विराटनगर । विराटनगर–५ मा रहेको जामुनगाँछीमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको स्वागत भएको छ । उक्त क्षेत्रलाई स्थानीयले नेता निषेधित क्षेत्र घोषणा गरेका थिए ।

मोरङ क्षेत्र नम्बर–६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका कोइरालालाई स्थानीयले नेता निषेधित भनिएको क्षेत्रमा स्वागत गरेका हुन् ।

प्रदेशसभा सदस्यका उम्मेदवार केदार कार्की लगायतका नेतासँगै कोइराला चुनाव प्रचारका लागि जामुनगाँछी पुगेका थिए ।

हुलाकी सडकअन्तर्गत पर्ने जामुनेश्वर चोकदेखि केसलिया पुलसम्मलाई स्थानीयले नेता निषेधित क्षेत्र घोषणा गरेका थिए ।

सडक निर्माणको माग गर्दै सो क्षेत्रमा नेताहरुलाई प्रवेशमा रोक लगाएर स्थानीयले आन्दोलन गर्दै आएका थिए । कोइरालाले जितेर गएपछि सडक निर्माण हुने देखेर स्वागत गरिएको स्थानीय सुमन भट्टराईले बताए ।

कोइराला राष्ट्रिय नेता भएकाले आफ्नो क्षेत्र मात्रै नभएर मोरङकै विकासमा अहम् भूमिका खेल्ने अपेक्षा गरेको उनले बताए । ‘हामीले अरु नेतालाई यस क्षेत्रमा बहिष्कार गर्दै आएका छौं’, भट्टराईले भने, ‘शेखर कोइरालाले यो सडक बनाउनुहुन्छ भन्ने विश्वास लागेर स्वागत गरेका हौं ।’

यसअघिको चुनावमा नेकपा एमालेबाट जितेर गएका लालबाबु पण्डित सो क्षेत्रमा अहिलेसम्म नआएको स्थानीय रुक्मिणीदेवी कार्कीले बताइन् ।

स्थानीयको समस्या सुनेपछि सम्बोधन गरेका कोइरालाले आफूले जिते जामुनगाँछी सडक निर्माणलाई तीव्रता दिने प्रतिबद्धता जनाए ।

कांग्रेसले घोषणा पत्रमा उल्लेख गरेको ‘कोखदेखि शोकसम्म’को योजनालाई सम्बोधन हुने गरी आफुले काम गर्ने कोइरालाले बताए । ‘मलाई आश्वासन दिन आउँदैन, झुटो बोल्न पनि आउँदैन र नहुने कुरा म बोल्दिन’, कोइरालाले भने ।