विराटनगर । भोजपुरको तिवारी भन्ज्याङमा नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई टार्गेट गरेर बम बिस्फोट गराउन खोज्ने नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको खुलेको छ ।

आफैले बोकेको टिफिन बम पड्केर घाइते भएका विप्लवका कार्यकर्ता सुमन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनको खुट्टामा चोट लागेको छ ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभामा भोजपुरका उम्मेदवार सुदन किरातीले नेत्रविक्रम चन्द ‘‘विप्लव’ नेतृत्वको नेकपालाई प्रयोग गरेर एमालेले बम विस्फोट गराएको आरोप लगाएका छन् । ‘हामीले तिवारी भन्ज्याङमा चुनावीसभा राखेका छौं । कार्यक्रमनजिक एक जना भाइले बोकेको बम विस्फोट भयो । विचरा भाइ अहिले घाइते भएपछि प्रहरीले पक्राउ गरिसक्यो’ उनले भने ,‘चुनावमा हार्ने भएपछि एमालेले घटना गराएको खुलेको छ ।’

बम विष्फोटको केहि समयपछि प्रचण्डसहितको टोली भोजपुर पुगेको थियो । नेताहरुले सभालाई सम्बोधन गरेका छन् ।

भोजपुरबाट किराँती गठबन्धनबाट उम्मेदवार छन् भने प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई एमालेका उम्मेदवार छन् ।