विराटनगर । राणाविरोधी आन्दोलनबाट चर्चामा आएको विराटनगर र मोरङमा यसपटकको निर्वाचनको सम्भावित परिणामबारे विभिन्न अड्कलबाजी भइरहेको छ । सत्तारुढ गठबन्धन र प्रतिपक्षी गठबन्धनबीच भएको चुनाबी परिणामबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

मोरङका ६ वटा संघीय निर्वाचन क्षेत्र र १२ वटा प्रदेश निर्वाचन क्षेत्रमा अंकगणितीय हिसावले सत्ता गठबन्धन दलका उम्मेद्वारलाई सहज देखिन्छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा हेर्दा र उम्मेद्वारको अवस्थाले गठबन्धन नै परिणाममा हावी हुने देखिन्छ ।
स्थानीय तह निर्वाचनमा कतिपय ठाउँमा गठबन्धन भएपनि मत एक पार्टीले अर्को पार्टीलाई नहालेको, गठबन्धन हुन नदिएको जस्ता आरोप यसअघि लागेको थियो । स्थानीय तहको जस्तै मत आदनप्रदानमा समस्या भए एमाले हावी नहोला भन्न पनि सकिन्न ।

यद्यपि सम्मावित मत परिणाम र हालसम्मको चुनावी अभियानमा देखिएको चर्चा परिचर्चाले मतमा खासै धेरै अदलबदल हुने देखिन्न । स्थानीय तहमा उम्मेदवार नभएका पार्टीको पनि चुनाबचिन्ह भएकोले मद बदर अत्यधीक थियो । अगामी निर्वाचनमा उम्मेदवारहरुको मात्र चुनाबचिन्ह हुने भएकोले गठबन्धनलाई त्यसको लाभ हुनेछ ।
एउटाले अर्कोलाई आलोचना जति गरेपनि यो निर्वाचनको संघारमा नयाँ त्यस्तो कुनै शक्ति पनि चुनावी परिणामलाई उथलपुथल पार्ने अवस्थामा देखिएको ैछ । अंकगणित केलाउँदा मोरङको क्षेत्र नं. ४(२) मा मात्र एमाले अगाडि देखिएको छ । प्रतिनिधिसभामा ६ वटै र प्रदेशसभाका ११ स्थानमा गठबन्धन अगाडि छ ।

प्रतिनिधिसभातर्फको अवस्था

क्षेत्र नम्बर १

मोरङका १ नम्बर निर्वाचन क्षेत्रमा १४ उम्मेदवार भएपनि सत्ता गठबन्धनबाट काँग्रेसका डिगबहादुर लिम्बू र एमालेका घनश्याम खतिवडा मुख्य प्रतिस्पर्धी हुन् ।
स्थानीय तहको मतको आधारमा गठबन्धन अगाडि छ । सो क्षेत्रमा एमालेको ३२३६६, काँग्रेसको ३१४१३, माओवादीको ६५८३, राप्रपाको २८९०, नेकपा एसको १९३ र जसपाको ४९४ मत छ ।
क्षेत्र नम्बर २
मोरङको क्षेत्र नम्बर २ मा १३ जना उम्मेद्वार छन् । सो सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला र एमाले गठबन्धनबाट ऋषिकेश पोखरेल उम्मेदवार छन् । स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत एमालेको ३१३३०, कांग्रेसको २८६१७, माओवादीको ७२७१ छ ।

क्षेत्र नम्बर ३
मोरङको क्षेत्र नम्बर ३ मा ३३ जना उम्मेद्वार भएपनि नेपाली काँग्रेसका सुनिल शर्मा एमाले नेता भानुभक्त ढकालसँग मुख्य प्रतिष्पर्धी हुन् । राप्रपाबाट उम्मेद्वार बनेकी अभिनेतृ रेखा थापाले पनि दबाब बढाएकी छन् ।
सो क्षेत्रमा स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतअनुसार एमालेको ३७४१०, कांग्रेसको ३६९१६, माओवादीको ७३७३, राप्रपाको २१२१ र नेकपा एसको १८५५ मत रहेको छ ।

क्षेत्र नम्बर ४
मोरङको क्षेत्र नम्बर ४ मा १६ जनाबीच प्रतिस्पर्धा हुने भएपनि मुख्य प्रतिस्पर्धी सत्ता गठबन्धनबाट माओवादीका नेता अमनलाल मोदी र एमाले गठबन्धनका विनोद ढकाल हुन् ।
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा सत्ता गठबन्धन दलहरुको मत ३३१३९ छ भने एमालेको २५७३० छ । सो क्षेत्रमा राप्रपाको ४६७४ र जसपाको ३११२ मत छ ।

