विराटनगर । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र न.४ (२) प्रदेशसभा सदस्यका उम्मेदवार भीम पराजुलीले विकास र समृद्धिका लागि काम गर्नसक्ने उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरेका छन् । मोरङ क्षेत्र न.४ (२)को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पराजुलीले यस्तो बताएका हुन् ।
आफू नेतृत्वमा रहँदा विकास र समृद्धिका लागि काम गर्दै आएको स्मरणसमेत पराजुलीले गरेका छन् । धार्मिक तथा सामाजिक छवि बनाएका पराजुलीले विकास र समृद्धि गर्ने उम्मेदवार आजको आवश्यकता भएको औल्याए । यो नै पहिलो र हाम्रो लक्ष्य हो । हामी अहिले आशिर्वाद लिने ठाउमा छौं, चुनाव जिताउनु होस् तपाईहरुले सोचेको सपना हामी पुरा गर्छौं ।
गठबन्धनका उम्मेदवार जिताउँने जिम्मा तपाई, हाम्रो माझमा छ । त्यो यसपटक पुरा गरौं । पराजुलीले भने संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको स्थायित्वका लागि पनि हामी एक हुन आवश्यक छ ।’
यसैबीच मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक बाम गठबन्धनले चुनावी अभियानलाई तीव्र बनाएको छ । क्षेत्रका विभिन्न पालिकाहरुमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उम्मेदवारहरु घरदैलो र कोणसभा कार्यक्रममा केन्द्रित भएका छन् । प्रतिनिधिसभा सदस्य पदका उमेदवार नेकपा माओवादी केन्द्रका अमनलाल मोदी र भीम पराजुलीले आफूहरु जनचाहना अनुरुप विकासलाई थप गति दिन आएको बताए ।
अझ गठवन्धनका युवाहरु भएका कारण क्षेत्रगत रुपमा पनि विकासको मुल फुट्ने उनीहरुको तर्क छ । गठबन्धन सरकार निर्माणसम्म नै अगाडि बढ्ने हुँदा यसको लाभ जनतामाझ आइपुग्ने उनीहरुको दावी छ ।
प्रदेशसभाका उम्मेदवार पराजुलीले आफूले विराटनगर महानगरपालिकाको मेयरको रुपमा काम गरेको अनभुव रहेकोले अब प्रदेशको विकासमा थप सशक्त भएर अघि बढ्ने बताए । एउटा सक्षम र सवल प्रदेश निर्माणमा पूर्ण रुपमा सक्रिय हुनका लागि उम्मेदवार बनेको बताउँदै उनले संघीयता कार्यान्वयन र विकासका अवसरलाई तलसम्म लैजान गठबन्धनले चुनाब जित्नुपर्ने बताए ।

