सुनसरी । सुनसरी–१ बाट मुक्सामहाङ मेन्याङ्बो (मुकेश) पाँच दलीय सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा माओवादी केन्द्रका उम्मेदवार छन् । उनी चुनावी अभियानका क्रममा जनताको घरदैलोमा त पुगेका छन् नै सँगसँगै आफू निर्वाचित हुनेमा पनि ढुक्क देखिन्छन् ।

यो क्षेत्रमा एमाले र जसपाले गठबन्धन बनाएका छन् । उक्त गठबन्धनबाट केही वर्षअघि एमाले छाडेका अशोक राई उम्मेदवार छन् । त्यसैगरी एमालेबाटै धरानका स्थापित नेता मनोज मेन्याङ्बोले बागी उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । जसका कारण अशोक राईले पाउने भोट मनोजले काट्ने देखिन्छ । उक्त गठबन्धनमा अशोक राई र मनोज मेन्याङ्बोबीच नै प्रतिस्पर्धा हुँदा मुकेशले सहजै चुनाव जित्ने विश्लेषण यो क्षेत्रका जानकारको छ ।

एमाले छाडेर हिँडेका अशोक राईलाई एमालेका मतदाताले भोट दिने सम्भावना एकदमै कम छ । अर्कातर्फ धरानका पूर्वमेयरसमेत रहेका मनोजको बागी उम्मेदवारीले अशोकलाई थप समस्या थपेको छ । जसको सोझो फाइदा माओवादी केन्द्रका उम्मेदवार मुकेशले पाउने अवस्था छ ।
स्थानीय चुनावको मत विश्लेषण गर्दा पनि सत्ता गठबन्धन नै अगाडि छ । स्थानीय चुनावमा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले जिते पनि दोस्रो मत गठबन्धनबाट नेपाली कांग्रेसले पाएको थियो भने उपमेयरमा गठबन्धनबाटै माओवादी केन्द्रका आइन्द्रविक्रम बेघा निर्वाचित भएका थिए ।

सुनसरी–१ को मुख्य जनघनत्व भएको क्षेत्र धरान नगरपालिका हो । त्यसैको यहाँको मतले जित–हार निर्धारण गर्दै आएको छ । माओवादी शान्ति प्रक्रियामा आएदेखि नै मुकेशले सुनसरीलाई नै आफ्नो कार्यक्षेत्र बनाएका छन् । जसका कारण उनी त्यहाँका मतदातासँग परिचित छन् ।
‘हामी चुनाव जित्नेमा ढुक्क छौँ । एकातर्फ गठबन्धन एकढिक्का भएर लागेको छ भने अर्कातर्फ विपक्षीको असन्तुष्टि स्पष्टै देखिन्छ । उहाँहरूमा बागी उम्मेदवारी पनि परेको छु,’ मुकेशको चुनावी अभियानमा खटिएका सुरज राना भन्छन्, ‘सुनसरीमा हामी निकै अगाडि छौँ ।’

विकासको बारेमा आफ्ना एजेन्डा सुनाउँदै मुकेशले चतारा–विष्णुपादुका हुँदै भेडेटार केबलकार सञ्चालन गर्न सकिने बताएका छन् । उनले पर्यटनका माध्यमबाट यस क्षेत्रको विकास गर्न सकिने पनि जनाएका छन् । यो क्षेत्रमा धार्मिक तथा सांस्कृतिक रूपमा विकासको अपार सम्भावना रहेको मुकेश बताउँछन् ।