सम्पादकीय

अस्पताल पूर्वाधारको निर्माणमा ध्यान देउ

कोशी अस्पताल विराटनगरमा निर्माणाधीन दुई वटा ठूला भवन निर्माणको काम अलपत्र परेको छ । अस्पतालको पुरानो भवन जहाँ सर्जिकल र मेडिकल वार्डहरु सञ्चालन भइरहेको थियो त्यो भवन भत्काइएको छ । त्यस ठाउँमा ५ तले भवन निर्माण गर्ने योजना छ । तर, भवन भत्काएको महिनौं बितिसक्दा पनि भवन निर्माणको काम अघि बढेको छैन । भएको भवन भत्काएपछि कोसी अस्पतालबाट प्रवाह हुने सेवा अप्ठ्यारोबाट गुज्रीरहेको छ । एउटा सानो भवनबाट बहिरंग सेवा, ल्याब सेवा र मेडिकल तथा सर्जिकल वार्डमा राखेर उपचार गर्ने सेवा प्रवाह गर्नुपर्ने बाध्यता छ ।

साँघुरो ठाउँबाट सेवा दिनुपर्दा अस्पताल प्रशासनलाई मात्र समस्या छैन सेवाग्राही झन् बढी पीडित बन्नु पर्ने अवस्था छ । अर्कोतिर सर्वसाधारणले सहजरुपमा उपचार सेवानै पाउन नसक्ने अवस्था बनेको छ ।

अर्को पाँच तले भवन निर्माणको काम प्रारम्भिक चरणमै अड्किएको छ । ठेकेदार कम्पनीले फाउण्डेसन चरणको काम गर्दागर्दै छोडेर भाग्ने र फेरि केही दिन सञ्चालन गर्ने अनि छोड्ने क्रम दोहोरिरहेको छ । यो प्रक्रियाबाट अस्पताल भवनको काम समयमा सम्पन्न हुने अपेक्षा गर्न सकिदैन ।

विराटनगरका ठूला मेडिकल कलेजहरुले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न बन्द गरेका छन् । निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन नगरेका कारण कोसी अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालले स्थान अभावका कारण चाहेर पनि सेवालाई सहज र व्यवस्थित बनाउन सकेको छैन । त्यस कारण अस्पतालको व्यवस्थापन र सञ्चालन गर्ने जिम्मेवारी लिएको सञ्चालक समिति गम्भीर बन्नु पर्ने देखिन्छ ।

अस्पताल सञ्चालन समितिमा राजनीतिक हुने भएकोले त्यहाँको आन्तरिक द्वन्द्वले पनि अस्पतालको सुधारमा समस्या भएको देखिन्छ । सरकारले नियुक्त गरेको दुई छुट्टाछुट्टै समितिका कारण हुने द्वन्द्वले अस्पताललाई सहज सञ्चालन गर्न कतिपय बेलामा अवरोध गरिरहेको छ । त्यसलाई सहज बनाउने तर्फ सरोकारवाला पक्ष र राजनीतिक दलहरुले पहल गर्नुपर्छ ।

कोशी अस्पतालमा गत वर्ष अमेरिकी सेनाको सहयोगमा निर्माण भएको नयाँ भवनमा प्रसुती सेवा सञ्चालन भएको छ । जसले अस्पतालको एउटा ठूलो समस्या समाधान गर्न योगदान पुगेको छ । तर अरु थुप्रै सेवाहरु स्थान अभावकै कारण सञ्चालन हुन सकेको छैन । सिटीस्क्यान सेवा सञ्चालनमा आएको छैन । स्थान अभावकै कारण स्वास्थ्य विभागले किनेर राखेको एमआरआई मेसिन अस्पतालले ल्याउने आँट गरेको छैन । बिरामीको चाप अनुसार अस्पतालले फार्मेसी सेवालाई बिस्तार गर्न नसक्दा बिमा सुविधामा पाइने औषधि लिन बिरामीहरु घण्टौं लाइनमा बस्न बाध्य भएका छन् । त्यसलाई सुधार गर्ने तर्फ अस्पताल प्रशासन र सञ्चालक समिति गम्भीर बन्नु पर्छ ।

अस्पताललाई अहिले थुप्रै पूर्वाधारको आवश्यकता छ । अस्पतालले पूर्वाधारको अभाव झेलिरहेको छ । सँगसँगै भएका पूर्वाधारहरुको उचित सदुपयोग गर्ने र त्यसलाई जनताको पक्षमा उपयोग गर्ने तर्फ पनि अस्पतालले ध्यान दिएको छैन । दाताहरुले केही वर्ष अघि लाखौं खर्च गरेर बनाइदिएको अस्पतालजन्य फोहोर बिसर्जन गर्ने ‘इन्सिनेरेटर प्लान्ट’ लामो समय बन्द राखेर त्यसको सदुपयोग गरिएको छैन । नयाँ हुँदा चलाउने तर त्यसको निरन्तर प्रयोग नगर्ने खराब अभ्यास कोशी अस्पतालले धेरै कुरामा गरेको तितो विगत अबका दिनमा दोहोरिनु हुन्न । कोशी अस्पतालमा सुधार गर्नुपर्ने अरु कैयन विषयहरु छन् । सञ्चालक समिति र अस्पताल व्यवस्थापनको ध्यान त्यस तर्फ जानुपर्छ ।

आइतबार, २७ कार्तिक, २०७९, बिहानको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर