धरान । चुनावी अभियानमा पूर्व दौडाहामा रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुनसरी क्षेत्र नं. १ मा एमाले छोडेर स्वतन्त्र उम्मेदवार बनेका मनोजकुमार मेन्याङ्बोविरुद्ध आक्रोश व्यक्त गरेका छन् ।
पार्टी निर्णयविरुद्ध उठेर स्वतन्त्र भएकाहरुलाई एमालेका मतदाताले भोट नदिने दावी गर्दै ओलीले पार्टीको सहयोग पाउने भ्रम नपाल्न चेतावनी दिए । मेन्याङ्बोलाई उम्मेदवार बन्न पार्टीले आग्रह गर्दा सुरुमा अस्वीकार गरेको र पछि बागी बनेको ओलीले बताए । उनले भने ‘समयमा काम गर भन्दा नगर्ने, समयमा उम्मेदवार हौं भन्दा नहुने अनि दिँदा खेरि नखाने र राति उठेर कोल चाट्ने ?’
सुनसरी १ मा एमालेले जनता समाजवादी पार्टीका अशोक राईलाई समर्थन गरेपछि एमाले नेता एवं पूर्वमेयर मनोज मेन्याङ्बोले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई केहि एमाले कार्यकर्ताहरुको पनि समर्थन देखिएको बेला आज धरान आएर ओलीले एमालेको समर्थन पाएका उम्मेदवारलाई दायाँबायाँ नगरि मत हाल्न कार्यकर्तालाई निर्देशन दिए ।
दलीय व्यवस्था, लोकतन्त्र र प्रजातन्त्रका विरुद्ध षड्यन्त्रस्वरुप स्वतन्त्र अभियान चलाइएको भन्दै ओलीले यो व्यवस्था विरोधी अभियान भएको टिप्पणी गरे । ‘यस्तो अभियानको भ्रममा पर्नु हुँदैन, अहिले साथीहरु कोही भ्रममा नपर्नु होला, नेकपा एमाले एउटा अनुशासित पार्टी हो’ उनको भनाइ थियो ।
एमाले अध्यक्ष ओलीले नेकपा एमाले छाडेर अशोक राईले सम्भावना समाप्त पारे पनि एमालेसँग मिलेपछि पुनः सम्भावना सुरु भएको बताए । राई एमालेमा हुँदा पटकपटक मन्त्री भएको बताउँदै उनले एमालेसँग मिल्दा मात्रै पनि आगामी सम्भावना सुरु उल्लेख गरे । राईलाई विजयी बनाएर पठाए धरानको समग्र विकास हुने उनको दावी थियो ।
धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने भन्दै ओलीले मंसिर ४ पछि आयोजना सुरु गर्ने दावी गरे । उम्मेदवार अशोक राईले एमाले कार्यकर्ताहरुलाई अनुरोध गदैं छातामा मत हाल्नु खर्च नभई लगानी हुने बताए । सुनसरी १ मा एमालेजनहरुले अहिले लगानी गरे त्यसको प्रतिफल दिने उनको भनाइ थियो ।