विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ६ स्थित रामपुर चौकमा समाचार संकलनका लागि गएका पत्रकार निरोज मल्ल ठकुरी माथि दुर्व्यवहार भएको छ । समाचार संकलनको क्रममा गएका पत्रकार मल्ल माथि नेकपा एमालेका कार्यकर्ता लालबाबु साहले दुर्व्यवहार गरेका हुन् ।

शुक्रबार साँझ रामपुर चोकमा स्थानीयबीचमा गम्भीर झडप भएको सूचना स्रोतबाट प्राप्त भए पछि समाचार संकलनको लागि गएको मल्ललाई स्थानीय साहले अश्लील शब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए ।

महानगर स्तरीय ठेक्का–पट्टा गर्दै आएको साहले पत्रकार मल्लले संकलन गरेको समाचार तथा कैद गरेको भिडियो छिट्टो डिलिट गर्न दबाब दिएका थिए । भिडियो डिलिट नगरे त्यसको परिणाम जे सुकै हुने भन्दै धम्की समेत दिएको मल्लले बताए । रामपुरको स्थानीयसँग झगडा गर्न ठूलो समूहसहित उपस्थित साहले पत्रकार मल्लविरुद्ध हातपात गर्न समेत उक्साएका थिए ।

पत्रकार मल्ल माथि भएको दुव्र्यवहारको घटना निन्दनीय भएको प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्यले बताए । उनले पत्रकारले समाचार संकलनमा गएकै र भिडियो खिचेकै आधारमा धाक धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताए । ‘विराटनगरमा विगतमा पनि संचारकर्मीहरुमाथि समाचार प्रकाशन प्रसारण भएकै आधारमा धाक धम्की मात्रै होइन, आक्रमण पनि खेप्नु परेको थियो,’ आचार्यले भने, ‘त्यसका विरुद्ध लामो आन्दोलन र संघर्षपछि केही कम भएको आक्रमणका घटना फेरि सुरु हुनु दुःखद हो, संचारकर्मी समक्ष साहले माफी माग्नुपर्छ ।’