विराटनगर । विराटनगर ४ खारजी कोहबराका सुकुमबासी हिरालाल ऋषिदेवले ३ वर्षदेखि शौचालय बनाउन भनेर इँटा ल्याए । तर, अर्काको जग्गामा बसेका उनलाई जग्गा धनीले पक्की शौचालय बनाउन दिएनन् । उनलाई निर्वाचनको बेला थुप्रै नेताले थुप्रै आश्वासन दिए । तर, शौचालय बनाउने जग्गा नै नहुनुले नेताको प्रतिबद्धता उदाङ्गो पारिदिएको छ ।
मंसिर ४ गते निर्वाचन आउँदैछ भन्ने उनलाई थाहा छ । उनको टोलमा पनि घरघरमा झण्डा टाँग्ने होडबाजी छँदैछ । आइतबार बिहानै सिके राउतको पार्टी राष्ट्रिय जनमत पार्टीका कार्यकर्ताले चुनाव चिन्ह अंकित झण्डा टोलै भरी छोडेर हिंडेका छन् ।

उनले देखेको यो पटक मात्रै यस्तो भएको होइन । हजुरबाको पालादेखि काँग्रेसको ‘गाछी’ छापमा भोट हालेको बताउने उनले आश्वासनका पोका पनि सँधैजसो सुनिरहेका छन् । तर, उनको टोलमा शौचालय बनाउने, पक्क बाटो बनाउने कुरा त परै जाओस् आफ्नो समुदायको आस्थाको धरोहर दिनाभद्री मन्दिरका लागि सानो छाप्रो बनाउन समेत सकेका छैनन् । ‘भोटको बेला विकास गर्छु भन्छन् । ३ वर्ष भयो ट्वाइलेट बनाउन भनेर इँटा झारेको । तर, बनाउन नै दिँदैन । जग्गा वालाले राम्रो घर पनि बनाउन दिँदैन,’ उनी भन्छन्, ‘नेतालाई तपाईहरु त पिचमा हिंड्नुहुन्छ हामीलाई पनि अलिकति गिट्टी हालिदिनु नि भन्छु । वर्षामा धेरै हिलो हुन्छ ।’

यसअघि जितेर गएका लालबाबु पण्डितले दिनाभद्रीको मन्दिर बनाइदिन्छु भनेका थिए । तर, जितेर गएपछि फर्केर नआएको उनको गुनासो छ । ‘फोन गर्दा पनि फर्केर आएनन्’, उनले भने । उनलाई काँग्रेस नेता शेखर कोइरालादेखि पनि रिस उठेको छ । ०७४ सालमा पराजित भएपनि धेरै पटक कोइरालाले जितेको तर, काम नगरिदिएको उनको भनाइ छ । ‘मन्दिर बनाइदिएको भए हुन्थ्यो नि,’ उनी भन्छन्, ‘मन्दिर बनाउने त कसम खाएरै गएका थिए । लालबाबुले त झन् जितेर गएपछि चारैतिर चकाचक पार्दिन्छु भनेका थिए, तर, खोइ ? ।’ आफ्नो टोलमा बाटो बनाउन खोज्दा २४ फिटको हुनुपर्यो भनेर नगरपालिकाले भन्ने गरेकोबारे प्रश्न गर्दै उनी भन्छन्, ‘आफ्नै घर ५ धूरमा छ अर्काको जग्गामा २४ फिटको बाटो कहाँबाट बनाउनु ? ।’

सोही टोलका अमल ऋषिदेव धान काट्न डोरी कम्मरमा बाँधेर हिंड्न ठिक्क परेका थिए । उनलाई पनि हामीले निर्वाचनबारे कुरा खोतल्ने प्रयास गर्यौं । हामीले कुरा खोतल्ने वित्तिकै भन्न थाले, ‘हाम्रा हजुरबाहरुले जंगल फाँडेर बसेको ठाउँ हो यो, ९० सालको भुकम्पमा हाम्रो बुबा १५/१६ वर्षको हुनुहुन्थ्यो । विराटनगरको सबैभन्दा पुरानो मुसहर वस्ती हो यो । पढेलेखेका मानिसहरुले आफ्नो नाममा जग्गा पास गर्दै गए, हाम्रो बाउबाजेले त्यो जानेनन् त्यसपछि हामी सुकुमबासी भयौं । त्यसयता जस्ताको तस्तै छौं । वर्षाको समयमा हेर्न आउनु नि हाम्रो समस्या कस्तो हुन्छ ।’

सोही टोलकी अन्दाजी ८० वर्षीय मालोदेवी ऋषिदेवसँग नागरिकता छ्रैन । उनलाई आफू कति वर्ष पुगें भन्ने पनि थाहा छैन । सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउने उमेर आफ्नो पनि भयो भन्ने उनलाई थाहा छ । तर, उनले नागरिकता नभएकै कारण भत्ताबाट वञ्चित छिन् । पहिले धेरै पटक भोट दिएको उनी बताउँछिन् । तर, अहिले उनले भोट दिन पाउँदिनन् । ‘पहिले सानो चिट जस्तो दिन्थ्यो, त्यसको आधारमा भोट हाल्न पाइन्थ्यो,’ उनै मालोदेवीलाई देखाउँदै अमल ऋषिदेव भन्छन्, ‘नागरिकता अनिवार्य गरेपछि भोट हाल्न पाउनु भएन, भत्ता पनि पाउनु भएन ।’ उनको श्रीमान् र छोराको वंशजकै आधारमा नागरिकता छ । तर, उनको मात्रै नागरिकता छैन ।

उनीजस्तै धेरैको नागरिकताको समस्या उक्त टोलमा छ । ६० घर परिवार बसेको सो टोलमा ५० जनाभन्दा बढीसँग मतदाता परिचयपत्र रहेको छ । तर नागरिकता नभएकाहरु त्यतिकै संख्यामा छन् । ‘नागरिकता बनाउने भनेर जितेर गए तर, अहिलेसम्म नागरिकता बनेन,’ दुखनीदेवी ऋषिदेवले भनिन् ।

शेखर र लालबाबुको भीडन्त

मोरङको क्षेत्र नम्बर ६ मा यस पटक पुरानै प्रतिस्पर्धीको रोचक भीडन्त हुँदैछ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेस नेता डाक्टर शेखर कोइराला र एमाले गठबन्धनबाट लालबाबु पण्डित उम्मेद्वार छन् ।पण्डितले कोइरालालाई २०७४ सालको निर्वाचनमा पराजित गरेका थिए । त्यसको बदला लिने दाउमा कोइराला रहेका छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट उम्मेद्वार बनेका पण्डितले ६ सयमतले कोइरालालाई पराजित गरेका थिए । प्रदेशसभामा भने ६ (क) मा गठबन्धनका तर्फबाट माओवादीका जीवन आचार्य र एमालेका तर्फबाट रिता न्यौपाने उम्मेद्वार छन् । यस्तै ६ (ख) मा गठबन्धनका तर्फबाट काँग्रेसका केदार कार्की र एमालेका तर्फबाट कृष्ण बस्नेत उम्मेद्वार रहेका छन् ।