विराटनगर । संविधानसभाको अनुभव संगालेका नेपाली कांग्रेसका नेता अमृत अर्यालले यसपटक मोरङ ५ को प्रतिनिधिसभामा लड्न चाहेका थिए । तर, पाँच दलीय गठबन्धनको सिट भागबण्डामा अर्याल प्रदेशसभातर्फ ५(२) का उमेदवार बने ।

मंसिर ४ गते हुने निर्वाचनपछि बन्ने सरकारमा मुख्यमन्त्रीको दाबेदारको रुपमा हेरिएका अर्याल अहिले चुनावी अभियान र घरदैलोको अन्तिम चरणमा छन् । पछिल्लो समय स्वास्थ्य समस्या देखिएपछि अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आयो । तर, गलत्तै उनी चुनाबी अभियानमा सक्रिय छन् ।

‘स्वास्थ्य अवस्था सुधार भएलगत्तै चुनावी अभियानमा सक्रिय छु’ अर्यालले भने, ‘चुनावका कार्यक्रमहरुमा मतदाता र सर्वसाधारणको राम्रो सहभागिता भईरहेको छ ।’ अर्याल साताअघि धपेडी र नाक सम्बन्धी पुरानै समस्याबाट ग्रसित भएपछि अस्पताल भर्ना भएका थिए ।

अर्याल चुनावी सभाहरुमा एक सवल प्रदेश निर्माणमा आफ्नो अनुभवले काम गर्ने बताउँछन् । केन्द्रको राजनीतिमा जाने आफ्नो सोच भएपनि पार्टीले भावी मुख्यमन्त्रीको रुपमा प्रस्तुत गर्दै अघि बढाएपछि प्रदेशमा झरेको उनको दावी छ ।

प्रदेशको नामकरणसहित विकास र समृद्धिको आकांक्षा पुरा गर्न सक्षम रहेको दावी गदैै उनले मोरङ ५ मा गठबन्धनको दर्विलो उपस्थिति र विगतका परिणामहरुका कारणसमेत चुनाब जित्न समस्या नरहेको दावी गरे । विगतमा निर्वाचित भएका प्रदेशसभा सदस्यप्रति नागरिकहरुको चर्को असन्तुष्टि रहेकोले पनि अर्यालयलाई चुनाब जित्न सहज हुने देखिएको छ ।

अर्यालका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) जयराम यादवको चुनावी दौडाहा पनि चलिरहेको छ । सत्तारुढ गठबन्धनबाट प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री रहेका यादव नचाहँदा नचाहँदै पार्टी नेकपा एमालेसँग गठबन्धन गरेपछि एमालेको समर्थनमा उम्मेदवार बनेका हुन् । सत्तारुढ गठबन्धनबाट विपक्षी गठबन्धनमा गएर उम्मेदवार भएपनि मन्त्री पद नछाडेर अनैतिक व्यवहार यादवले देखाएको आरोप लागेको छ । उनीमाथि प्रदेको मन्त्री हुँदासमेत क्षेत्रको विकासमा ध्यान दिन नसेको, कर्मचारी सरुवा गर्दा कमिसनको चलखेल गरेको जस्ता आरोप पनि छ ।

एक कार्यकाल संविधानसभा सदस्य रहिसकेका उनले ठूला दलको दम्भले मात्र देश विकास हुन नसक्ने भएकोले आफू उम्मेदवार बनेको बताए । प्रदेशलाई स्थापित गराई गणतन्त्र संस्थागत गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।

निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश २ तर्फ मतदाता संख्या ५३ हजार ९ छ । विराटनगर महानगरपालिकाको ६ वटा र जहदा गाउँपालिकाको ५ वटा वडा समेटिएको निर्वाचन क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले १५१३७ मत प्राप्त गर्दा जसपा र एमालेले ५८५ कम अर्थात १४५५२ मत प्राप्त गरेको छ ।

निर्वाचनमा काँग्रेसका वडाध्यक्षका उम्मेदवारले ९१६६, एमालेले ६२०२, माओवादी केन्द्रले ५३६३, एकीकृत समाजवादीले ६०८ र जनता समाजवादी पार्टीले ८३५० मत प्राप्त गरेको थियो ।