विराटनगर । उद्योग व्यवसायमा जमेको मारवाडी समुदाय राजनीतिमा कमै मात्र सक्रिय रहने गरेको छ । सहि नीतिको अभाब र राजनीतिज्ञहरुले ठिक ढंगले काम नगर्दा मुलुकमा आर्थिक समस्या बढिरहेको उद्योगी व्यवसायीले बताउँने गरेका छन् ।

विराटनगरको व्यवसायी घरानाबाट यसअघि पनि धेरै जना सांसद भइसकेका छन् । दिवाकर गोल्छा, राज्यलक्ष्मी गोल्छा, पवन सारडाहरुले संविधानसभामा प्रतिनिधित्व पाएका थिए । मोती दुगढ प्रतिनिधिसभामा पुगेर राज्यमन्त्रीसमेत भए । तर, उद्योगी व्यवासयीको समस्या उनीहरु नेतृत्वमा पुग्दा पनि उस्तै रह्यो ।

समाज बदल्ने सोच लिएका उद्यमी अरुण राठी भने राजनीतिक नेतृत्वमा सक्रियतापूर्वक लाग्नसके मात्र तमाम समस्या समाधान हुने बताउँछन् । सामाजिक क्षेत्रमा सक्रिय उनी अहिले प्रदेशसभाको उम्मेदवार बनेका छन् । केहि वर्ष अघिसम्म राजनीतिबाट टाढै रहेका उनी अहिले भने सक्रिय कार्यकर्ता बनेका छन् ।

कलकत्ताबाट अध्ययन सकेर नेपाल फर्किउपछि उनले उद्योग व्यवसायसँगै शिक्षा र स्वास्थ्य क्षेत्रमा हात हालेका छन् । इस्टर्न इन्जिनियरिङ कलेज, दिल्ली पब्लिक स्कुल विराटनगर र कुलेश्वर, हेरिटेज इन्टरनेसनल विराटनगरमा आबद्ध उनकै सोचमा विराट नर्सिङ होम स्थापित भएको थियो । राठी वायर, राठी स्वीच जस्ता थुप्रै उद्योगका उनी सञ्चालक हुन् ।

हजुरबुबा रामाकिसन राठी, बुबा युगलकिशोर राठीको प्रेरणा र योगदानबाट समाजमा स्थापित उनको परिवारले अथिति सदन, सत्यनारायण विद्यालय, सत्यनारायण मन्दिर, राम जानकी मन्दिर र धर्मशालाहरु बनाउन ठुलो योगदान गरेको थियो । २०२४ सालमा जन्मिएका राठी अबको १० वर्ष राजनीतिमार्फत समाजसेवा गर्ने र आफ्ना योजनाहरु कार्यान्वयन गर्ने उद्देश्यसहित चुनावी मैदानमा छन् ।

नेकपा एमालेले राठीलाई प्रदेशसभाको समानुपातिक उम्मेदवार बनाएको छ । क्याँसलेस अर्थतन्त्रको सुरुवात गर्ने योजनासहित चुनाबी अभियानमा रहेको उनले बताए । भ्रष्टचार रोक्न र सुशासन कायम गर्न यो अभियान महत्वपूर्ण रहेको उनको भनाइ छ ।

औद्योगिक वातावरणको निर्माण र गुणस्तरीय तथा प्राविधिक शिक्षामा जोड दिने एजेन्डा पनि उनले अगाडि सारेका छन् ।