धनकुटा । सप्तरी प्रहरीले झण्डै एक महिना अघि एउटा एम्बुलेन्स नियन्त्रणमा लियो । धनकुटा क्षेत्रका बासिन्दाका लागि सेवा दिने उद्देश्यले भन्सार छुटमा ल्याएको एम्बुलेन्स लामो समयदेखि सप्तरी र राजविराज आसपासमा सञ्चालन भइरहेको थियो । को १ च ५६१९ नम्बरको टाटा सुमो एम्बुलेन्स र चालकको गतिविधि निगरानी गरेको प्रहरीले  ब्यापक दुरुपयोग गरेको भन्दै एम्बुलेन्स नियन्त्रणमा लिएको हो । प्रहरीले एम्बुलेन्स नियन्त्रणमा लिएको झण्डै  महिनादिन बितिसक्दा पनि सम्बन्धित संस्थाले खोजी नगर्दा प्रहरी अलमलमा परेको छ ।

प्रहरीले धनकुटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नाममा रहेको एम्बुलेन्स धनकुटा मोडल अस्पतालले सञ्चालन गर्ने सहमति भएको थियो । अस्पतालका अध्यक्ष इन्द्रमणि पराजुलीले सहकारीबाट एम्बुलेन्स प्राप्त भएलगतै ५ लाख ५० हजार रुपैयाँ लिएर स्थानीय व्यक्तिलाई २० वर्षका लागि लिजमा दिएका थिए । सहकारी संस्थाले राज्यबाट कर छुटमा लिएको एम्बुलेन्स अस्पताललाई सञ्चालन गर्न दिएकोमा अध्यक्षले नै सबै अधिकार व्यक्तिमा रहने गरी एम्बुलेन्स बुझाइदिएपछि सहकारी र अस्पतालको रेकर्डमा बाहेक धनकुटामा त्यो एम्बुलेन्स कहिल्यै नचलेको अस्पतालका एक कर्मचारीले बताएका छन् । ‘सहकारीले अस्पतालका लागि एम्बुलेन्स दिएकोसम्म सुनेका हौं तर रातो छ कि कालो हामीले देख्न पाएनौं । कसले चलाउँदै छ भन्ने पनि हामीलाई थाहा छैन ।’

धनकुटा मोडल अस्पतालका सञ्चालनमा सहज हुने र स्थानीय जनतालाई पनि सेवा दिन सकिने उद्देश्यले सहकारीले एम्बुलेन्स उपलब्ध गराएको थियो । तर, मोडल अस्पतालले उक्त एम्बुलेन्स एक महिना पनि राम्ररी सञ्चालन गरेन । अध्यक्ष पराजुलीले एम्बुलेन्स स्थानीय पवन गुरुङलाई २० वर्षका लागि लिजमा दिने सम्झौता गरिदिए । त्यसबापत ५ लाख ५० हजार रुपैयाँ धरौटी राख्नु पर्ने करार पत्रमा उल्लेख छ । अस्पतालका अध्यक्षसँग सम्झौता गरेर एम्बुलेन्स लिएका गुरुङले केही समय चलाएपछि धरानमा फार्मेसी सञ्चालन गर्दै आएका चिनजानका साथी साजन चौधरीलाई दिए । धनकुटाका लागि खरिद गरेको एम्बुलेन्स २०७३ सालको अन्तिमबाटै धरानतिर बसाइँ स¥यो ।

धरानका औषधि व्यवसायी चौधरीले पनि एउटा चालकलाई एम्बुलेन्स जिम्मा लगाए । चालकले एम्बुलेन्स सप्तरीतिर पु¥याए । धनकुटाका जनतालाई सेवा दिने उद्देश्यले खरिद गरेको एम्बुलेन्स लामो समय राजविराज क्षेत्रमा कुदेपछि प्रहरीले निगरानी बढाउँदा एम्बुलेन्स सञ्चालनको चाला निको देखेन । चालकले एम्बुलेन्सको ब्यापक दुरुपयोग गर्ने, एम्बुलेन्सलाई गजडीको अखडा बनाउने जस्ता गतिविधि भएको ठहर गर्दै प्रहरीले नियन्त्रणमा लियो । सुरुमा चालकसहित एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले चालकलाई केही दिन हिराशतमा राखेर छोडेको छ । प्रहरीले आवश्यक कागजातसहित एम्बुलेन्स बुझ्न आउनु भनेर सहकारी र मोडल अस्पताल दुवैलाई खबर गरेको भएपनि दुवै संस्थाले एम्बुलेन्स फिर्ता ल्याउन कुनै चासो दिएको छैन ।

