मोरङ ४:

शीर्ष नेताको साथले गठबन्धनको पक्षमा माहौल

विराटनगर । मंसिर ४ गते हुने आमनिर्वाचनमा मोरङ क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका उम्मेदवारहरुले दरिलो राजनीतिक अभिभावक प्राप्त गरेपछि चुनावी माहौल आफ्नो पक्षमा लगेका छन् । काँग्रेसका प्रभावशाली नेताद्वय तथा पूर्वमन्त्रीहरु महेश आचार्य र डा. मिनेन्द्र रिजालले गठबन्धनका उम्मेदवारहरुलाई दरिलो साथ दिएर अभिभावकत्व निर्वाह गरेपछि समग्र निर्वाचन क्षेत्रको माहौल गठबन्धनको पक्षमा तयार भएको छ ।

सुरुवाति दिनमा प्रतिनिधि सभाको उम्मेदवार बन्ने चाहना राखेका दुवै नेताहरुले उम्मेदवारी नपाएपछि चुनावमा असर पर्नसक्ने आशंका गरिएको थियो । तर, व्यवहारमा नेताहरु गठबन्धन वर्तमानको आवश्यकता भएको भन्दै साझा उम्मेदवारहरुलाई जिताउन सक्रियतापूर्वक लागे । जसले चुनावी माहौललाई गठबन्धनको पक्षमा पार्न सफल देखिएको छ ।
प्रदेश सभा र प्रतिनिधि सभाको उम्मेदवारी दर्ता भएपछिका केही दिन गठबन्धन दलहरुभित्र असन्तुष्टिहरु देखिएको थियो । पूर्वमन्त्री आचार्यले टिकट पाउनु पर्छ भन्दै प्रयत्न गरेका र विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीसँग असन्तुष्ट रहेका काँग्रेस कार्यकर्ताहरु केही समय गठबन्धनका उम्मेदवारहरुको विपक्षमा उभिएका थिए भने केही निष्कृय बसेका थिए । प्रदेश १ का पूर्वराज्यमन्त्री विजय विश्वासले प्रदेश सभामा उम्मेदवारी नपाएपछि उनी पक्षधर माओवादी कार्यकर्ताहरु पनि केही असन्तुष्ट बनेका थिए । जसले गर्दा केही समय गठबन्धन दलहरुलाई चुनावी माहौल सिर्जना गर्न गाह्रो परेको नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता भीम खड्काले बताए ।

एकसाता यता भने गठबन्धनमा रहेका दलहरु आन्तरिक असमझदारी धेरैहदसम्म समाधान गरी सबैलाई चुनावमा परिचालन गर्न सफल भएका छन् । विशेष गरी नेपाली काँग्रेसका नेताद्वय आचार्य र रिजालले असन्तुष्ट कार्यकर्ताहरुसँग छलफल परामर्श गरी चुनावी सभाहरुलाई सम्बोधन गर्दै घरदैलोसमेत गर्न थालेपछि कार्यकर्ताहरु गठबन्धनको पक्षमा आएका हुन् । त्यस बाहेक उम्मेदवारहरुले पनि असन्तुष्ट नेता कार्यकर्ताहरुको सुझाव सम्बोधन गर्दै अघि बढेपछि मोरङ क्षेत्रनम्बर ४ मा अब कुनै असतुष्टि बाँकी नरहेको नेपाली काँग्रेस प्रदेश सभा ४(२)तर्फका उम्मेदवार भीम पराजुली बताए । ‘हाम्रो क्षेत्रमा अब ठूलो असन्तुष्टि र अन्तरविरोध छैन, सुरुमा रिसाएका केही साथीहरु पनि चुनाव जिताउन मैदानमा खटिइसक्नु भएको छ, त्यसैले गठबन्धनले चुनाव जित्नेमा अब कुनै संका छैन ।’

