विराटनगर । झापा क्षेत्र नं १ को चुनावी माहौले मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठुला दल नेपाली काँग्रेस र नेकपा (एमाले)का दुई ‘हेवीवेट’ बिचको उम्मेदवारीले सो क्षेत्र चर्चामा रहेको छ ।
चुनावलाई आफ्नो पक्षमा पार्न उनीहरू घरदैलोमा व्यस्त छन् । काँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपाको गठबन्धन बाट अग्नि खरेल उम्मेदवार बनेका छन् । उनीहरू सहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । ती मध्ये तीन जना स्वतन्त्र उम्मेदवार छन् ।
दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्मा तेस्रो पटक चुनावी मैदानमा छन् भने एमाले स्थायी कमिटी सदस्य खरेल आफ्नो गृह क्षेत्र झापा–२ भए पनि १मा इन्ट्री गरेका हुन् । संसद् छिर्ने प्रयासलाई मूर्तरूप दिन जनताको ‘म्याण्डेड’का लागि शर्मा र खरेल दुवै अहोरात्र खटिरहेका छन् ।
महामन्त्री शर्मा सुकुम्वासी समस्या समाधान, पुल निर्माण, नदी कटान नियन्त्रण, पर्यटकीय केन्द्रका स्तरीकरण, झापा–१ जोड्ने रिङ रोड निर्माणलगायतका स्थानीय विकास र चासोको विषयलाई समेट्ने मतदातासमक्ष प्रतिबद्धता जनाउँदै छन् । “जनताले स–साना कुरा खोजिरहेका छन्”, उनले भने, “त्यसैले हामी गर्न सक्ने कुरा मात्र गर्छौँ, नसक्ने कुराको हामी सपना बाँड्न आएको छैनौँ ।”
पदमा नरहँदा पनि झापा क्षेत्र नं १ को सडक निर्माण, सामाजिक रूपान्तरण, स्वास्थ्य सेवालगायतका क्षेत्रमा काम गरेको शर्माको भनाइ छ । संविधानको रक्षा, लोकतान्त्रिक शासन पद्धतिको विकास र राजनीतिमा परिवर्तनका लागि गठबन्धन आवश्यक रहेको उल्लेख गर्दै शर्माले गठबन्धनका उम्मेदवारलाई जिताएर जनताको समृद्धिका लागि काम गर्ने अवसर दिन अपिल गरेका छन् ।
एमाले–राप्रपा गठबन्धन बाट उम्मेदवार बनेका खरेलले आफू जहिले विकास र निर्माणको संसदीय प्रक्रियामा आफू गाँसिएको भएको बताए । “जनताको समस्या मेरो समस्या हो”, उनले भने, “मैले ती समस्या बुझेको छु ।”
शर्मा र खरेल दुवैले स्थानीय अवस्था, आवश्यकता र केन्द्रीय घोषणापत्रलाई आधार बनाएर प्रतिबद्धता जनाई हेका छन् । दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहे पनि परिणाम आफ्नो पक्षमा पार्न त्यति सहज छैन । विसं २०५७ मै काँग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०७२ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्मा २०७४ मा पार्टीका प्रवक्ता थिए । विसं २०७६ मा काँग्रेसको तर्फबाट सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख भएका उनी हाल महामन्त्री छन् ।
विसं २०६४ र २०७० को संविधानसभा सदस्य रहेका खरेल पूर्व कानुन मन्त्री छन् भने हाल उनी एमालेका स्थायी समिति सदस्य र झापा इन्चार्ज छन् ।
झापा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभा (१) मा गोपाल तामाङ र (२) मा श्यामवीर लिम्बू चुनावी मैदानमा छन् भने एमाले–राप्रपा गठबन्धन अन्तर्गत खरेल, प्रदेशसभा(१) मा रविन कोइराला र (२) मा सविना बजगाईँ कट्टेल छन् । मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुरको ९, १० नम्बर वडा र बुद्ध शान्ति गाउँपालिकाको ४, ५ , ६, ७ वडा मिश्रित झापा क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । जसमध्ये करिब १३ हजार नयाँ मतदाता थपिएका छन् ।
स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ एमालेसँग ३१ हजार दुई सय ३२ मत छ भने काँग्रेससँग २४ हजार ५९ मत छ । राप्रपासँग पाँच हजार नौ सय २२ मत रहेको क्षेत्रमा माओवादीसँग तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीसँग एक हजार दुई सय ५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग दुई सय ६२ मत छ ।

