विराटनगर । संघीयता कार्यान्वयनपछि गठन भएको प्रदेश नं. १ को पहिलो प्रदेशसभामा ३२ महिला सांसद निर्वाचित भएका थिए । उनीहरुमध्ये चार जना मंसिर ४ गते हुने निर्वाचनको लागि पनि प्रदेशसभामा उम्मेदवार बनेका छन् ।

२०७४ मा भएको प्रदेशसभा निर्वाचनमा उदयपुरबाट कला घले र इलामबाट खिनु लङ्वा लिम्बू प्रत्यक्ष निर्वाचित भएका थिए भने ३० जना समानुपातिकबाट सांसद भएका थिए ।

प्रदेशसभामा निर्वाचित भएका ३२ सांसदमध्ये सुनसरीकी सरस्वती पोखरेल उपसभामुख निर्वाचित भइन् भने खोटाङकी उषाकला राई र इलामकी खिनु लङ्वा लिम्बू मन्त्री बने । यस्तै उदयपुरकी कला घले र झापाकी जसमायाँ गजमेर राज्यमन्त्री बनिन् ।

मंसिर ४ गते हुने निर्वाचनमा भने ३२ निवर्तमान सांसदमध्ये चार जना मात्र चुनाबी मैदानमा छन् । अघिल्लो निर्वाचनमा इलाम १(१) बाट प्रत्यक्ष निर्वाचित खिनु लङ्वा लिम्बू दोस्रो कार्यकालको लागि चुनाबी मैदानमा छन् । यस्तै अघिल्लो पटक समानुपातिक सांसद रहेका सुनसरीकी सरस्वती पोखरेल, धनकुटाकी कुशुमकुमारी श्रेष्ठ र संखुवासभाकी सरिता खड्का पनि प्रत्यक्ष चुनाब लड्दैछन् ।

गत स्थानीय तहमा दलहरुले वडा तहमा पाएको मतको आधारमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका चारै जना निवर्तमान सांसदहरु जीतको नजिक देखिन्छन् । तर, गठबन्धनको मत आदनप्रदान कति हुन्छ भन्ने आधारमा उनीहरुको जितहारको टुंगो लाग्ने अवस्था छ ।

इलाम (१)१ बाट निर्वाचित भएर प्रदेशसरकारको पर्यटनमन्त्री रहेकी खिनु लङ्वा लिम्बूसँग नेकपा एमालेले शोभा पराजुलीलाई उम्मेदवार बनाएको छ । इलाम नगरपालिकाको वडा नं. १०, सन्दकपुर गाउँपालिका, माई जोगमाई गाउँपालिका तथा सुर्योदय नगरपालिकाको १,२,३,९,१० र ११ नम्बर वडा समेटिएको क्षेत्रमा स्थानीय तहमा वडाध्यक्षले पाएको मत हेर्दा सत्तागठबन्धन १९१२५ मतसहित एमालेभन्दा ३६०० मतले अगाडि छ ।

क्षेत्रमा एमालेको १५५२५, काँग्रेसको १२८६९, माओवादी केन्द्रको १००८ र एकीकृत समाजवादीको ५२४८ मत छ । मन्त्री भएर क्षेत्रको विकासमा पनि प्रभाबकारी भूमिका खेलेको कारण लिम्बू सो क्षेत्रमा बलियो छन् । स्थानीय तहको निर्वाचनमा सोही क्षेत्रमा पर्ने सुर्योदय नगरपालिकाको मेयर उनकै दल नेकपा एकीकृत समाजवादीले जितेको थियो ।

पहिलो प्रदेशसभामा समानुपातिक सांसद हुँदै उपसभामुखको भूमिका सफल रुपमा निर्वाह गरेकी सरस्वती पोखरेल सुनसरी ३ (१) बाट उम्मेदवार बनेकी छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवार भएकी उनका प्रतिस्पर्धी नेकपा एमालेका रोहित कार्की छन् ।

इटहरी उपमहादुरपालिकाको ६,७,८,९,१०,११,१२,१३,१४ र १५, गढी गाउँपालिकाको १, दुहबी नगरपालिकाको २,३,४,८ र ९ तथा इनरुवा नगरपालिकाको ७ नम्बर वडा समेटिएको सो क्षेत्रमा सत्तारुढ गठबन्धन एमालेभन्दा २५०५ मतले अगाडि छ । गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा क्षेत्रमा गठबन्धनको मत १९९७१ रहेको छ भने एमालेको मत १७४४६ रहेको छ ।

