विराटनगर । सुनसरीको निर्वाचन क्षेत्र ३ मा सँधैका प्रतिस्पर्धी मैदानमा छन् । सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता विजयकुमार गच्छदारसँग चिरपरिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरीले चुनावी पौंठेजोरी खेलेको योसँग तीन पटक हुन्छ ।

तर, गच्छदार छैटौं पटकसम्म अपराजित रहँदा चौधरीले यस पटक गच्छदारको जितमा ब्रेक लगाउन जोड गरिरहेकी छिन् । चौधरीको हार भएपनि गच्छदारको हार भएपनि यो निर्वाचनले उनीहरुको जीवनमा अर्को रेकर्ड भने बनाउने पक्का छ ।
सुनसरीको ३ नम्बर क्षेत्रमा इटहरी उपमहानगरपालिकाको वडा नं. ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, इनरुवा नगरपालिकाको वडा नं. ७, गढी गाउँपालिका, दुहबी नगरपालिका पुरै र बर्जु गाउँपालिका पर्दछ । इटहरीको वडा नम्बर ६ स्थित संगीत चौकमा हाम्रो टोली पुग्दा गच्छदारले भाषण गरिरहेका थिए । केही सय सत्ता गठबन्धनका कार्यकर्तामाझ उनले आधा घण्टा भावनात्मक भाषण गरे । त्यसक्रममा उनी तत्कालिन केपी ओली नेतृत्वको सरकारले ललिता निवास जग्गा काण्डमा मुद्दा हालेको भन्दै भक्कानिए । भक्कानिँदै उनले भने, ‘सातौं पटक म जनतासँग भोट माग्न होइन न्याय र इन्साफ माग्न आएको छु, मलाई पहिले भन्दा धेरै भोट लिएर जिताउनु भयो भने मात्रै मैले इन्साफ पाउँछु ।’

१३ पटक मन्त्री भएको र ६ पटक निर्वाचन जितेका उनका विरुद्ध बालुवाटार जग्गा हिनामिना मुद्दामा २०७६ माघमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । त्यसपछि उनी मन्त्री हुन पाएनन् भने सांसद पद पनि निलम्बित भयो । उनलाई ९ करोड ६९ लाख बिगोसहित भ्रष्टाचार मुद्दा लागेको छ । तत्कालिन ओली नेतृत्वको सरकारले आफ्नो ५० वर्षको राजनीतिक करिअर समाप्त पार्ने प्रयास गरेको उनले आरोप लगाउँदै समर्थकलाई अपिल गरे ।

‘७ चोटीका लागि आएको छु । म न्याय माग्न आएको हुँ । मलाई ठूलो अन्याय भएको छ । तत्कालिन एमाले सरकारले म माथि जबर्जस्ती ५० वर्षको क्यारियर समाप्त पार्नको लागि जबर्जस्ती ललिता निवासको जग्गामा मलाई मुद्दा हालेको छ । मेरो जीवनमा आजसम्म एक लाल पनि अनियमितता गरेको छैन । मलाई न्यायलयले न्याय दिन्छ भन्ने विश्वास छ,’ उनले आक्रोश व्यक्त गर्दै भने, ‘मलाई जनताले पनि न्याय दिनुपर्छ । म जनताको अदालतमा ६ चोटी मात्रै होइन ७ चोटी आएको छु । जनताको अदालतबाट फेरि यसअघिको भन्दा धेरै भोट ल्याएर मलाई जिताएर पठाउनु भयो भने मात्रै मैले इन्साफ पाउँछु, मैले न्याय पाउँछु… (भक्कानिँदै) ।’

उनले आफूले विकास निर्माणको थुप्रै काम गरेको र चर्चा गरेर साध्य नभएको पनि बताए । ‘विजय गच्छदारले गरेको काम छर्लङ्ग छ । मैले बनाएको बाटोबाट सररर्र जान्छन् अनि विपक्षीहरु विजय गच्छदारले ६ चोटी जितेर के गर्यो भन्दै गरिव जनता भ्रमित पार्छन्,’ उनी भन्छन्, ‘अनि इटहरीका बौद्धिक जनता पनि भ्रममा पर्ने ? म यो गर्छु त्यो गर्छु भनेर भोट माग्न आएको होइन । राजनीतिक कुरा गरेर भोट माग्न आएको हुँ ।’

उनले गठबन्धन हुँदा भोट ट्रान्सफर नहुने हो कि भन्ने आशङ्का गर्दै काँग्रेस र माओवादीलाई सजिलै एक अर्काको चुनाव चिन्हमा भोट हाल्न आग्रह पनि गरे । ‘काँग्रेसका साथीहरु पनि गोलाकार भित्रको हँसिया हथौडामा भोट हाल्ने प्राक्टिस गर्नुहोस् । माओवादीका साथीहरुले पनि रुखमा भोट हाल्ने प्राक्टिस गर्नुहोस् । म काँग्रेसको मात्रै उम्मेद्वार होइन । गठबन्धनको संयुक्त उम्मेद्वार हुँ । सरस्वती पोखरेल प्रदेश तर्फबाट उम्मेद्वार हुनुहुन्छ । उहाँ पनि माओवादीको मात्रै उम्मेद्वार होइन । गठबन्धनको संयुक्त उम्मेद्वार हो,’ सोही क्षेत्रको प्रदेशसभा (क)मा उम्मेद्वार बनेकी पोखरेललाई देखाउँदै उनले आग्रह गरे ।

