भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोजपुरमा पुगेर सुदन किरातीलाई जिताए मन्त्री बनाएर पठाउने बताएका छन । भोजपुरका तिवारी भन्ज्याङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले किरातीलाई मन्त्री बनाएर ऋण तिर्ने बताए ।
‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन’ प्रचण्डले भने, ‘अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईहरु सुदनलाई जिताएर पठाउनुस् ।’ किराती २०६४ र २०७४ सालका सांसद हुन् ।
यस्तै राजनीतिक स्थिरताका लागि गठबन्धन गरिएको बताउँदै प्रचण्डले यो गठबन्धन लामो समयसम्म जाने ठोकुवा गरे । ‘यो गठबन्धन विकास र समृद्धिका लागि गरिएको हो । यो तत्काल भत्किँदैन यो धेरै टाढासम्म सोचे गरिएको छ’ प्रचण्डले भने– ‘विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउनेगरी लाग्नुस् ।’