गठबन्धनबीचमा पनि अन्त्रभन्दा मोरङ क्षेत्र नम्बर ४ मा अभूतपूर्व एकता देखिएको छ । गठबन्धनबाट ४(२)का उम्मेदवार भीम पराजुलीले गठबन्धनबाट प्रतिनिधि सभाका उम्मेदवार अमनलाल मोदीलाई मत नदिए आफूले चाहेजस्तो काम गर्न नसक्ने भएकोले दुवैलाई मत दिन आग्रह गर्दै हिडेका छन् । ‘मैले मात्र जितेर केही काम गर्न सकिदैन, हिजो संघीय र प्रदेश सरकार फरक दलको हुँदा महानगरमा चाहेजस्तो काम गर्न कठिन भएको थियो, त्यसैले मोदीलाई मत दिनुहुन्न भने मलाई मात्र नदिनुहोला,’ पराजुलीले सार्वजनिक भाषणमै भन्ने गरेका छन् ।

नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले पनि काँग्रेससँगको गठबन्धन प्रतिगमन रोक्नका लागि र एमाले अध्यक्ष केपी ओलीको तानाशाही प्रवृत्तिविरुद्ध लड्नका लागि भएको भन्दै माओवादी कार्यकर्ताहरुले निर्धक्क भएर गठबन्धनमा काँग्रेसका उम्मेदवारहरुलाई भोट हाल्न आग्रह गरिरहेका छन् । ‘मेरो दुई वटा काँधमा एकातिर काँग्रेस नेता गुरुराज घिमिरे र अर्कोतिर काँग्रेसकै भीम पराजुलीलाई विजयको सिन्दूर पहि¥याउने जिम्मेवारी लिएको छु, त्यो जिम्मेवारी म पुरा गर्छु,’ नेता मोदीले भने ‘गठबन्धनमा आवद्ध दलका कार्यकर्ताहरुमा अहिले जुन मजबुद एकता, विश्वास र सहकार्य सुरु भएको छ अब हाम्रो जितलाई कसैले रोक्न सक्दैन ।’

असन्तुष्टि समाधान

नेपाली काँग्रेसको मुख्य नेतृत्वकै पहलमा मोरङ क्षेत्र नम्बर ४ मा देखिएको असन्तुष्टि समाधान गरिएको छ । मंसिर ४ को चुनाव कौरव र पाण्डवहरुबीचको लडाइँको रुपमा अथ्र्याउँदै पूर्वमन्त्री महेश आचार्यले गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको बताउँने गरेका छन् । गठबन्धनमा आवद्ध पाँच दललाई महाभारतको पाँच पाण्डवसँग तुलना गर्दै नेता आचार्यले भन्ने गरेका छन् ‘यक्ष प्रश्नको जवाफ दिएर भीष्मले बेहोस भएका आफ्ना भाइहरुको जीवनको सुरक्षा जसरी गरे अहिले गठबन्धनमा भएका दलका कार्यकर्ताहरुले त्यसरी नै आफूलाई सत्यवादी प्रमाणित गर्नुपर्छ ।’ पार्टी र संगठनको एउटा धर्म हुने भएकोले धर्म विपरित जान नहुने भन्दै पार्टीको निर्णय शिरोपर गर्नु आम कार्यकर्ता र समर्थकहरुको रहेको भन्दै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गर्ने गरेका छन् । शीर्ष नेताहरु नै गठबन्धनका उम्मेदवारलाई जिताउन दिनरात मिहिनेत गर्न थालेपछि असन्तुष्टि छोडेर कार्यकर्ताहरु काममा खटिएको काँग्रेस कार्यकर्ताहरुले बताउँछन् । ‘असन्तुष्टि पार्टी कमिटी र बैठकमा राखेर समाधान खोज्नु पर्छ, अहिले चुनावमा छौं र नेताहरु स्वयं गठबन्धनका उम्मेदवारलाई जिताउन मिहिनेत गरिरहनुभएको बेलामा परिणाममै असर पर्ने गरी कुनैपनि क्रियाकलाप गर्नु हुँदैन भनेर हामी चुनावमा खटिएका छौं,’ असन्तुष्ट समूहमा रहेका एक कार्यकर्ताले भने ।

