विराटनगर । मोरङको जहदा गाउँपालिका २ हरिनगरानजिक रहेको सुकुम्वासी बस्तीका ५५ वर्षीय राजेन्द्र ऋषिदेव धान बिक्री गर्ने तयारीमा छन् । आइतबार दिउँसो सुकुम्वासी बस्ती पुग्दा राजेन्द्र साइकलमा धानको बोरा राखेर विराटनगर जाने तयारीमा थिए ।
अर्काकोमा बनिबुता गरेर दैनिक गुजारा चलाउने उनलाई चुनाव नजिकिएको थाहा नभएको हैन । तर, उनलाई त्यसप्रति खासै चासो छैन ।
तीन दशकदेखि निर्वाचनमा मतदान गर्दै आएका ऋषिदेवले नेता र उम्मेदवारले दिएका आश्वासन पुरा नभएकोले चुनावप्रति उत्साह नभएको बताए । २०३५ सालदेखि बसोबास गरेको जग्गाको लालपुर्जा नपाएका उनी सुकुम्वासी हुन् । जग्गाको पुर्जा भएमा सानोतिनो भए पनि व्यवसाय गर्ने सोचमा रहेका उनीसँग आर्थिक स्रोत छैन ।
दिनहुँ ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका उनको चार जनाको परिवार छ । ‘४० वर्षदेखि पुर्जा दिन्छु भनेर भोट मागेका छन्, चुनाव जितेपछि काम गर्दैनन्’ उनले भने, ‘अहिले फेरि लालपुर्जा दिन्छौँ भन्दै भोट माग्न आएका छन् ।’ जसले पुर्जा दिने लिखित कागज गर्दछ, उसैलाई भोट दिने उनले बताए ।
ऋषिदेव बस्तीका अगुवा रहेका राजेन्द्रले पार्टी होइन व्यक्ति हेरेर भोट दिने बताए । त्यहाँ ४५ घर सुकुम्वासी छन् । ३८ वर्षीय पृथु ऋषिदेव विदेश जाने सोचमा रहे पनि लालपुर्जा नहुँदा बैंक र सहकारीले ऋण नदिएपछि गाउँमै रोकिएका छन् ।
‘आफ्नो जग्गाको प्रमाण नहुँदा बेरोजगार भएर बस्नुपरेको छ’ उनले भने, ‘बुवाको पालामा नै पाउनुपर्ने पुर्जा अहिले पनि पाएका छैनौँ ।’ आश्वासन दिएर हामी गरिबको भोट लिने र त्यसपछि चुनावमा मात्र फर्किएर आउने नेताहरूलाई सबक सिकाउने उनको भनाइ छ । गाउँमा एक दिन भोज खाएको आधारमा भोट दिने प्रचलन गाउँलेले बन्द गर्नुपर्ने उनले बताए ।
ऋषिदेव समुदायको बसोबास रहेको सुकुम्वासी बस्तीको पश्चिमा सिंघीया खोला र पश्चिममा जुडी खोला छ । दुई खोलाको बिचमा रहेको बस्तीमा बर्सेनि डुबानको समस्या हुन्छ । सुनसरी मोरङ सिँचाइ आयोजना र तीन वटा ठुला पोखरी नजिकै रहेको बस्तीका २ जनाले डुबेर ज्यान गुमाएका छन् ।
सिंघीया र जुडी खोलामा आएको बाढी ऋषिदेव बस्तीमा छिर्दा उनीहरू डुबानको मारमा छन् । ४५ घर सुकुम्वासीहरूले ज्यानै लिने तीन वटा पोखरी पुरिदिन माग राखेका छन् । स्थानीय सरकारदेखि प्रदेश र संघका उम्मेदवार घरदैलोमा भोट माग्ने आउने क्रममा उनीहरूले पोखरी देखाउँदै पुर्न माग राख्ने गरेका छन् ।
विराटनगर र जहदा गाउँपालिका जोड्ने जुडीको खोलाको पुल निर्माण सुरु भएको पाँच वर्ष पुरा भइसक्दा काम सकिएको छैन । आइतबार दिउँसो मोरङ क्षेत्र नं। ४ (२) का प्रदेशसभा सदस्य उम्मेदवार नेपाली काँग्रेसका अमृत अर्याल भोट माग्न जहदा २ हरिनगरामा पुग्दा स्थानीयले पुलको निर्माणदेखि सिचाइ र सडक कालोपत्रे गर्नुपर्ने माग राखे ।
जहदा का नागेशवर गुरूङ्गले बर्खामा आवतजावत हुने जुडी खोलाको पुल निर्माण पुरा गर्नेलाई भोट दिने बताए । ‘बर्खा याममा पुल नहुँदा जहदा गाउँपालिका जान सकिँदैन’ उनले भने, ‘त्यही भएर यहाँ पुलको जरुरी छ, पुल बनाइदिनेलाई हामी भोट दिनेछौँ ।’