क्षेत्र नम्बर ५
मोरङको निर्वाचन क्षेत्र ५ मा १६ जना उम्मेदवार छन् । जहाँ माओवादी नेता शिवकुमार मण्डल र एमालेको समर्थन पाएका जसपाका राजकुमार यादव प्रतिस्पर्धामा छन् । त्यहाँ एमाले छाडेर स्वतन्त्र उम्मेद्वार बनेका योगेन्द्र मण्डलको पनि प्रभाब छ ।

सो क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतका आधारमा काँग्रेसको १९४९८, एमालेको १५६८०, जसपाको १३२४९ र माओवादीको ११६२८ मत छ ।

क्षेत्र नम्बर ६

मोरङको क्षेत्र नम्बर ६ मा सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता डा.शेखर कोइराला र एमालेबाट लालबाबु पण्डित उम्मेद्वार छन् । २०७४ मा पण्डितले कोइरालालाई पराजित गरेको भएपनि यसपटक उनको अनुकुल देखिएको छैन ।
सो क्षेत्रमा वडाध्यक्षले पाएको मत अनुसार नेपाली काँग्रेसको २७०८६, एमालेको २४५५६, माओवादीको ४९९६, जसपाको ३९३९, राप्रपाको ३११५ र नेकपा एसको २३५५ मत छ ।

प्रदेशसभाकातर्फ १२ क्षेत्रको अवस्था
क्षेत्र नं. १(१)

मोरङकोे क्षेत्र नम्बर १ (१) प्रदेशसभामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य कुलप्रसाद साम्बा (कुशल) र एमालेका उम्मेद्वार उमाकान्त गौतमले प्रतिस्पर्धामा छन् । वडाध्यक्षहरुले पाएको मतको आधारमा गठबन्धनको मत १८१४१ छ भने एमालेको मत १४४३६ मत मात्र छ ।

क्षेत्र नं. १(२)

उत्तरी मोरङमा पर्ने क्षेत्र नं. १(२) बाट उम्मेदवार बनेका प्रदेश सरकारका यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्र घिमिरेसँग एमालेका पुराना नेता खड्गबहादुर बस्नेतसँग प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा पनि एमालेभन्दा गठबन्धन ३०१४ मतले अगाडि छ ।
सो क्षेत्रमा एमालेको १७९६०, काँग्रेसको १७४४०, माओवादी केन्द्रको ३४८० र एकीकृत समाजवादीको ४६ मत छ ।
क्षेत्र नं. २(१)

दक्षिणपूर्वी मोरङको यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का प्रदेश १ सचिव गणेश उप्रेती र नेकपा एमालेका दानबहादुर कार्की उम्मेदवार छन् । मेनपावर व्यवसायी कार्कीसँगको प्रतिस्पर्धा उप्रेतीलाई सहज देखिएको छ ।
गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा गठबन्धनको पक्षमा १८९४७ मत छ भने एमालेको मत १५२७९ छ । उक्त क्षेत्रमा राप्रपाको १४३३ र जसपाको २४७२ मत छ ।
क्षेत्र नं. २(२)
कानून व्यवसायीको पृष्ठभूमिबाट प्रदेशसभा सदस्य भएका एमालेका लिलाबल्लभ अधिकारी दोस्रो पटक चुनाबी मैदानमा रहँदा उनको प्रतिष्पर्धामा सत्तारुढ गठबन्धनबाट काँग्रेसका विनोद कार्की उम्मेदवार छन् ।
सो क्षेत्रमा गत स्थानीय तहको मतका आधारमा गठबन्धन २०७० मतले अगाडि छ । क्षेत्रमा एमालेको १६०५१, काँग्रेसको १४८५९, माओवादीको ३२४० र एकीकृत समाजवादीको २२ मत छ ।

क्षेत्र नं. ३ (१)

मोरङको ३(१) मा सत्ता गठबन्धन दल नेपाली काँग्रेसका नेता मानबहादुर लिम्बू र एमालेका दिलिप राई उम्मेदवार छन् । यो क्षेत्रबाट उम्मेद्वारी दिएका प्रदेश १ सरकारका वन, वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएपनि लिम्बू उम्मेदवार बनेका हुन् ।

