यस पटक जीवन आचार्यलाई टेस्ट गरौं

 गोकुल पराजुली

मंसिर ४ गते आम निर्वाचन हुँदैछ । निर्वाचनको तयारीमा उम्मेदवारहरु कस्सिएर लागेका छन् । गाउँ, टोल, घरघरमा उम्मेदवारहरु पुग्ने प्रयत्न गरिरहेका छन् । उम्मेदवारहरुको बारेमा चोक चौतारो सबैतिर चर्चा चलिरहेको छ । यो यस्तो, त्यो उस्तो आदि इत्यादि कुरा गरेर उम्मेदवारको रौंचिरा केलाउने काममा मतदाताहरु सक्रिय छन् ।

यो चुनावमा कसैले ‘नो नट अगेन’ भनेका छन् । कसैले स्वतन्त्र भनेका छन् । कसैले सँधै यिनैलाई किन पनि भनेका छन् । अनेकथरी भन्नेहरु छन् समाजमा । लोकतन्त्रको सुन्दरता पनि हो यो कि हरेकले आफूलाई लागेको अभिव्यक्ति दिइरहेको छ ।

चुनावमा सबैभन्दा सजिलै बिक्ने शव्द हो युवा उम्मेदवार । हिजो ७५ वर्ष पार गरेका गिरिजाप्रसाद कोइराला र त्यस्तै उमेरका नेता सुसिल कोइरालालाई युवा उम्मेदवार भनियो भनेर मतदाताहरुले साँच्चैको युवा उम्मेदवार खोज्न थाले । पछिल्लो समयमा दलहरुले उमेरमै युवाहरुलाई उम्मेदवारको रुपमा अगाडि सार्ने क्रमलाई बढाइरहेका छन् । त्यसै मेसोमा मोरङको निर्वाचन क्षेत्र नम्बर ६(१) मा गठबन्धन दलहरुको तर्फबाट जीवन आचार्य साझा उम्मेदवार बनेका छन् । उनी मतदाताहरुको माग बमोजिमका साँच्चैका युवा उम्मेदवार हुन् । ४० वर्ष भन्दा कम उमेरका उनी उमेरले त युवा हुँदैहुन् परिवर्तनकारी सोच राख्ने भएकाले सचेत युवा पनि हुन् ।

पढेलेखेका मानिसहरु राजनीतिमा आवद्ध हुँदै नीतिगत तहमा पुग्नु पर्ने अर्को माग मतदाताहरुको छ । त्यस अर्थमा उनी विश्वविद्यालयबाट स्नातकोत्तर गरेका शिक्षित युवा भएकाले उनी मतदाताहरुको माग बमोजिमकै उम्मेदवार हुन् ।
राजनीतिमा युवाकर्षण घट्दै गएको खडेरीमा राजनीतिमा युवा आकर्षण बढाउने उएटा नयाँ टेष्ट पनि हुन् उनी ।
अहिले ‘नो नट अगेन’ भन्ने भाष्य चर्चामा छ । उनी जुन जिम्मेवारीका लागि प्रयासरत छन् उनी यस अघि कहिल्यै त्यो जिम्मेवारीमा नपुगेका कारण पनि त्यो भाष्यभित्र नपर्ने नयाँ पात्र हुन् । त्यस कारण मोरङ ६(१) का मतदाताका लागि जीवन आचार्य यस पटक छान्नै पर्ने उम्मेदवारको रुपमा आएका छन् भन्दा कुनै अत्युक्ति हुँदैन ।

चुनावमा मतदाताले गर्ने अर्को प्रश्न हो तिमीले के गरेका छौ र मत दिनपर्ने ? आचार्यसँग त्यसको पनि जवाफ छ । किनभने उनी अघिल्लो निर्वाचनमा झिनो मतान्तरले जनप्रतिनिधि बन्नबाट रोकिए । तर, उनी आफ्ना मतदाताहरुप्रति गैरजिम्मेवार रहेनन् । चुनाव लगतैको कोरोना महामारीमा आचार्यले आफ्नो क्षमताले भ्याएसम्मको सहयोग गरे । कोरोना महामारीका समयमा बन्दी बनेका विपन्नहरुका राहातका लागि निर्वाचन क्षेत्रका १४ वटै वडाहरुमा उनले खाद्यान्न सहयोग गरे । त्यसपछिका दिनहरुमा पनि विपन्न र दलित बस्तीहरु उनको नजरमा सँधै परिरह्यो । डुवान र बाढीको बेला विपन्न बस्तीहरुको एउटा भरोसाको व्यक्ति बनेर जीवन आचार्यले सामाजिक दायित्व निर्वाह गरे ।

