विराटनगर । मोरङ निर्वाचन क्षेत्र नम्बर ४(२) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका तर्फबाट भीम पराजुली र एमालेका जीवन घमिरे चुनावी प्रतिस्पर्धामा छन् । चुनावी प्रचारको अन्तिम चरणमा क्षेत्रगत रुपमा गरिएको मत आंकलन आधारमा गठबन्धनको उपस्थिति निकै बलियो देखिएको विश्लेषण गरिएको छ ।

यसअघि नेकपा नेतृत्वमा गठन भएको सरकारमा घिमिरे सामाजिक विकास मन्त्री थिए । पराजुलीसँग एक कार्यकाल विराटनगर महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव छ ।

पराजुली विद्यार्थी आन्दोलनबाट उठेका नेता हुन् । महेन्द्र मोरङ क्याम्पसमा स्ववियु सभापति निर्वाचित भई कांग्रेसको सक्रिय राजनीतिमा उदाएका पराजुली युवापंक्तिमा संभावना बोकेका नेता हुन । कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टी राजनीतिमा समेत उनले दर्विलो उपस्थिति जनाएका छन् ।

एमालेका घिमिरेसँगको प्रतिस्पर्धामा गठबन्धनको तर्फबाट उमेदवार बनेका पराजुलीलाई संभावित मुख्यमन्त्रीको रुपमा समेत हेरिएको छ । घिमिरे पनि त्यही दौडमा छन् । मोरङ ४ (२) कांग्रेसको जनमतका हिसाबले आधार क्षेत्र मानिन्छ । दह्रो संगठन भएको काँग्रेस स्थानीय तहको वडामा पराजित भएपनि पालिकाका प्रमुखमा विजयी भएको थियो ।

कांग्रेसका एक नेताले भने,“कांग्रेसको आफ्नै दह्रो अवस्था र पाँच दलीय गठबन्धनको मत नै हाम्रो जित्ने आधार हो ।” उनले लोकतन्त्र र संविधान रक्षाको लागि गठबन्धन जसरी पनि विजयी हुनुपर्ने जनमत रहेको सुनाए । चुनावी अभियानका शुरुका दिनमा प्रचार गरिएजस्तो कांग्रेसभित्र आन्तरिक समस्या नभएको भन्दै उनले लोकतन्त्र रक्षाको लागि पार्टीपंक्ति एक ढिक्का रहेको सुनाए ।

गठबन्धनमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, लोसपा र जनमोर्चा छन् । महानगरको प्रमुख हुँदा पराजुलीको नेतृत्वमा विराटनगरमा भएका विकासको काम र सुरु गरिएका धेरै परियोजनाले विराटनगरको मुहार फेरिएको नगरवासीले बताउने गरेका छन् । महानगरको उत्तरी क्षेत्रमा मात्र विकास तथा एशिलायी विकास बैंकको स्कोपभित्र काम गराएको भन्ने आरोपबारे पराजुली महानगर पछिल्लो पाँच वर्षको अवधिमा विकासका दृष्टिले निकै अगाडि बढेको दावी गर्छन् ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडागत रुपमा एमालेले प्राप्त गरेको मतलाई आधार मान्दा घिमिरे झिनो मतले मात्र अगाडि छन् । तर, स्थानीय तह निर्वाचनमा उमेदवारको व्यक्तित्वलगायत कारणले प्रभावित गर्ने भएकोले यो निर्वाचन त्यस्तो नहुने दावी विश्लेषकहरुको छ ।

घिमिरेले चुनावी सभाहरुमा समेत एमालेले यसअघिको निर्वाचनमा प्राप्त गरेको निर्वाचनलाई हेर्न सकिने बताउँदै आएका छन् । उनी भन्छन्, ‘मैले प्रदेश सरकारमा रहँदा गरेको कामले समेत मेरो पक्षमा जनमत रहने छ ।’

नेकपा एमालेमा केपी ओली विरोधी मानिएका घिमिरले प्रदेश सरकार गिराउन खेलेको भूमिका र कतिपय सन्देहपूर्ण कामका कारण एमालेकै सबैको मत नपाउने आशंका पनि छ । ‘उहाँसमेतको द्वैध चरित्रका कारण प्रदेशमा एमालेको सरकार ढल्ने अवस्था आयो’ एक एमाले नेताले भने, ‘त्यसैले विश्वास गर्न सक्ने अवस्था देखिदैन् । उहाँले प्रचार गराएजस्तो क्षेत्रको विकासमा काम पनि भएको छैन् ।’

कोभिडकालमा अनियमित तरिकाले भएको स्वास्थ्य सामग्री खरिद र अस्पताल निर्माणमा अनियमितता भएको विषय प्रदेशसभामा पनि उठ्ने गरेको थियो । आफ्नो घर भाडामा दिएर सरकारी आवासमा बसेर अनैतिक काम गरेको आरोप पनि उनीमाथि लाग्दै आएको छ ।

विराटनगर वडा नम्बर १ का काँग्रेस बुथ सभापति छवि पराजुली गठबन्धनको मत नै आफूहरुको जित्ने आधार भएको बताउँछन् । उनले भने, ‘मतको हिसाबले कांग्रेसका उमेदवार प्रदेश ४(२) मा सहज विजयी हुनेछन्, प्रतिनिधिसभा पनि गठबन्धनले जित्ने निश्चित छ ।’

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन होस् या पार्टीको आन्तरिक निर्वाचन हुँदै महानगरको निर्वाचनमा पनि पराजुली अहिलेसम्म अपराजित छन् । आफ्नो विगतले जीत निश्चित रहेको उनको दावी छ ।