स्थानीय तहको निर्वाचनमा पाएको मत अनुसार सो क्षेत्रमा गठबन्धन नै अगाडि छ । वडाध्यक्षको मत अनुसार सो क्षेत्रमा सत्ता गठबन्धनको २०९२३ र एमालेको १८६०६ मत रहेको छ । एकल रुपमा उम्मेद्वारी दिएको राप्रपाको ११५५ र जसपाको २६१ मत रहेको छ ।

क्षेत्र नं. ३ (२)

यो क्षेत्रमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठ र एमालेबाट बेलबारीका पूर्व प्रमुख ज्ञानेन्द्र सुवेदी मुख्य प्रतिष्पर्धी हुन् । क्षेत्रमा पनि वडाध्यक्षहरुले पाएको मत जोड्दा सत्ता गठबन्धन दलको मत एमालेको भन्दा झण्डै ५बढी छ ।

क्षेत्रमा गठबन्धनको मत २३३४८ रहँदा एमालेको मत १८८०४ रहेको छ । यस्तै राप्रपाको मत ९ सय ६६ हुँदा यो क्षेत्रमा जसपाको मत २०२ मात्रै रहेको छ ।

क्षेत्र नं. ४(१)

मोरङ क्षेत्र नम्बर ४ (१) मा नेपाली काँग्रेसबाट चर्चित युवा नेता गुरुराज घिमिरे उम्मेदवार छन् । घिमिरेले एमालेबाट उम्मेद्वार बनेका ग्रामथानका जयप्रकाश चौधरीसँग प्रतिस्पर्धा गरिरहेका छन् ।
क्षेत्रमा वडाध्यक्षहरुले पाएको मतका आधारमा गठबन्धन दल ६मतले अगाडि छ । त्यहाँ सत्ता गठबन्धनको १८९६९ मत हुँदा एमालेको १२९८० मत मात्रै रहेको छ । राप्रपाको ५७४ र जनता समाजवादी पार्टीको यो क्षेत्रमा १२७१ मत रहेको छ ।

क्षेत्र नं. ४(२)
मोरङ ४ (२) बाट उम्मेदवार बनेका प्रदेश १ पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे भने स्थानीय तहको मतका आधारमा झिनो मतले अगाडि देखिन्छन् । उनी एमालेबाट भावी मुख्यमन्त्रीको दाबेदार हुन् ।
सो क्षेत्रमा घिमिरेसँगको प्रतिस्पर्धामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुली उम्मेदवार छन् । उनले पनि मुख्यमन्त्रीको दावी गर्ने बताइन्छ ।
सोक्षेत्रमा एमालेले ११०८३ मत प्राप्त गरेकोमा काँग्रेसले ८४६०, माओवादी केन्द्रले १९१५ र एकीकृत समाजवादीले ४९९ मत प्राप्त गरेको छ ।

क्षेत्र नं. ५ (१)
एमालेले सन्तोषकुमार साहलाई उम्मेद्वार बनाउँदा गठबन्धनबाट भने नेपाली काँग्रेसले गयानन्द मण्डल (गनगाईं) उम्मेदवार भएको क्षेत्रमा गठबन्धनको मत अगाडि छ । सो क्षेत्रमा सत्ता गठबन्धन दलको मत १६५९७ हुँदा जसपा र एमालेको गठबन्धनको मत १४३७७ छ ।

मोरङ क्षेत्र नं. ५ (२)
एमाले समर्थनमा जसपाबाट उम्मेदवार भएका स्वास्थ्य मन्त्री जयराम यादवलाई सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता अमृत अर्यालले टक्कर दिएको क्षेत्रमा सत्ता गठबन्धनले १५१३७ मत प्राप्त गरेको छ भने जसपा र एमालेको मत १४५५२ छ ।

मोरङ क्षेत्र नं. ६ (१)

माओवादीका केन्द्रीय सदस्य जीवन आचार्य र एमाले नेतृ रीता न्यौपाने उम्मेदवार भएको यो क्षेत्रमा सत्ता गठबन्धन करिब ४मतले अगाडि छ । गठबन्धनको २२२५२ मत रहेकोमा एमालेले १८८९४ मत ल्याएको छ ।

मोरङ क्षेत्र नं. ६ (२)

प्रदेश सरकार आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की उम्मेदवार भएको मोरङ क्षेत्र नं. ६ मा स्थानीय तहको मतपरिणाम हेर्दा गठबन्धनको मत एमालेको भन्दा करिब दोब्बर बढि छ । एमालेबाट पर्शुराम बस्नेत उम्मेदवार भएको सो क्षेत्रमा एमालेको मत ६३४२ रहेको छ भने गठबन्धनको मत १२७७४ रहेको छ ।