विराटनगर । नेपाली काँग्रेसका प्रवक्ता डा। प्रकाश शरण महतले काँग्रेस नेतृत्वको गठबन्धनले फराकिलो मतान्तरले बहुमत ल्याउने बताएका छन् । विराटनगरमा बुधवार बिहान आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता महतले यस्तो बताएका हुन् ।

पाँच दलीय गठबन्धनले बहुमत ल्याएर काँग्रेसको नेतृत्वको सरकारले बन्ने उनले बताए ।  महतले मतदातालाई नियन्त्रण गर्न नसके पनि पार्टी पङ्क्ति भने इमानदारीपूर्वक गठबन्धनलाई मत हाल्ने र बहुमत ल्याएर सरकार बन्ने बताए । १६५ सिट मध्ये काँग्रेसले ९१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको उल्लेख गर्दै महतले अधिकतम ठाउँमा जित्ने उनको दाबी छ ।

उनले काँग्रेसलाई इमानदारीपूर्वक गठबन्धनलाई मत नहालेको आरोप अब नलाग्ने बताए । महतले अहिलेको निर्वाचन प्रणालीले गर्दा एक्लै बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन भएको समेत बताए ।  उनले एमालेको गठबन्धनले लगानी भित्राउन नसक्ने दाबी गरे । महतले एमाले अध्यक्ष ओलीको नेतृत्वमा कुरा धेरै भएको तर काम नभएको आरोप लगाए । ‘ काँग्रेसले काम गरेको प्रचार गर्न नजानेकाले दुःख पाएको छ । हामीले खुरु खुरु काम गर्‍यौ । अरूले प्रचार गरे,’ उनले भने ।