सहकारी संस्थाले २०७३ सालमा एम्बुलेन्स खरिद गरेर मोडल अस्पताललाई दिएको थियो । अस्पतालल लगतै स्थानीय व्यक्तिलाई गाडी जिम्मा दियो भने उक्त व्यक्तिबाट अन्यत्र सर्दै एम्बुलेन्स सप्तरी पुगेको थियो ।

अस्पतालले २० वर्षका लागि करार गरेर एम्बुलेन्स व्यक्तिलाई हस्तान्तरण गरेका कारण उक्त एम्बुलेनस संस्थामा फिर्ता आउने सम्भावना नरहेको अस्पतालको बुझाइ देखिन्छ । सवारी साधन सञ्चालन गर्न पाउने वैधानिक अवधि २० वर्षभन्दा बढी नहुने भएका कारण मोडल अस्पतालले सहकारीको उक्त एम्बुलेन्स घुमाउरो ढंगले व्यक्तिलाई न्यूनम मूल्यमा बिक्री गरेको स्थानीयले बताएका छन् ।

एकमुष्ठ ५ लाख ५० हजार रुपैयाँ धरौटी राखेर एम्बुलेन्स सञ्चालन गर्न दिएको सम्झौता पत्र बनाएपनि मासिक रुपमा भाडा तिरेर एम्बुलेनस चलाइरहेको धनकुटाका प्रभात गुरुङले बताए । ‘मैले सम्झौता गरेर एम्बुलेन्स भाडामा चलाएको हुँ, जतिगर्दा पनि सफल हुन नसकेपछि मैले धरानको साथीलाई सम्झौता गरेर चलाउँन दिएँ । अहिले एम्बुलेन्स प्रहरीले पक्राउ गरेको छ भन्ने सुनेको छु तर सबै कुरा बुझेको छैन ।’

प्रहरीले संस्थाले औपचारिक पत्र पठाए नियन्त्रणमा लिएको एम्बुलेन्स छोडिदिने बताएको छ । धरानका औषधि व्यवसायी साजन चौधरीले भने ‘संस्थाले पत्र लेखेर एम्बुलेन्स छुटाउन पहल गरेको छैन, किन उसले आफ्नो गाडी माया मारिरहेको छ भन्ने कुरा मैले बुझिरहेको छैन ।’

धनकुटा मोडल अस्पतालको अध्यक्ष रहेका पराजुली २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि उनी प्रदेशसभा सदस्य पदका लागि नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका छन् । धनकुटा बचत तथा सहकारी संस्थाले खरिद गरेको एम्बुलेन्स दुरुपयोग गरेको विषयमा सहकारी संस्था पनि असन्तुष्ट देखिएको सहकारीका सदस्यहरुले बताएका छन् । उनीहरुले समाजमा सकारात्मक परिवर्तन ल्याउन भन्दै हिडेका नेताहरुको व्यवहारबाट यस्तो व्यवहारको अपेक्षा नगरिएको बताएका छन् ।

धनकुटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेम घिमिरेले कानुनीरुपमा एम्बुलेन्स सहकारीको नाममा भएपनि करार सम्झौता अनुसार धनकुटा मोडल अस्पतालले सञ्चालन लगायत सबै जिम्मेवारी वहन गर्नुपर्ने बताए । ‘हामीले करार सम्झौता गरेर २० वर्षका लागि दिएका हौं, दसैं अगाडिनै एम्बुलेन्स प्रहरीको नियन्त्रणमा गएको हामीले जानकारी पायौं तर किन त्यसलाई छुटाउन पहल भइरहेको छैन भन्ने बुझेका छैनौं,’ अध्यक्ष घिमिरेले भने ‘हामीसँग पत्र दिनुप¥यो भन्ने कुरा आएको थियो तर त्यो प्रक्रियाबाट नआएकोले दिएका छैनौं । साथीहरु यतिबेला चुनावको रन्कोमा भएपनि नभ्याउनुभएको होला चुनाव पछि त्यसमा हामी पनि ध्यान दिन्छौं । कतै उभिइदिनुपर्छ भने उभिदिन्छौं ।’