मधुमेह कस्तो रोग, कसरी जोगिने ?

बदलिँदो जीवनशैली र खानपानमा आएको अस्वस्थ परिवर्तनका कारण नेपालमा मधुमेहका बिरामी ह्वात्तै बढीरहेका छन् । मधुमेह भनेको शरीरमा सुगरको मात्रा बढी हुने रोग हो । नेपाली समाजमा यसलाई चिनी रोग भनेर चिनिन्छ । मानव शरीरमा चिनीको आवश्यकता हुन्छ । शरीरमा चिनी नहुने हो भने मानिस बाँच्न सकदैन । तर जब शरीरमा चिनीको मात्रा बढ्छ त्यसले भने असर देखाउन थाल्छ ।
चिनीको मात्रा बढी भयो भने शरीरमा यसले विभिन्न अंगलाई असर गर्न थाल्छ । शरीरमा भएको चिनीको मात्रा जसलाई ग्लुकोज भनिन्छ । मानिसले जुनसुकै खाना खाइसकेपछि शरीरमा ग्लुकोजको रुपमा प्रवेश गर्छ र त्यसबाट कोष संचालन गर्ने शक्ति आउँछ । चिनीबाट कार्बाेहाइटेड र इनर्जी पाइन्छ । त्यसलाई प्रयोग गराउने भनेको इन्सुलेनले हो । त्यो भनेको हाम्रो पेटको भागमा रहेको प्यानक्रियाज ग्रन्थीले उत्पादन गर्ने हर्मोन हो । इन्सुलिनको काम भनेको शरीरमा बनेको ग्लुकोजलाई शरीरका विभिन्न कोषहरुमा लगेर प्रयोगमा ल्याउने हो ।

कुन उमेर समुहमा मधुमेह
अहिले सबै उमेर समूहमा मधुमेह देखिएको छ । नवजात शिशुदेखि ८० उमेर समूहमा पनि यो रोग देखा परेको छ । प्राय गरि ३० वर्ष उमेर माथिका उमेर समूहमा बढी मधुमेह देखिएको छ । युवा उमेरमा मधुमेह देखिने क्रम बढ्नुको प्रमुख कारण अव्यवस्थित जीवनशैली हो ।
सामान्यतया खाली पेटमा ग्लुकोजको मात्रा १२० भन्दा कम र खाना खाएपछि १८० भन्दा कम भएको मधुमेहलाई सामान्य मानिन्छ । ‘टाइप वान’ मधुमेह छ भने त्यसको उपचार विधि इन्सुलिन हो । ‘टाइप टु’ मधुमेहमा पनि दुई–तीन वटा औषधि चलाउँदा मधुमेह अनकन्ट्रोल भएको अवस्थामा सक्दो छिटो इन्सुलिन प्रयोग गर्नुपर्छ । नेपालमा मधुमेहका बिरामी कति छन् भन्ने तथ्यांक छैन । तर एउटा अन्तर्राष्ट्रिय डाइबिटिज फेडरेसनले हरेक वर्ष तथ्यांक निकाल्दा सन् २०१७ र २०१८ मा हाम्रो ४ प्रतिशत जनसंख्यामा मधुमेह देखाएको छ । सन् २०१६ मा ३.३ प्रतिशत मात्रै थियो । अहिले आएर लगभग वर्षमा १ प्रतिशत नै बढेको देखिन्छ । यो तथ्यांकले पनि बढ्ने क्रम धेरै भएको देखाउँछ । हामीले आफ्नो अभ्यासमा पनि पहिलाको भन्दा अहिले धेरै नै अन्तर पाइरहेका छौँ । हरेक दिन, हरेक वर्ष मधुमेह बिरामीको संख्या एकदमै बढ्दो छ ।