यसैगरी नेकपा माओवादी केन्द्र तर्फ देखिएको असन्तुष्टि पनि सम्बोधन भइसकेको बताइएको छ । माओवादी केन्द्रका नेता विजय विश्वासले भने ‘हाम्रोमा कुनै समस्या छैन, प्रदेशमा उम्मेदवारी पाए हुन्थ्यो भन्ने साथीहरुलाई चुनावमा खटाउन केही समय लागेको मात्र हो, गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अहिले हामी सबै पूर्णरुपमा लागिसकेका छौं ।’

म्मेदवारहरु घरघरमा

मोरङ क्षेत्र नम्बर ४ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार गुरुराज घिमिरेले चुनावी प्रचार र घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । पहिलो पटक संसदीय निर्वाचनको प्रतिस्पर्धामा उत्रिएका नेता घिमिरे काँग्रेसका लोकप्रिय युवा नेताहन् । अध्ययनशील र प्रखर वक्ताका रुपमा पनि चिनिएका उनी यतिबेला मतदाताको आशिर्वाद थाप्दै घरदैलोमा पुगिरहेका छन् । ‘मेरो उद्देश्य आफ्ना क्षेत्रका जनताकोे समस्या समाधान गर्ने नै हो,’ उनले थपे, ‘म जनप्रतिनिधि नहुँदा पनि जनताकै बीचमा थिएँ र भोलि पनि रहिरहनेछु ।’ चुनावी अभियानमा सक्रिय कांग्रेस युवा नेता डिल्लीराम गिरी घिमिरेको पक्षमा माहोल अन्त्यतै उत्साहजनक रहेको बताउँछन् ।

प्रदेश सभा ४(२) का उम्मेदवार भीम पराजुलीले पनि आफ्नो पार्टी, गठबन्धनमा रहेका दलका कार्यकर्ता र समुदायका विभिन्न पक्षहरुलाई सूक्ष्म ढंगले परिचालन गरेर चुनावी माहौललाई आफूतिर एकोहो¥याएका छन् । उनी एकसरो चुनाव प्रचार सकेर सामाजिक भूमिकामा रहने विभिन्न पक्षहरुको समर्थनका लागि थप मिहिनेतमा जुटेका छन् ।

प्रतिनिधि सभाका उम्मेदवार अमनलाल मोदीले पनि घरदैलो, संयुक्त प्रचार अभियान र सामाजिक क्षेत्रको परिचालनमा आफूलाई सक्रिय बनाएका छन् । सरल स्वभाव, सहज पहुँच, समस्या पर्दा सहजरुपमा उपस्थित भएर पहल गर्ने, जनताको समस्या संसद र सरकार विभिन्न निकायमा जबरजस्तरुपमा उठाउने नेताको छवी बनाएका कारण उनीसँग मतदाताहरु सन्तुष्ट देखिएका छन् ।

मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार अमनलाल मोदी र नेकपा एमालेका उम्मेदवार विनोद ढकालबीच प्रतिस्पर्धा हुँदैछ । प्रदेश सभा तर्फ ४(१)मा गठबन्धनका गुरुराज घिमिरे र एमाले उम्मेदवार जयप्रकाश चौधरीबीच प्रतिस्पर्धा छ भने ४(२)मा गठबन्धनका उम्मेदवार महानगरका पूर्व मेयर भीम पराजुली र एमालेका तर्फबाट प्रदेश सरकारका पूर्व मन्त्री जीवन घिमिरेबीच प्रतिस्पर्धा छ ।

बिहिबार, ०१ मंसिर, २०७९, बिहानको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर