ।

एमालेका लिङ्थेप पनि अघिल्लो स्थानीय तहको निर्वाचनबाट मादी नगरपालिकाको मेयरमा निर्वाचित भई जनप्रतिधिको रुपमा काम गरिसकेका छन् । लिङ्थेप मेयरबाट प्रदेशसभा र एमालेबाट नेकपा (एस)मा गएकी खड्का समानुपातिकतर्फ प्रत्यक्षबाट प्रदेशसभा सदस्यका चुनावी मैदानमा छन् ।

एमालेका लिङ्थेप यसअघि पनि धेरै पटक एमालेले जितकाले चुनाव जित्नेमा विश्वस्त छन् । खड्का पनि एमालेबाट फुटेको पार्टी नेकपा(एस) भएकाले फुटको कारण एमाले कमजो रहेको र कांग्रेस, माओवादीको साथ पाएपछि चुनाव जित्ने योजनामा छिन् । सरिता २०६४ मा निर्वाचित संविधानसभा सदस्य डम्बर खड्काकी श्रीमती हुन् ।

गत स्थानीय तहको निर्वाचनको अंक गणित यस्तो छ । एमाले वडा अध्यक्षको मत १८ हजार ६९ भने गठबन्धनको १८ हजार ५६५ मत रहेको छ । झिनो मतान्तरले गठबन्धन अगाडि देखिन्छ । २०७४ को निर्वाचनमा एमालेका तुलसीप्रसाद न्यौपाने र कांग्रेसबाट दिपक लिम्बूबीच मुख्य प्रतिस्पर्धा भएको थियो ।

माओवादीको साथ पाएका न्यौपानेले १७ हजार ५१४ मत ल्याएर विजयी भएका थिए । कांग्रेसका लिम्बूले १६ हजार १४० मत ल्याएका थिए । यस निर्वाचन क्षेत्रमा २०५६ र २०७० सालको चुनावबाहेक अन्य चुनाव एमालेले जितेको थियो । २०७० को निर्वाचनमा कांग्रेसका दिपक खड्काले ११ हजार ५५२ मत ल्याएर निर्वाचित भएका थिए । तर एमालेका गौतमले १० हजार ९ सय ७३ मात्र ल्याएर पराजित हुन पुगेका थिए । माओवादीका राजेन्द्र किराँतीले ४ हजार २९३ मत ल्याएका थिए ।