काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावले संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताएका छन् ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आइतबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डलेआसन्न निर्वाचनमा संविधानको रक्षा गर्ने वाम–लोकतान्त्रिकको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गरे ।
“एउटा गठबन्धन केपी ओलीले नेतृत्वको छ । जहाँ संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको छ”, उनले भने, “अर्को गठबन्धन मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छ जसले संविधानको रक्षा गर्दै आएको छ, अबको चुनावमा जनताले संविधानको विरोधीलाई परास्त गर्नुपर्छ ।”
प्रचण्डले बुढीगण्डकी जलविद्युत् आयोजना सम्पन्न गर्नेतर्फ आफ्नो ध्यान मुख्य रुपमा केन्द्रित भएको बताए ।
“राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बुढीगण्डकी आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्नेमा म प्रतिबद्ध छु”, उनले भने, “त्यसका लागि आवश्यक पहल गर्नेछु ।” उनले आफू कुनै निश्चित क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि यहाँ आएको बताए । “प्राविधिक कारणले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेको छु”, उनले भने, “तर म कुनै विशेष क्षेत्रभन्दा पनि समग्र गोरखाको विकासका लागि गोरखा आएको हुँ ।”