भाषणको अन्तिममा उनले काँग्रेसको पक्षमा नाराबाजी गर्दै जय नेपाल भने । त्यही सन्दर्भमा उनले लालसलाम भन्न आफूलाई अप्ठ्यारो लागेको पनि सुनाए । ‘मलाई नै लालसलाम भन्न गाह्रो लागिरहेको छ, काँग्रेसका साथीहरुलाई गाह्रो पर्छ भने लोकतान्त्रिक बाम गठबन्धन भन्दा हुन्छ नि ? काँग्रेसलाई लालसलाम भन्न निक्कै मुस्किल परेको होला । मलाई नै धेरै अप्ठ्यारो लाग्छ,’ उनले भने ।

गच्छदारलाई चुनावी भाषणकै क्रममा ‘हिंजो एक्लै जित्नु भएको थियो । अहिले त नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को पनि साथ छ । नजित्ने कुनै कुरै छैन’ भन्दै कार्यकर्ताले ढाडस दिइरहेका थिए ।

उनको साथमा प्रदेशसभाकी उम्मेद्वार बनेकी माओवादी नेतृ तथा प्रदेश १ प्रदेशसभाका निवर्तमान उपसभामुख सरस्वती पोखरेलले पनि विजय गच्छदारको तारिफ गर्न छुटाइनन् । ‘विजय गच्छदारको नामै विजय हो । उहाँमा हारको कुनै गुन्जायस छैन । हालसम्म ६ पटक जित्नु भएको छ । अहिले सातौं पटक जित्ने विश्वास छ । ५२ वर्षको राजनीतिक जीवन, विकास प्रेमी नेतासँग हातेमालो गरेर चुनाव लड्न पाउँदा म धेरै हर्षित छु,’ उनी भन्छिन्, ‘आफू उपसभामुख हुँदा इटहरीको डुबानलाई सम्बोधन गर्ने पहलस्वरुप ढल नाला निर्माणको डिपिआर भइरहेको छ । इटहरी चोकमा आकाशे पुल निर्माण गर्ने । रंगशाला निर्माण गर्ने लगायतका काम हाम्रो टिमले गर्नेछ ।’

आठौं पटक अर्को जिल्लाबाट उठ्न सक्छु : गच्छदार

कार्यक्रम पछि संचारकर्मीलाई सामान्य प्रतिक्रिया दिँदै गच्छदारले आठौं पटक पनि राजनीतिमा सक्रिय नै रहने इच्छा व्यक्त गरे । ‘आठौं पटक कसले देखेको छ । अहिले छु भोली नहुन सक्छु कस्ले देखेको छ,’ यो अन्तिम पटक हो कि फेरि आठौं पटक पनि चुनाव लड्नुहुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘यो अन्तिम पनि हुनसक्छ । आठौं पटक फेरि आउन पनि सक्छ । म यही ठाउँमा लड्नुपर्छ भन्ने पनि छैन । मोरङको कुनै पनि क्षेत्रमा जान सक्छु । घरका मुर्गी दाल बराबर हो । बाहिर जिल्लाका लागि पनि विजय गच्छदार चिनिएकै मान्छे हो ।’

अन्तरवार्ताको क्रममा उनले यो पटक न्याय माग्न आएको तर चुनाव लड्ने आफ्नो इच्छा भने नभएको बताए । ‘सातौं पटक चाहिं म न्यायको लागि आएको हुँ । मलाई लड्नै इच्छा थिएन । तर, मैले लड्नु पर्यो । साथीभाई, मेरो जनता, मेरो क्षेत्र र जिल्लाका मानिसहरुले मलाई अनुरोध गरे । यो राजनीतिक लडाई हो । मलाई जबर्जस्ती मुद्दा हालियो ।’

त्यसबेला आफू भौतिक योजना तथा यातायात मन्त्रालय सम्हालेर बसेको बताएका गच्छदारले आफूलाई मात्रै फसाउन खोजिएको दाबी गरे । ‘मैले गरेको हो र माधवकुमार नेपालको नेतृत्वमा सरकार थियो । त्यसबेलाको रक्षामन्त्री हालकी राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्थ्यो । गृहमन्त्री भीम रावल हुनुहुन्थ्यो । सुजाता कोइराला पराराष्ट्र मन्त्री हुनुहुन्थ्यो । मिनेन्द्र रिजाल, प्रकाशशरण महत तथा मधेशी दलका नेताहरू पनि मन्त्री थिए,’ गच्छदारले भने, ‘मन्त्रीमण्डलले गरेको निर्णयमा मलाई जबर्जस्ती मुद्दा हालेको छ । मुद्दा मलाई मात्रै हालिएको छ । नखाएको विष मलाई खुवाउन खोजिएको छ । जनताले यस पटक मलाई इन्साफ दिन्छन् भन्ने विश्वास छ । पहिले जनताको निर्णयपछि म एउटा निष्कर्षमा पुग्छु ।’