पुण्य पी अधिकारी
निर्वाचनको आत्मा मतदाताले निष्पक्ष, भयरहीत र प्रभाव वा दबाबमा नपरी तटस्थ ढङ्गमा मतदान दिनु हो । निर्वाचनलाई भयरहीत स्वतन्त्र र निष्पक्ष बनाउन राज्यले सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाएको छ । निर्वाचन अवधिभर हुन नसक्ने अप्रत्यासित घटनाहरूलाई निर्मूल पार्नका लागि सुरक्षा संयन्त्र कटिबद्ध एवम् प्रतिबद्ध छ । केही साताअघि गृह मन्त्रालयले विराटनगरमा निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रममा चुनाव विरोधी गतिविधिमा २३ ओटा समूहको संलग्नता हुने आंशक व्यक्त गरिएको छ । कात्तिक ३० गते भोजपुरको एउटा चुनावी कार्यक्रम नजिक बम विष्फोट भएको घटनाले केही अर्थमा सुरक्षा संयन्त्रको आंकलनलाई प्रमाणित गरेको छ । यसको अर्थ यो मानेमा होइन कि राज्यको विश्लेषण सही थियो ।
तीन दिनपछि हुने निर्वाचनले आगामी पाँच वर्ष सरकारको नेतृत्व कसले गर्छ भन्ने कुराको निक्र्यौल गर्नेछ । यसका लागि मतदातालाई रिझाउन देशभर राजनीतिक दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी अभियानमा होमिएका छन् । आज मध्यराति देखि ४८ घण्टे अवधि सुरू हुने भएकाले सो समयमा कुनै पनि प्रकारबाट मत माग्न पाइने छैन । निर्वाचन आयोगले यसअघि निर्वाचन हुनुको मिति भन्दा दुई अघिको समयलाई मौन अवधि भन्ने गरेकोमा मौन अवधि भन्ने तर गतिविधि र चलखेल उत्पात हुने दृष्टान्तलाई मध्यनजर गरी ४८ घण्टे अवधि वा स्थिर समय भनेको छ ।
अझै पनि हामी उम्मेदवारले चुनावमा हार व्यहोरेपछि एउटै कुराको निचोड निकाल्छौँ , त्यो हो ४८ घण्टे अवधिमा भोट किनबेच भयो । निर्वाचन अघि राजनीतिक दलले जतिसुकै राम्रा र चिल्ला कुराले भरिएका घोषणापत्र सार्वजनिक गरेपनि चुनावको जित वा हार ४८ घण्टे अवधिले निर्धारण गर्नेमा मतदाता,उम्मेदवार र राजनीतिक दल विश्वस्त छन् । यो समयमा सबै भन्दा बढी र जिम्मेवार राज्यका चौथो अङ्ग हुनुपर्नेछ ।
हरेक नागरिक कुनै न कुनै हिसाबले कुनै एउटा सिद्धान्त वा विचारलाई आत्मसाथ गरेर राजनीतिक अधिकार उपयोग गर्न चाहन्छ । यो उसको नैसर्गिक अधिकार हो । तर, नागरिकको नैसर्गिक अधिकार कुनै पक्ष वा कोणबाट प्रभावित भएको छ वा छैन भन्ने बुझाउन राज्यको चौथो अङ्गको महत्वपूर्ण भूमिका हुन्छ रहन्छ ।
कात्तिक १७ गते देखियता जुनकुनै सञ्चारगृह, सञ्चार प्रतिष्ठान, पत्रपत्रिका वा पत्रकारले सही कुरा लेख्यो वा लेखेन भन्नेमा आम मतदाता दोधारमा छन् । पार्टी निकटका सञ्चार माध्यम वा पत्रकारले भोजपुर घटनामा निश्पक्ष भएर कमल चलाउने भन्दा कुनै एउटा पार्टीको निर्देशनमा वा योजनामा घटना भएको हो भन्ने समाचार दिन्छन्, दिएका वा दिनसक्ने छन् । यसले आम मतदाताको भयरहीत, निश्पक्ष र तटस्थ ढङ्गमा मतदान दिने अधिकारलाई प्रभावित निश्चित रूपमा पार्नेछ । कुनै एउटा राजनीतिक दल वा पार्टीप्रति आस्था राख्ने पत्रकारले तटस्थ भएर समाचार लेख्न नसक्दा उपद्रव मच्चाउने दल वा दलका उम्मेदवारलाई किन मतदान दिनु भन्ने प्रश्न मतदाताको दिमाग खेल्न सक्छ । जसले सिङ्गो निर्वाचन प्रणालीलाई नै प्रभाव पार्ने क्षमता राख्दछ ।
राज्यको चौथो अङ्ग र यसमा क्रियाशील सचेत नागरिकले पत्रकारिताका माध्यमबाट राज्यलाई सङ्कटका बेला मार्ग दर्शन गर्नु पत्रकारिताको मुल मर्म हो । तर वास्तविता त्यो धरातल भन्दा धेरै टाढा छ । आम नागरिकको जनमत लिएर नागरिकका वर्षौदेखिका सपना र चाहनालाई सम्बोधन गर्न नसक्नेहरूका सफलताका गाथा यतिवेला सञ्चार माध्यम र पत्रकारहरूले प्रशस्त लेखेको जगजाहेर छ । यसले निर्वाचनको प्राण वा आत्मलाई समेत धूमिल पार्नेछ । आम मतदाताको जनमतको कदरका लागि राज्यको चौथो अङ्गले तटस्थ भएर कार्य गर्न जरूरी छ । जुन आजको आवश्यकता पनि हो । चुनावका समयमा बनाएका कुरा भन्दा भएका कुरा लेख्नु, देखाउनु र नागरिकलाई बुझाउनु साँचो अर्थमा लोकतन्त्रको संस्थागत विकासका लागि चौथो अङ्गको भूमिका हो ।