विराटनगर । केही दिन अगाडि सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा एमालेबाट उम्मेद्वार बनेकी भगवती चौधरीले कार्यकर्तालाई उक्साउँदै छुरा हान्ने र गोली हान्न आफैं फिल्डमा उत्रने बताइन् । ‘पहिले छुरा घोप्नु पर्यो कि त्यसलाई उ गर्नुपर्यो कि, गोली ठोक्नु पर्यो भने छुरी हान्न परे पनि भगवनी चौधरी तयार छु,’ उनले भनेकी थिइन् । यद्यपि उनको भनाइको विषयमा निर्वाचन आयोगमा उजुरी परेर जवाफ पनि माग गरेको थियो । चौधरीको यो भनाइको आशय विजय गच्छदारले जे पनि गर्न सक्छन् भन्ने देखाउँदै आफ्ना कार्यकर्तालाई उत्तेजित बनाउनु थियो ।
यता, सुनसरीको इटहरीमा आयोजित कार्यक्रममा चौधरीको प्रतिद्वन्द्वी साविक विजेता सत्ता गठबन्धनका साझा उम्मेद्वार विजयकुमार गच्छदारले पनि आक्रोशपूर्ण नभई भावनात्मक कुरा गर्दै भोट माग्दैथिए । ‘मेरो पिताको जेनेरेसनको मान्छेहरू हुनुहुन्न ।
विपी कोइराला हुनुहुन्न, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, गणेशमान सिंह, मनमोहन, पुष्पलाल श्रेष्ठहरु हुनुहुन्न । तर, हामी छौं । ७ दशक पुगेका हामी छौं । हामी ज्यूँदा छौं,’ उनले भन्थे । गच्छदारले त्यति मात्रै होइन ५२ वर्ष काँग्रेसमा राजनीति गरेको र एमालेका अध्यक्ष केपी ओलीले आफ्नो करिअर समाप्त पार्न खोजेको भन्दै आक्रोश व्यक्त गर्दथे । यस्ता खालका अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत रहेको कतिपय बताउँछन् ।
मानवअधिकारवादी सोमराज थापाले जनताको सवाललाई उठाउने कुरा सामान्य भएपनि धाकधम्की, प्रलोभन, ब्ल्याकमेल गर्नु लोकतन्त्रका लागि नसुहाउने कुरा भएको बताए ।
‘लोकतन्त्रमा धाक, धम्की, हातहतियार प्रयोग गर्ने कुरा मान्य हुँदैन,’ थापाले भने, ‘इमोसनल भएर, भावनामा बगेर भोट माग्ने कुरा पनि त्यति सुहाउने कुरा भएन ।’
यद्यपि नेपाल जस्तो मुलुकमा यस्तो हुने गरेको भएपनि त्यो गलत भएको बामपन्थी विश्लेषक दिनेश श्रेष्ठ बताउँछन् । ‘विश्वका अन्य विकसित मूलुकहरुमा भावनात्मक र धाकधम्कीको कुरा त्यति महत्वको हुँदैन,’ श्रेष्ठ भन्छन्, ‘उम्मेद्वारहरुले एक अर्कालाई लान्छित् गर्ने वा भोट बटुल्ने हिसावले जुनसुकै कार्य गर्नुहुँदैन ।’
सुनसरीको निर्वाचन क्षेत्र ३ मा सँधैका प्रतिस्पर्धी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता विजयकुमार गच्छदारसँग चिरपरिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरीले चुनावी पौंठेजोरी खेलेको योसँग तीन पटक हुन्छ ।
तर, गच्छदार छैटौं पटकसम्म अपराजित रहँदा चौधरीले यस पटक गच्छदारको जितमा ब्रेक लगाउन जोड गरिरहेकी छिन् । चौधरीको हार भएपनि गच्छदारको हार भएपनि यो निर्वाचनले उनीहरुको जीवनमा अर्को रेकर्ड भने बनाउने नै छ ।
गच्छदारले पाउलान् ‘न्याय’ ?
