संयुक्त राज्य अमेरिकाको नभेडा राज्यमा भर्खरै सिनेटको निर्वाचन सम्पन्न भएको छ । एक महिना पछि जर्जिया राज्यमा चुनाव हुँदैछ । अमेरिका आउँदो केही महिना चुनावी माहौलमा रमाउँदै छ । तर, त्यहाँको चुनावले राज्य र जनताको दैनिकीमा कुनै असर पारेको छैन । सबै कामहरु आफ्नै गतिका साथ सञ्चालन भइरहेका छन् । चुनावी आचारसंहिता उल्लंघन गरेका त्यस्ता घटनाहरु पनि सुनिएका छैनन् । चुनावलाई साम, दाम, दण्ड र भेदको रुपमा ब्याख्या गर्दै अनेक हर्कत गर्ने काम पनि त्यहाँ भएको छैन । एकले अर्कोलाई खुइल्याउने, सत्तोसराप गर्ने, तामझाम र नाटक नौटङ्की गर्ने काम पनि भएको छैन ।

चुनावमा भीड बटुलेर घरदैलो गर्ने, चोकचोकमा आमसभा गर्ने, मानिस बटुलेर शक्ति प्रदर्शन गर्ने आदि काम पनि नदेखिएको अमेरिकामा रहेका नेपाली नागरिकहरुले सामाजिक सञ्जालहरुबाट सार्वजनिक गरिरहेका छन् । ‘अमेरिकामा एक महिनादेखि चुनाव हुँदै रहेछ तर हामीले त थाहा नै पाएनौं’, भन्दै अमेरिकामा रहेका विराटनगरका जनार्दन निरौलाले फेसबुकमा एउटा तस्बिर सार्वजनिक गरेका थिए । त्यो तस्बिरमा एक जना उम्मेदवार सडकको किनारमा एक्लै उभिएका थिए र प्लेकार्डमा हस्तलिखित आफ्ना प्रतिबद्धताहरु प्रदर्शन गरिरहेका थिए ।

अर्को गज्जप पक्ष के छ भने त्यसरी प्रचार नै नगरिएको अमेरिको नभेडा राज्यमा अहिलेसम्मकै धेरै मतदान भएको थियो । मतदानका लागि चोकहरुमा मतपत्र र मतपेटिकाहरु राखिएका थिए भने इन्टरनेटबाट मतदान गर्ने व्यवस्था गरिएको थियो । चुनावमा सहभागी दलहरु रिपब्लिकन र डेमेक्रेटिकले विद्युतीय माध्यमबाटै दलका एजेण्डाहरु जनसमक्ष प्रस्तुत गरेका थिए ।

नेपालमा पनि यतिबेला चुनाव भइरहेको छ । अमेरिकाको चुनाव र नेपालको संसदीय चुनावको तुलना गर्नु वाञ्छनीय हुँदैन । तर, उच्च प्रविधि र प्रणालीको विकासले अमेरिका लगायत युरोपेली मुलुकहरुको निर्वाचन अहिले त्यो स्तरमा विकसित भएको हो । त्यस अर्थमा हामी निकै पछाडि छौं । हाम्रा नागरिकहरु अहिले विश्वका एक सय भन्दा बढी मुलुकमा पुगेका छन् । अध्ययन, रोजगारी र भ्रमण आदि कारणले पुगेका भएपनि उनीहरुले ती देशहरुको बारेमा धेरै कुरा जान्ने मौका पाएका छन् । बुझ्ने अवसर पाएका छन् । त्यस कारण उनीहरु हाम्रो मुलुक पनि सोही मार्गमा अघि बढ्नु पर्छ भन्ने अपेक्षा राखेर धारणाहरु व्यक्त गरिरहेका छन् । तर, हाम्रो मुलुक परम्परागत प्रणालीबाट अघि बढ्ने प्रयासमा देखिदैन । यद्यपि २०७४ सालको निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा केही सुधारका संकेत भने पक्कै पनि आएको देखिन्छ । यस पटक दलहरुले विगतको झैं ठूल्ठूला आमसभाहरु आयोजना गरेनन् ।

अधिकांश आमसभा निर्वाचन क्षेत्रमै सीमित राख्ने प्रयत्न गरे । आमसभामा पनि धेरै मानिसहरुको उपस्थिति देखिएन । मानिसहरु हात हातमा भएको मोवाइलबाटै दल र नेताहरुको धारणा बुझ्ने र जनताको प्रतिक्रिया सुन्ने अभ्यासमा रमाएको पाइयो । चुनावमा हुने तामझामका घटनाहरु पनि यस पटक निकै कमी आयो । प्रहरी स्रोतकाअनुसार यस पटक उम्मेदवारहरुले गर्ने खर्चमा पनि कमी आएको छ ।यो घटनाले अब नेपालमा पनि चुनावी प्रक्रियामा परिवर्तन खोजेको अनुभूति गराएको छ ।

निर्वाचन आयोगको सानो प्रयत्नले प्रवृत्तिमा निकै सुधार ल्याएको छ । त्यसैले अब सरकारले आउँदो ५ वर्ष पछिको निर्वाचनलाई पूर्णरुपमा विद्युत्तीय प्रविधिमा लैजाने प्रयत्न गर्नुपर्छ । त्यसको प्रचारशैलीलाई पनि प्रविधिमैत्री बनाउने गरी कानुनी व्यवस्था गर्नुपर्छ । जसले निर्वाचनलाई सहज, व्यवस्थित र सरल बनाउन सहयोग पुग्ने छ । मतदाताको मत प्रभावित पार्ने प्रयत्नहरुलाई घटाउन चुनाव प्रचारको शैली र समयलाई निकै सीमित बनाउनु उपयुक्त हुन्छ भन्ने यस पटकको अभ्यासले पुष्टि गरेको छ । त्यसैले निर्वाचनशैलीमा आमुल परिवर्तन ल्याउन सबैले पहल गर्नुपर्छ ।