जीवन आचार्यसँग मतदाताहरुको अली बढी अपेक्षा पनि रहने गरेको पाइन्छ । राजनीतिक पहुँचका कारण विकास निर्माणमा नेतृत्व गरुन् भन्ने मतदाताहरुको सुशुप्त चाहना यतिबेला प्रकटरुपमै देख्न सकिन्छ । त्यो अस्वभाविक पनि होइन । मानिसहरुले पछिल्लो समय विकासको मोडलको रुपमा चितवनको भरतपुरलाई लिने गरेका छन् । आचार्य भरतपुरसँग जोडिएकै पात्र भएका कारण उनको जितलाई विकास ल्याउने एउटा आधारको रुपमा मतदाताहरुले बुझेका छन् । यो केवल अनुमानको मात्र कुरा होइन । हिजो थोरै मतान्तरले निर्वाचित हुनबाट रोकिएपछि पनि उनले आफ्नो क्षेत्रमा थुप्रै विकासका योजनाहरु ल्याएका छन् । बिजुली बाल्न नपाएकाहरुलाई तुरुन्त पहल गरेर ट्रान्सफर्मर जडान गर्नेदेखि विद्युत विस्तार गर्ने काममा अगुवाई गरेका छन् । खाने पानीको योजना ल्याएर स्थानीयको समस्या समाधानका लागि प्रयत्न गरेका छन् । सडक र बाटोघाटोको थुप्रै योजना उनको पहलबाट आएको त्यस क्षेत्रमा आएको छ ।

राजनीतिमा सत्ता प्रमुख कुरा हुन्छ । सत्ता हुनेसँग स्रोत, साधन, पहुँच र अधिकार सबै हुन्छ । हारेको नेता र हारेको जुवाडे एउटै हो भनिन्छ । हारेकासँग जनताको खास अपेक्षा पनि हुँदैन र गर्नसक्ने ठूलो सामथ्र्य पनि रहँदैन । तर जीवन आचार्यले वितेको पाँच वर्ष त्यस्तो छुट पाएनन् । आफ्ना क्षेत्रका कार्यकर्ताले अह्राएको काम गरिदिनु पर्ने, मागेको योजनामा पहल गरेर ल्याइदिनु पर्ने, विपद्मा परेका नागरिकलाई सहयोग गरिदिनुपर्ने जिम्मेवारी उनको काँधमा सँधै रह्यो । त्यसैले पनि उनका लागि यो अवधि परिपक्व नेता बन्ने अवसरको रह्यो । जनताको सेवा गर्ने अवसरको रुपमा पनि उनले यस अवधिलाई लिए ।

यद्यपि उनी कमजोरीरहित भने छैनन् । हामी सबैमा कुनै न कुनै कमजोरी हुन्छ । कमजोरी पहिचान भएपछि सच्याउन प्रेरित हुन्छ कि हुँदैन भन्ने मुख्य कुरा हो । मतदाताहरुले उनीप्रति टेलिफोन रेस्पोन्स नगर्ने गरेको गुनासो औंल्याउने गरेका छन् । टेलिफोन नम्बरसहितको भिजिटिङ कार्ड मतदाताहरुलाई उपलब्ध गराएर गुनासो सम्बोधन गर्ने र कमजोरी सच्याउने प्रयत्न गरेका छन् । यसले पनि उनी परिवर्तन हुन सक्ने युवा नेता हुन् भन्न सकिन्छ । त्यस कारण यस पटक मोरङ ६(१) का मतदाताले आचार्यलाई टेस्ट गरेर हेर्नु पर्छ । जुन जोगी आएपनि काँनै चिरेका भन्ने उखान यी युवाले अवश्य नदोहो¥याउलान् । यदि त्यस्तै गरेछन् भने २०८४ को आम चुनावमा हामी सबै मिलेर भनौंला ‘नो नट अगेन’ ।

आइतबार, २७ कार्तिक, २०७९

प्रतिक्रिया

  1. टेस्ट गर्न यो कुनै एक छाक को सब्जी त होइन होला? ५बर्से कार्यकाल हो।
    माओवादीले उ बेला गरेको हर्कत र व्यबारले आज पनि मन अघाएको छ। सत्ताको 1न.पार्टी बनेकै हो त खोइ के पाए नेपाली जनताले उही 17000को खुन?

प्रतिक्रिया:

सम्बन्धित खवर