विराटनगर । भारतको अररिया जिल्लास्थित जोगवनीमा नेपाल–भारत सुरक्षा बैठक भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको सुरक्षामा आधारित बैठक बसेको हो ।
शनिबार भएको बैठकमा नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा व्यवस्था मजवुत बनाउने तथा सीमा क्षेत्रको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिने प्रतिबद्धता भारतीय अधिकारीले जनाएका छन् ।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष हिसाबले सम्पन्न गर्न निगरानी बढाइने भएको छ । निर्वाचनलाई लक्षित गरेर सीमा क्षेत्रमा दुई देशका सुरक्षाकर्मीको संयुक्त गस्ती बढाउने सहमति पनि बैठकमा भएको छ ।
निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा शील गर्ने, लागूऔषध एवं साना हतियार तथा नक्कली नोटको ओसारपसार नियन्त्रणमा लिने, सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाउने, सीमा शील भएका बेला अतिआवश्यक सेवाहरु, बिरामीको उपचार, वैवाहिक कार्यक्रम र वारुणयन्त्रको आवतजावतलाई सहज बनाउने, अन्य सवारीसाधन र मानिसको आवतजावतलाई पूर्ण रूपमा रोक लगाउने निर्णय बैठकले गरेको छ । अपराधिक क्रियाकलाप नियन्त्रणका लागि दुई देशका सुरक्षाकर्मीबीच सूचना आदानप्रसाद गर्ने, सुरक्षालाई प्रभावकारी बनाउने, चुनावका बेला नेपालमा अपराध गर्नेहरु भारततिर भाग्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा निगरानी बढाउने सहमति नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको छ ।
संयुक्त बैठकमा अररियाका डिष्ट्रिक मजिष्टे«ड (डीएम) इनायक खाँन, एसपी अशोककुमार सिंह, सीमा सुरक्षा बल (एसएसबी) बथनाहाका प्रमुख सुरेन्द्र विक्रम, अररियाका प्रमुख ब्रजेसकुमारलगायतका भारतीय सुरक्षा अधिकारीको सहभागिता थियो । नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका प्रमुख बासुदेव सिग्देल, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकाल, सशस्त्रका प्रमुख एसपी विक्रम होमागाईं, राष्ट्रिय अनुसन्धानका प्रमुख कूलचन्द्र नेपाल र सहायक प्रमुख जिल्ला अधिकारी ओम भट्टराई सहभागी थिए ।