मधुमेहको लक्ष्णहरू
– थाकाइ लाग्ने
–आलस्य हुने
–जाँगर नचल्ने
–पिसाब लाग्ने
–मुख सुख्खा हुने
–खाना बढी रुचि हुने
–खुट्टा पोल्ने
–खुट्टा झमझमाउने
–आँखा धमिलो हुने
–कुनै पनि घाउ निको हुन गाह्रो हुने
– पिसाब फेरेको ठाउँमा कमिला लाग्ने

मधुमेह लागेका विरामीले ध्यान दिनुपर्ने कुराहरु
मधुमेह लागेको बिरामीको लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको नियमअनुसार खानपान, सुत्ने, हिँड्ने गर्नुप¥यो । मानसिक तनाव एकदमै कम गर्नुपर्छ । तपाईं निदाएर मात्रै हुँदैन सुत्नु नै पर्छ । निदाएको छ तर धेरै तनाव लिएर सुत्नुभयो भने अरु हर्माेनको कारणले गर्दा सुगर बिहान उठ्दा हाई हुनसक्छ । समय मिल्छ भने आफ्नो परिवारसँग रमाइलो गर्ने, घुम्न जाने, गीत सुन्ने, नाँच्ने गर्ने हो भने शरीरको लागि व्यायाम पनि भयो र मानसिक तनाव पनि कम हुन्छ ।
दोस्रो कुरा चिकित्सकले दिएको औषधि तोकिएको समयमा नियमित खानुप¥यो । दुई पटक खाने औषधि छ, एक पटक मात्रै खानुभयो भने काम गर्दैन । मधुमेहको औषधि धेरै छन् । कोही खाना अगाडि, केही खाना पछाडि खाने छ भने कोही औषधि खानाको पहिलो गाँसमै त कोही खानाको बीचमा खानुपर्ने छ । चिकित्सकले मात्रै लेखेर भएन, बिरामीले पनि राम्रोसँग आफ्नो औषधिको बारेमा बुझ्नुप¥यो । बिरामीले कुन औषधि कतिखेर र कसरी खाने भन्ने बारेमा लेखेर राख्नु प¥यो । चिकित्सकसँग खासै नबुझ्ने अनि औषधि लिएर घर गएपछि औषधि कसरी खाने भन्ने बारेमा पनि अन्योल हुने गरेका छन् । अनि आफ्नै गाउँमा गएर अन्य मधुमेह रोगीहरुलाई सोध्छन् । मैले त खानापछि खाएको छु भन्ने जवाफ खानाअघि खानुपर्ने औषधिमा खाइयो भने त्यो औषधिले राम्रो काम गर्दैन ।
सबै औषधिको फरक–फरक बाटो हुन्छ । एउटा बाटोमा जाने औषधि अर्काे बाटोमा गयो भने काम लाग्दैन । मधुमेहको औषधि मुटु, क्यान्सरको लागि काम गरिरहेको हुन्छ भने कतिपय औषधिले मोटोपन घटाइरहेको हुन्छ । त्यसैले औषधि रोक्नुभन्दा पनि सानो डोजमा औषधि निरन्तर खाइरहेको राम्रो हो । एकै पटक औषधि बन्द गर्नको लागि बिरामी चिकित्सकको सम्पर्कमा हुनुप¥यो । हरेक महिना स्वास्थ्य परीक्षणमा आउँछु भन्नु प¥यो । साथै मधुमेहका मानसिक तनाव नलिने, समयमा उठ्ने, समयमा औषधि र खाने कुरा खाने आफ्नो काम गर्ने होल डेको प्लान बिरामीले बनाउनुपर्छ । मधुमेह भएको बिरामीले एकै पटक धेरै खाने होइन । थोरै–थोरै धेरै पटक खाने बानी बसाल्नु पर्छ । दिनमा ६ पटक खान मेरो सुझाव छ ।

 (लेखक : विराटनगरस्थित  न्यूरो हस्पिटलका वरिष्ठ फिजिसियन चिकित्सक हुन् । )

मङ्गलबार, २९ कार्तिक, २०७९, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर