विराटनगर । सुनसरीको क्षेत्र नम्बर ४ को चुनावी अंकगणित अघिल्लो पटक ९२०७४० काँग्रेसको पक्षमा थियो । बाम गठबन्धन गरेर चुनावमा होमिएका एमाले र माओवादीलाई काँग्रेस नेता तथा हालका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जसपाको समर्थनमा पराजित गरेका थिए ।
अहिले परिस्थिति फेरिएको छ । एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई उपेन्द्र यादवको पार्टी जनता समाजवादी पार्टीले समर्थन गरेको छ भने त्यस बेलाको बाम गठबन्धनको प्रमुख घटक माओवादी र एमालेबाट विभाजित भएर बनेको नेकपा ९एकीकृत समाजवादी०ले कार्कीलाई समर्थन गरेको छ ।
संसदीय निर्वाचनमा भोजपुर वाट पटक पटक पराजित भएर सुनसरी झर्ने बित्तिकै कार्कीले ०७४ सालमा निर्वाचन जितेका थिए । अहिले उनै कार्कीसँग सोही क्षेत्रबाट पटक पटक संसदीय निर्वाचन लड्दै जित्दै, हार्दै गरेका कुसियैतले टक्कर दिइरहेका छन् ।
दुवैको दाबी छ मैले विगत ५ वर्षे कार्यकालमा गरेका कामले पुनः जिताउँछ । कुसियैत बाम गठबन्धनबाट त्यस बेला सोही क्षेत्रको प्रदेश ९१०बाट प्रदेश सांसद जितेका थिए । कार्की संघमा जितेका थिए । कार्की झन्डै डेढ वर्षदेखि देउवा नेतृत्वको संघीय सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चार मन्त्री छन् भने कुसियैत झन्डै साढे ३ वर्ष प्रदेश १ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री बनेका थिए । दुवैले आफू शक्तिमा रहँदा थुप्रै कामको थालनी गरेको फेहरिस्त सुनाउँछन् । ‘मैले यो क्षेत्रमा ५ वर्षको अवधिमा झन्डै १० अर्बको योजना ल्याएको छु, अहिले पनि काम धमाधम भइरहेको छ,’ सुनसरी क्षेत्र नम्बर ४ को नेपाल भारत सीमा क्षेत्र बंगाली टोलमा कार्यक्रम व्यस्त सञ्चार मन्त्री कार्कीले सामान्य प्रतिक्रिया दिँदै भने, ‘मैले गरेको विकासको काम यहाँका जनताले देख्नु भएको छ, निर्वाचन परिणाम के हुन्छ भन्ने कुरा ७ गते सुन्न आउनु होला, मैले कति हजारको अन्तरले जित्छु त्यहाँ थाहा हुन्छ ।’ कार्कीले आत्मविश्वासका साथ आफू जित्ने बताउँछन् ।
यता, गिरिजाप्रसाद कोइरालासँग पनि निर्वाचन लडेका कुसियैत पनि निर्वाचन जित्नेमा ढुक्क जस्तै देखिन्छन् । ‘चुनावी अभियान सन्तोषजनक छ । प्रदेश सरकारमा भएको बेला ३२ वटा वडामा करोडौँको बजेट ल्याएर काम गरेको छु । विकासको यो मोडल देखेर यस पटक मलाई जिताउने देखेको छु । मलाई यहाँको माटोले चिनेको छ, भूगोलले चिनेको छ । मलाई सबै व्यक्ति व्यक्तिले चिनेका छन्,’ कुसियैत भन्छन्, ‘जसपासँगको गठबन्धनले पनि हामीलाई जित सहज देखिएको छ ।’ ०७४ सालमा जसपाले पनि सहयोग गरेको कारण काँग्रेसले जितेको कुसियैतको दाबी छ ।
सञ्चार मन्त्री कार्कीको व्यस्तता उक्त क्षेत्रमा निक्कै छ । कार्की बिहान ५ बजेदेखि राती ११ बजेसम्म फिल्डमै हुन्छन् । ‘कार्यक्रमको व्यस्तता धेरै छ । बिहानको ५ बजेदेखि राती ११ बजेसम्म खाली छैन,’ उनी भन्छन्, ‘सबै क्षेत्रका साथीहरूलाई एक पटक ज्ञानेन्द्रलाई भेटिहालौँ, देखिहालौँ भन्ने रहेको कारण म धेरै व्यस्त भएको छु ।’ उता कुसियैतलाई पनि निर्वाचनको दौडले एक छिन फुर्सद छैन ।
सुनसरी ४ को निर्वाचन इतिहास
सुनसरी ४ नम्बर क्षेत्रको निर्वाचनमा गिरिजाप्रसाद कोइरालाले काँग्रेसबाट उम्मेदवार बनेर पटक पटक जितेका छन् । कुसियैतले पनि जितेका छन् । २०४८ सालमा नेकपा एमालेको तर्फबाट तत्कालीन नेता उपेन्द्र यादव उम्मेदवार थिए । काँग्रेसका डाक्टर खली आजाद साहले यादवलाई भारी मतले पराजित गरे । ०५१ सालको निर्वाचनमा गिरिजाप्रसाद कोइरालासँग उनै जगदीश कुसियैत पराजित भए । ०५३ सालको उपनिर्वाचनमा कुसियैत निर्वाचित भए । त्यस बेला काँग्रेसका उम्मेदवार हरि सापकोटा पराजित भए । त्यस बेला आफूले झन्डै १० हजार बढी मतले कुसियैतले चुनाव जितेको उनी बताउँछन् । ०५६ सालमा कुसियैत मालेतिर लागेपछि सो क्षेत्रबाट एमालेले महबुब अन्सारीलाई काँग्रेसका गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरायो । निर्वाचन भने कोइरालाले नै जिते ।