काँग्रेस नेता विजय गच्छदार आम मतदातासँग न्यायको माग गरिरहेका छन् । उनले न्याय माग्नुको मुख्य मुद्दा हो ललिता निवास जग्गा घोटाला प्रकरण । उनलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७६ साल माघमा ९ करोड ६८ लाख विगोसहित भ्रष्टाचार मुद्दा लगाएको छ ।
‘मलाई जनताले पनि न्याय दिनुपर्छ । म जनताको अदालतमा ६ चोटी मात्रै होइन ७ चोटी आएको छु । जनताको अदालतबाट फेरि यसअघिको भन्दा धेरै भोट ल्याएर मलाई जिताएर पठाउनु भयो भने मात्रै मैले इन्साफ पाउँछु, मैले न्याय पाउँछु… (भक्कानिँदै),’ उनी भन्छन् ।
आफ्नो लागि सुनसरी ३ नयाँ ठाउँ नभएको भन्दै उनी धेरै पुराना काँग्रेसीहरुको सम्झना गर्छन् । उनी २०२७ सालमा जेल परेको घटना पनि सम्झन्छन् । ‘यो इटहरीमा १२ हजार मतदाता हुँदा ०४८ सालदेखि मैले चुनाव लडेको हो । त्यसबेला इटहरी कस्तो थियो ? बाटो थिएन, भवनहरु थिएनन् । यो परिस्थिति अनुसार विकास हुँदै आयो । त्यहाँ मेरो पनि केही न केही त योगदान छ । मैले पानी जहाज कुदाउने सपना बाँड्न आएको होइन,’ उनी भन्छन्, ‘२०२७ सालमा जेल बस्दा अहिले कति वर्ष भयो हिसाव किताब गर्नुहोस् । प्रजातन्त्रको लागि तपाईहरुको बन्द मुखलाई खुल्ला गर्नका लागि लडेका हाम्रो जेनेरेसन छ । हामी ज्यूँदा छौं । ०२७ सालमा जेल पर्दा इटहरीमा काँग्रेस टुकी बालेर खोज्नु पथ्र्यो । काँग्रेसलाई एक गिलास पानी दिने मान्छे भेटिँदैन थियो ।’
३१ वर्षमा नभएको विकास ५ वर्षमा गर्छु : चौधरी
यता, गच्छदारलाई १० वर्षयता लगातार टक्कर दिइरहेकी भगवती चौधरी भने ३१ वर्षमा नभएको विकास आफूले जिते ५ वर्षमै गर्ने बताउँछिन् । ‘उहाँले ३१ वर्षमा नगरेको विकास हामी ५ वर्षमा गर्न चाहन्छौं, म यही गाउँठाउँबाट हुर्केको मान्छे हो । सुनसरीको ३ नम्बरबाट महिला सशक्तीकरण र ग्रामिण अर्थतन्त्र सुदृढ बनाउने काममा लाग्नेछु,’ उनी भन्छिन् ।
इटहरीको बसपार्कमा कोणसभा सकिएपछि सोमबार रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले चुनावी अभियान निक्कै दबाबपूर्ण भइरहेको बताउँछिन् । ‘चुनावी अभियान चलिरहेको छ । घरदैलो गरिरहेको छु । निर्वाचन आयोगले तोकेको समय अनुसार सबै घर दैलो गर्न सकिएन । यस्तै सानातिना कोणसभाहरु गरिरहेको छु । दैनिक १०, १५ वटासम्म कार्यक्रम भइरहेको छ’, अत्याधिक प्रेसर होला नि होइन भन्ने प्रश्नमा उनी भन्छिन्, ‘प्रेसर त भइनै रहेको छ । नेकपा एमाले पनि ठूलो पार्टी हो । अहिले ठूलो दल पनि हो । त्यसो भएको हुनाले हामीसँग भएको संठगनमा रहेका कार्यकर्ताले चुनावी अभियान हाँकीरहनु भएको छ । २२ वटा जनसंगठनहरु पनि परिचालित भएर अगाडि गइरहेका छौं । लाग्ने हो जनता पनि लागिरहेका छन् ।’
अघिल्लो पटकको जस्तै प्रतिस्पर्धा रहेको उनी बताउँछिन् । ‘अघिल्लो पटक उहाँ सरकारका बाहलवाला उपप्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसबेला चुनाव लडेको थिएँ । तर, अहिले उहाँको पावर लुज भएको छ । त्यसकारण केही फरक हुनसक्छ,’ चौधरी भन्छिन्, ‘उहाँको जुन संगठन छ नि त्यसकारणले प्रतिस्पर्धा नै हुने देखिएको छ । जनताले सघाउँछु भन्दैछन्, जित्छौं हामी । पुरै आत्मविश्वास छ ।’
कोणसभामा भाषणको क्रममा उनले राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीलाई पनि आफूलाई समर्थन गर्न आग्रह थिइन् । ‘सुनसरीको क्षेत्र नम्बर ३ को विकासका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र पार्टीलाई पनि मलाई समर्थन गर्न आग्रह गर्दछु,’ उनले भनिन् ।
स्थानीय तह निर्वाचनमा मतको अवस्था
सुनसरीको ३ नम्बर क्षेत्रमा इटहरी उपमहानगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, इनरुवा नगरपालिकाको वडा नं. ७, गढी गाउँपालिका, दुहबी नगरपालिका पुरै र बर्जु गाउँपालिका पर्दछ । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतका आधारमा नेकपा एमाले सो क्षेत्रमा पहिलो दल हो । एमालेले ३५ हजार ५३ मत ल्याउँदा कांग्रेसले ३३ हजार ५७१ मत ल्याएको छ । यस्तै एमालेलाई सघाएको जसपाको ५ हजार ५१६, माओवादी केन्द्रको ३ हजार ८ सय, राप्रपाको ३ हजार ३३१ र नेकपा एसको ६२६ मत रहेको छ । यही मतको आधारमा जोड्ने हो भने सत्ता गठबन्धनको पक्षमा ३७ हजार ९९४ मत हुन्छ । एमाले र जसपा गठबन्धनको मत ४० हजार ५६९ मत पुग्छ । राप्रपाले आफ्नो छुट्टै उम्मेद्वार उठाएको छ ।

