धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गरेको कामको प्रशंसा गरेका छन्।
धरानमा आज आयोजित चुनावी आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले खानेपानी समस्याको समाधानका लागि धरानका मेयर साम्पाङले गरेको कामको प्रशंसा गर्दै चुनाबपछि बन्ने गठबन्धनको सरकारले त्यसलाई पूर्णता दिन सहकार्य गर्ने बताए ।
मेयर साम्पाङको खानेपानी समस्या समाधानको चहानालाई केन्द्रबाट पनि समर्थन गर्ने बताउँदै प्रचण्डले धरानको सुकुम्बासी समस्या समाधानको काम आचारसंहिताको कारण मात्र रोकिएको उल्लेख गरे । ‘चुनाबलगत्तै सुकुम्बासी समस्याको समाधान हुनेछ’ उनले भने, ‘धरानको खेलकुद रंगशालालाई केन्द्र बाट बजेट विनियोजन गर्नेछौं ।’
गठबन्धन निर्वाचनका लागि मात्रै नभएर संविधान रक्षाका लागि बनेको बताउँदै प्रचण्डले आगामी चुनाब अग्रगामी र पश्चगामीहरुको जनमत संग्रह भएको दावी गरे । निर्वाचन पश्चात यो गठबन्धनकै सरकार बन्ने भएकोले हाल पाइपलाईनमा भएको विकासलाई निरन्तरता दिइनुका साथै नयाँ योजनालाई अगाडि बनाइने उनले बताए ।
धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्यालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने यो समस्याको बारेमा सरकारमा छलफल भइरहेको बताए । प्रतिष्ठानको समस्या समाधान गर्ने उनको भनाइ थियो ।
नेपालको शान्ति सम्झौतामा नेपाली कांग्रेसको तर्फबाट गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाछ आफूले एकै कागजमा हस्ताक्षर गरेकोले कांग्रेसले हँसिया हथौडा र माओवादीले रुखमा मतदान गर्न कुनै संकोच मान्न नहुने प्रचण्डको भनाइ थियो । मुलुकको व्यवस्था र संविधान रक्षाको निम्ति मतदान हुने भएकोेले यो महाअभियानमा सबै सचेत भएर लाग्नुपर्ने उनको आह्वान थियो ।