विराटनगर । २०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनबाट मोरङ क्षेत्र नम्बर १ बाट उम्मेद्वार बनेका एमाले नेता घनश्याम खतिवडा निर्वाचनमा विजयी पनि भए । त्यसबेला उनले प्रमुखताका साथ उठाएको एउटा एजेण्डा थियो तमोरको पानी ल्याएर आफ्नो क्षेत्रमा सिंचाई सुविधा पुर्याउने ।
निर्वाचित भएर ५ वर्ष उनी सांसद भए । अधिकांश समय उनकै पार्टीको सरकार सञ्चालन भयो । तर, तमोरको पानी ल्याएर सिंचाई सुविधा उपलब्ध गराउने उनको प्रतिबद्धता पुरा भएन ।
अहिले खतिवडा पुनः सोही क्षेत्रबाट उम्मेदवार भई मत मागिरहेका छन् । ५ वर्षको अवधिमा यस क्षेत्रको सडक निर्माण, विद्युतीकरण, खानेपानी, सुरक्षित आवास, सांस्कृतिक स्थानको निर्माण र संरक्षण, स्वास्थ्य र शैक्षिक संस्थाको स्थितिमा सुधार ल्याएको तथा खोलाहरुमा तटबन्धन निर्माण गरेको खतिवडाको दावी छ । मतदाताले भने तमोरको पानी खै भन्ने प्रश्न गर्दा उनी निरुत्तर हुने गरेका छन् ।
गठबन्धनबाट आफ्नो जित सुनिश्चित देखेका नेपाली काँग्रेसका उम्मेदवार डिगबहादुर लिम्बू भने आफूहरुले संविधान र गणतन्त्र रक्षालाई प्रमुख एजेण्डा बनाएको बताउँछन् । मोरङको निर्वाचन क्षेत्र १ मा उर्लाबारी नगरपालिका, मिक्लाजुङ गाउँपालिका, लेटाङ नगरपालिका र केराबारी गाउँपालिका पर्दछन् । जसमा १ लाख २३ हजार ६१५ मतदाता छन् ।
२०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेद्वार बनेका खतिवडाले ३७ हजार ५२४ मत ल्याएर विजयी बनेका थिए । दोस्रो स्थान ल्याएका परिचित प्रतिस्पर्धी काँग्रेसका डिगबहादुर लिम्बूले ३१ हजार ४३६ मत ल्याएका थिए । तेस्रो स्थानमा भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अशोक चेम्जोङले १ हजार १५२ मत ल्याएका थिए ।
गत स्थानीय तहको निर्वाचनमा क्षेत्रका ३७ वटा वडामध्ये एमालेले १९ वडा जितेको छ । यस्तै काँग्रेसले १५ र नेकपा (माओवादी केन्द्र)ले ३ वटा वडा जितेको छ । वडाध्यक्षले पाएको मत जोड्दा नेकपा एमालेले ३२ हजार ३६६, नेपाली कांग्रेसले ३१ हजार ४१३, माओवादी केन्द्रले ६ हजार ५८३, राप्रपाले २ हजार ८९०, नेकपा एसले १ हजार ९३ र जसपाले ४ सय ९४ मत छ । वडाको मतका अ ाधारमा गठबन्धनका लिम्बू ६७२३ मतले अगाडि छन् ।
खतिवडा र लिम्बूको लगातारको प्रतिस्पर्धामा
२०४३ सालमा लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय उम्मेद्वारको रुपमा प्रधानपञ्चको रुपमा उम्मेद्वार बनेका खतिवडा थोरै मतले पराजित बनेका थिए । त्यसपछि २०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङको गाविस अध्यक्षमा खतिवडा निर्वाचित भए । हाल प्रतिस्पर्धामा रहेका नेपाली काँग्रेसका डिकबहादुर लिम्बूलाई खतिवडाले २०४९ सालको स्थानीय निर्वाचनमा पराजित गरेका थिए ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा लिम्बूसँग पराजित भएका खतिवडा २०७४ सालको निर्वाचनमा भने माओवादीसमेतको सहयोगमा उनै लिम्बूलाई पराजित गर्न सफल भए । २०६४ सालको निर्वाचनमा माओवादी उम्मेद्वार नगेन्द्र धिमालबाट पराजित बनेका लिम्बू भने २०७० सालको संविधानसभाको निर्वाचनमा भने संविधानसभा सदस्य बन्न सफल भएका थिए । त्यसबेला लिम्बूले तत्कालिन मोरङ क्षेत्र नम्बर ९ बाट १५ हजार २०२ मत ल्याउँदा खतिवडाले भने १२ हजार ९८९ मत ल्याएका थिए ।
मोरङका १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभाका लागि १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । जसमध्ये सत्ता गठबन्धनबाट काँग्रेसका डिगबहादुर लिम्बू र एमाले गठबन्धनबाट नेता घनश्याम खतिवडाको मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । यस्तै सो क्षेत्रबाट ५ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।
लिम्बू र खतिवडा बाहेक सो क्षेत्रमा राप्रपाबाट होमनाथ गौतम, नेपाल मजदुर किसान पार्टीबाट लक्ष्मी प्रसाद कवा, हाम्रो नेपाली पार्टीका राजेन्द्र प्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनबाट सुरज लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट हर्कमान सम्वाहाम्फे, राष्ट्रिय जनमुक्ति पार्टीबाट बुद्धमाया लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कमलबहादुर श्रेष्ठ रहेका छन् ।