झण्डै तीन दशकदेखि राजनीतिमा सक्रिय पोखरेल बौद्धिक नेतृत्वको रुपमा परिचित छन् । एमालेभित्रबाट पनि आफूले धेरै मत प्राप्त गर्ने, महिला भएकोले पनि मत थपिने र गठबन्धनको साथले सहजै चुनाब जित्ने उनी बताउँछिन् । उनको भद्र र शालिन स्वभाव तथा पहिलो प्रदेशसभामा निर्वाह गरेको प्रभाबकारी भूमिकाको कारण पनि उनलाई चुनाब जित्नसक्ने बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

प्रदेशसभाको पहिलो कार्यकालमा सक्रिय रहेका सीमित महिला सांसदहरुमध्ये धनकुटाकी कुसुमकुमारी श्रेष्ठ पनि एक हुन् । जनसरोकारका मुद्दामा होस् या कानून निर्माणमा उनको सक्रिय र प्रखर सहभागिता हुन्थ्यो । खेलकुदबाट राजनीतिमा उदाएकी उनी धनकुटाको प्रदेशसभा २ बाट प्रत्यक्ष उम्मेदवार बनेकी छन् ।

सत्ता गठबनन्धनको साथमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी उनका प्रतिस्पर्धी एमालेका इन्द्रमणि पराजुली छन् । उनी पनि निवर्तमान सांसद हुन् । अघिल्लो निर्वाचनमा उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रदेशसभामा निर्वाचित भएर न्याय प्रशासन तथा विधायन समितिको सभापति रहेका उनले कानून निर्माण प्रक्रियामा भने आफैं अड्चन खडा गर्ने गर्दथे । उनकै कारण प्रदेशसभामा छलफलको लागि पठाएको प्रदेश सञ्चार माध्यम व्यवस्थापन सम्बन्धि बिधेयक अलपत्र बनेर अगाडि बढेको थिएन । प्रदेश सरकार केहि ऐन संशोधन सम्बन्धि बिधेयक अगाडि बढाउँदा पनि उनले समितिको बैठक नै राखेर असहयोग गरेका थिए ।

धनकुटाको पाख्रिवास नगरपालिका, महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका, धनकुटा नगरपालिकाको वडा नं. २ र सहिदभूमि गाउँपालिकाको वडा नं. ४ र ५ समेटिएको छ । स्थानीय तहको निर्वाचनमा वडा तहमा दलहरुले प्राप्त गरेको मतका आधारमा सत्ता गठबन्धन ४३६५ मतले अगाडि छ । एमालेको १३०२० मत रहेको छ भने काँग्रेसको १३३४२, माओवादी केन्द्रको ३११३ र एकीकृत समाजवादीको ९३० मत रहेको छ ।

प्रदेशसभामा नेपाली कांग्रेसले एक जना पनि महिला प्रत्यक्षमा उठाएको छैन । नेकपा एमालेले इलामको १(१) शोभा पराजुली र मोरङ ६(१) मा रीता न्यौपानेलाई उम्मेदवार बनाएको छ । उनीहरु दुबै जना रेड जोनमा देखिएका छधन् ।

गत चुनावमा नेकपा एमालेबाट समानुपातिक सांसद भएर सामाजिक विकास समितिको सभापति भएकी सरिता खड्का गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीबाट संखुवासभाको प्रदेशसभा २ मा प्रत्यक्ष उम्मेदवार बनेकी छन् । खड्का प्रदेशसभामा सक्रिय र बौद्धिक सांसदको रुपमा स्थापित भएकी थिइन् । उनीसँग एमालेका विदुर लिम्बू चुनाबी प्रतिष्पर्धामा छन् ।

चैनपुर नगरपालिका, धर्मदेवि नगरपालिका, मादी नगरपालिका र पाँचखपन गाउँपालिका समेटिएको सो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा एमालेको भन्दा गठबन्धनले ९७२ बढि मत पाएको छ । एमालेको १४२५० मत रहेकोमा सो क्षेत्रमा गठबन्धनको मत १५२२२ रहेको छ ।

प्रदेशसभामा एमालेले मोरङ क्षेत्र नं. ६(१) मा पनि महिला उम्मेदवार रीता न्यौपानेलाई उम्मेदवार बनाएको छ । नेपाली काँग्रेसले भने प्रत्यक्षतर्फ कोहि पनि महिलालाई उम्मेदवार बनाएको छैन ।