विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बुधबार प्रदेश १ का विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन् । अध्यक्ष प्रचण्ड सुनसरी, मोरङ, भोजपुर, खोटाङ र ताप्लेजुङका चुनाबी सभामा सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।

प्रचण्ड र नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशरण महतसहितका नेताहरु विहान ११ बजे मोरङको गछियामा हुने चुनाबी सभामा सहभागी हुनेछन् । ११ बजे हुने सभास्थान मोरङ क्षेत्र नं. ६ हो । सो क्षेत्रमा नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला प्रतिनिधिसभामा र माओवादी नेता जीवन आचार्य प्रदेशसभामा उम्मेदवार छन् ।

गछियाको सभापछि प्रचण्डको टोली १२ः३० बजे धरानको भानुचौकमा हुने गठबन्धनको सभामा सहभागी हुनेछ । सुनसरीको क्षेत्र नं. १ मा गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ मेन्याङ्बो उम्मेदवार छन् ।

प्रचण्डसहितका नेताहरु २ बजे ताप्लेजुङमा आयोजित सभामा सहभागी हुनेछन् । ताप्लेजुङमा गठबन्धनबाट माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री उम्मेदवार छन् ।
ताप्लेजुङपछि ३ बजे भोजपुरको पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्ज्याङमा आयोजित सभामा प्रचण्ड सहभागी हुने कार्यक्रम छ । भोजपुरमा माअमोवादी केन्द्रका सुदन किराती गठबन्धनबाट प्रतिनिधिसभाको उम्मेदवार छन् ।

भोजपुरपछि प्रचण्डको टोली ४ बजे खोटाङको दिक्तेल पुग्नेछ । खोटाङमा प्रतिनिधिसभामा माओवादी केन्द्रका रामकुमार राई उम्मेदवार छन् । चुनाबी अभियानको क्रममा प्रचण्ड पहिलो पटक प्रदेश १ आउन लागेको पार्टीको प्रदेश कार्यालयका इञ्चार्ज टंक गिरीले जानकारी दिए ।