विराटनगर । आफ्नो पाँच वर्षे कार्यकालमा गरेका कामको फेहरिस्त सुनाउँदै मोरङ क्षेत्र नं। ४ को प्रतिनिधि सभाका उम्मेदवार अमनलाल मोदी आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् ।
मोदी पाँच दलीय गठबन्धनका साझा नेकपा माओवादी केन्द्रका उम्मेदवार हुन् । उनले गरेका आफ्ना कामका सूची बाँड्दै घरदैलो अभियानमा जुटेका छन् ।मोरङ क्षेत्र न. ४ मा पर्ने ग्रामथान र कटहरी गाउँपालिको सबै वडासहित विराटनगरको १, २, ३, ८, १०, १९ बेलबारीको ५, ६ र ७ वडा समेटिएको निर्वाचन क्षेत्रमा उनी २०७४ को निर्वाचनमा काँग्रेसका प्रभावशाली नेता तथा अर्थशास्त्रका ज्ञाता मानिएका महेश आचार्यलाई हराउँदै निर्वाचित भएका थिए ।
पुनः चुनावी मैदानमा होमिएका मोदीका मुख्य प्रतिस्पर्धीको रूपमा नेकपा एमालेका नेता विनोद ढकाल देखिएका छन् ।
मोदीले आफूले आफ्नो पाँच वर्षे कार्यकालमा गरेको जनमुखी कार्य जित्ने आधार रहेको दाबी गर्दै आएका छन् ।
उनले सुकुम्वासीलाई आवसहितको पक्की घर, पुलसहित आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न विकास निर्माणको काम सम्पन्न गरेको र केही सुरुवात गरेको तथा निर्माणाधीन अवस्थामा रहेको बताएका छन् । संविधानसभा र संसदमा खेलको प्रभावकारी भूमिका, युवा जोस र जाँगर तथा थारु, मधेसी, आदिवासी जनजाति, उत्पीडित जातिको सहानुभूतिसहित सत्ता गठबन्धनका उम्मेदवार बनेका मोदी यस पटकको चुनावमा पनि आफ्नो प्रभाव कायम राख्ने पक्षमा छन् । विकास प्रेमी नेतामा रूपमा चिनिने मोदी सबैसँग चाँडै घुलमिल हुनसक्ने उनको स्वभागका कारण मतदाताको रोजाइमा पर्ने गरेका छन् । अहिले क्षेत्र नं। ४ मा ‘हरहर मोदी, घर –घर मोदी’ को नारा लाग्ने गरेको छ । मोदीका प्रतिस्पर्धी ढकाल प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा नयाँ उम्मेदवार हुन् ।
२०७० मा समानुपातिक र २०७४ मा निर्वाचित भई यस पटक पनि मोदीले ह्याट्रिक गर्दै तेस्रो पटक संसद छिर्ने दाउमा छन् । ढकाल पहिलो जितको खोजीमा छन् ।

