विराटनगर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै बाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार डा. शेखर कोइरालालाई अन्य उम्मेदवारहरुले नै समर्थन गर्न थालेका छन् ।
स्वतन्त्र उम्मेदवारी घोषणा गरेका विभिन्न व्यक्तिले आफ्नो उम्मेदवारी निस्कृय बनाउँदै डा. कोइराललाई समर्थन गरेका हुन् ।
केही दिनअघि बहुजन शक्ति पार्टीका उम्मेदवार नारायण पासवानले उम्मेदवारी निस्कृय बनाएर कोइरालालाई सघाउने घोषणा गरेका थिए । पासवान यतिबेला कोइरालाको चुनावी प्रचार अभियानमा सक्रिय छन् ।
युवाहरूको प्रतिनिधित्व गर्दै स्वतन्त्र उम्मेदवारी दिएका सुशील खड्काले पनि आफ्नो उम्मेदवारी निस्कृय बनाएका छन् । कोइराला निवासमा मंगलबार बिहान आयोजित संक्षिप्त कार्यक्रममा खड्काले कोइरालालाई सघाउने घोषणा गरेका हुन् । स्वतन्त्र युवा समूह गठन गरेर उनले सामाजिक कार्य गर्नुका साथै राजनैतिक खबरदारी गर्दै आएका थिए ।
युवा शक्तिको व्यवस्थापन, ३० लाख हेक्टर कृषि क्षेत्र निर्धारण, विराटनगरको कोशी राजमार्ग पश्चिमका वडाको समान विकासको पहुँच पु¥याउनेसहित राष्ट्रिय एजेण्डा उठाइदिने शर्तमा डा. कोइरालालाई समर्थन गरेको खड्काले जानकारी दिए । आफूले उठाएका एजेण्डाप्रति कोइराला गम्भीर भएकाले आफ्नो उम्मेदवारी निस्कृय बनाएको उनको भनाइ थियो ।
‘राष्ट्रिय राजनीतिमा समेत हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने र युवाका मुद्दालाई संसदमा सशक्त रुपमा उठाउन सक्ने महसुस गरेर डा. शेखर कोइरालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी आजकै मितिबाट निस्कृय बनाएको सबैलाई जानकारी गराउँदछु’ खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अब उहाँलाई जिताउन हामी सबै युवा आजैदेखि लागिपर्ने छौं ।’