त्यसपछि ०६४ सालमा एमालेबाट उम्मेदवार बनेका महबुब अन्सारी र काँग्रेस नेतृ तथा गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजाता कोइरालालाई तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले पराजित गरे । ०७० सालमा पुनः उनै कुसियैत चुनाव लडे । उनलाई यादवले पराजित गरे । ०७४ सालमा बाम गठबन्धनबाट उम्मेदवार बनेका रमेश श्रेष्ठलाई काँग्रेस नेता ज्ञानेन्द्र कार्कीले पराजित गरेका थिए । यस पटक भने जसपाले एमालेलाई समर्थन गरेको छ । अघिल्लो पटक कार्कीलाई नै जसपाले समर्थन गरेको थियो ।
स्थानीय तहको मतको अवस्था
सुनसरी क्षेत्र नम्बर ४ मा रामधुनी नगरपालिकाको वडा नम्बर ४, बराह नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, १० र ११, इनरुवा नगरपालिकाको वडा नम्बर ३, ४ र ८, भोक्राहा र कोशी गाउँपालिका सिङ्गै तथा हरिनगरा गाउँपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र ७ नम्बर वडा पर्दछ ।
सुनसरी ४ नम्बर क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतका आधारमा नेपाली काँग्रेस सबैभन्दा ठुलो दल हो । त्यहाँ काँग्रेसले २८ हजार ७५६ मत पाएको छ । यस्तै एमाले २३ हजार ६१३, जसपाले जसपा ९ हजार ८६३, नेकपा एसले एस ३ हजार ७००, माओवादीले ३ हजार ६४६, राप्रपाले ३ हजार ४५७ र लोसपाले १ हजार ५०४ मत ल्याएको छ ।
यही मतका आधारमा भन्ने हो भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका सञ्चार मन्त्री कार्कीको पक्षमा ३७ हजार ६०६ मत पुग्छ । यस्तै एमाले र जसपाको मत भने त्यहाँ ३३ हजार ४७६ मत रहेको छ । आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्ता गठबन्धन र एमाले गठबन्धनको मत सोही अनुसार कायम रहे सञ्चार मन्त्री कार्की निर्वाचित हुने निश्चित छ ।
क्षेत्रमा पर्ने वडाहरूमा रामधुनी ४ मा एमालेका वडाध्यक्ष छन् । यस्तै वराहक्षेत्रको ६ वटै वडामा काँग्रेस, इनरुवा नगरपालिकाको ३ र ८ नम्बर वडामा एमाले, ४ नम्बर वडामा लोसपाले जित निकालेको छ । यस्तै भोक्राहा नरसिंह गाउँपालिकाको ४ वटा वडामा काँग्रेस, ३ वटामा राप्रपा र नेकपा एसले एउटा वडामा जितेको छ । यस्तै कोशी गाउँपालिकाको ४ वटा वडामा काँग्रेस, जसपा २ वडामा तथा माओवादी र नेकपा एमालेले १÷१ वडामा जित निकालेका छन् । ४ नम्बर क्षेत्रमा पर्ने हरिनगरा गाउँपालिकाको २÷२ वडामा एमाले र काँग्रेस तथा एक एक वटामा जसपा र नेकपा एसले जित निकालेका छन् ।
२०७४ सालको निर्वाचनमा सुनसरी ४ बाट काँग्रेसबाटै उम्मेदवार बनेका कार्कीले बाम गठबन्धनका उम्मेदवार एमालेका रमेश श्रेष्ठलाई झन्डै ७ हजार मत अन्तरले पराजित गरेका थिए । श्रेष्ठले २५ हजार ७५० मत ल्याउँदा कार्कीले ३२ हजार २४७ मत ल्याएर विजयी बनेका थिए । यस्तै राष्ट्रिय जनता पार्टी नेपालका राम नारायण यादवले ५ हजार २० मत ल्याएका थिए ।
जनतामा असन्तुष्टि
हरिनगरा ५ बसन्तटोलका दिनेश कुमार मेहतालाई मनैदेखि खुसी भएर कुनै पनि नेतालाई भोट हाल्न मन छैन । उनले ४ बिगाहा लगाएको धान गत वर्ष कार्तिकमा आएको सुनसरी खोलाको बाढीले बगायो । क्षतिपूर्तिको लागि पालिकामा निवेदन पनि दिए । उनले बाढीले ४ बिगाहा जग्गामा लगाएको धानको १० लाख रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए । तर, क्षतिपूर्ति आएन । त्यसपछि उनी नेताहरू र पार्टीसँग रुष्ट छन् । उनी मात्रै होइन हरिनगरा ६ का रामु मेहताले पनि सोही कारण रुष्ट बनेका छन् । ‘गत वर्ष कार्तिकको बाढीले डुबेको धानको क्षतिपूर्तिका लागि फारम भराइयो । तर, क्षतिपूर्ति एक रुपैयाँ पनि आएन,’ मेहता भन्छन्, ‘नेताहरूले घुसकीमा आएर भाषण गरेका थिए । त्यस बेला क्षतिपूर्ति दिन्छु भनेका थिए । तर अहिलेसम्म आएन ।’ निर्वाचनको अभियानमै रहेका नेताहरूले भने क्षतिपूर्ति दिनका लागि विभिन्न प्रक्रियागत झन्झट भएको कारण किसानले पाउन नसकेको बताएका छन् ।

