विराटनगर । रंगेलीको धनापट्टी हुँदै मधुवनी निस्कने बाटो पिचैपिच छ । लहलह धानखेतको बीचमा बनेको पिच सडक सुन्दर पनि छ । गोरु गाडा वा बयलगाडा पनि पिच सडकमा आनन्दले हिंडिरहेका छन् । कुनै कुनै ठाउँमा किसानले धान तथा कृषिजन्य वस्तुको बिस्कुन पनि सडकमै लगाएका छन् । उक्त सडक नछोडि जाँदा हाम्रो टोली नेपाल भारतको सीमा क्षेत्र रंगेली ५ को धनापट्टी पुग्यो ।
पारि भारतको लेटी गाउँ छ । त्यहाँबाट सर्वसाधरण नेपाल–भारत आवत जावत गर्दछन् । कतिपय अवैध चोरी, तस्करीका लागि यो ठाउँ सुरक्षित छ । सुरक्षाकर्मीको उपस्थिति दुवैतिर देखिएन । दशगजा क्षेत्रमा तस्बिर लिएर सिमानामै रहेको एउटा चिया पसलमा बसिरहेका स्थानीयसँग त्यही पिचबाटोको विषयमा कुराकानी सुरु गरियो ।
यो बाटो कसले बनाएको हो, धेरै राम्रो रहेछ भन्ने प्रश्न सुन्ने वित्तिकै चिया पसलमै बसिरहेका राकेश मण्डलले भने, ‘यो क्षेत्रका सांसद शिवकुमार मण्डलले बनाएका हुन् ।’ उनी माओवादीका कार्यकर्ता रहेछन् । उनको कुरा सकिन नपाउँदै जितेन्द्रकुमार झाले कुरा काट्दै भने, ‘नगरपालिकाको प्रमुख को छ ? उसैले बनाएको हो नि ?।’ उनले रङ्गेलीका प्रमुख दिलिप अग्रवाललाई सडक कालोपत्रेको जस दिए । उनको कुरामा चित्त नबुझाएका अर्का स्थानीय भुवनेश्वर सिंहले भने, ‘होइन होइन यो बाटो वडामा पर्छ नि रंगेली ५ का वडाध्यक्ष महानन्द मण्डलले बनाएका हुन् ।’
उनीहरुले बाटो कसको पालामा बनेको भन्ने विषय आ–आफ्नै दाबी गरेका थिए । यस्तो हुनुको पछाडि निर्वाचनमा जस कसले लिने भन्ने थियो । ०७४ सालको स्थानीय निर्वाचनमा माओवादीबाट रंगेलीको प्रमुखमा विजयी बनेका दिलिप अग्रवाल अहिले एमालेमा गएका छन् । उनै अग्रवालसँगै वडाध्यक्ष मण्डल पनि एमालेमै छन् । दुवै जनाले गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा एमालेबाट सोही पदमा जितेका छन् ।
चिया पसलमा कुराकानीकै क्रममा जितेन्द्रकुमार झाले यसअघिको सबै भोट खेर गएको भन्दै असन्तुष्टि जनाए । ‘४, ५ चोटी भोट हाले तर, भोट बर्बाद भयो । जितेर जानुभन्दा अगाडि भन्छ के गर्छ के ?,’ बाटो त बनेछ त भनेपछि फेरि उनले जवाफ फर्काए, ‘आफ्नो खल्तीबाट बनाएको हो र ?’ झाले कुरा थपे, ‘म एमाले हुँ, तर, भोट भने मासु खाने, पैसा लिने हाल्ने हो, जसले माल दिन्छ उतै जान्छु, पैसा राम्रोसँगले बाँड्छ । त्यस्तो अवस्थामा जे पनि हुनसक्छ ।’ उनले यसो भनेपछि चिया पसलमा हाँसो गुन्जियो ।
त्यसपछि हामी पिचैपिच सडकबाट उत्तरतिर लागियो । त्यही क्रममा सत्ता गठबन्धनका प्रतिनिधिसभाका उम्मेद्वार पूर्वमन्त्री तथा माओवादी नेता शिवकुमार मण्डल र प्रदेशसभाका उम्मेद्वार गयानन्द मण्डलको टोलीसँग भेट भयो । भेटका क्रममा रंगेली ५ का अशोक मण्डलले मल नपाएको भन्दै भोट माग्ने नेतालाई र्याखर्याख्ती पार्न खोजे । ‘डिएपी, युरिया, पोटासको अभाव भयो । हामीलाई मल चाहियो नि,’ ५० वर्षीय मण्डलले भने, ‘किसानको समस्या छ ।’ नेताको टोलीलाई किसानले मल नपाउनुको समस्या बताइरहेका छन् । तर, उम्मेद्वार भने मल नपाउनुको समस्या बताउँदै टोली कस्तुरीको गतिमा घरदैलोमा दौडियो ।
विगतका प्रतिस्पर्धी अहिलेका सारथी
मोरङ क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादीका मण्डल र प्रदेशसभा (क)मा गयानन्द मण्डल र (ख)मा अमृत अर्याल चुनावी दौडमा छन् ।
शिवकुमार मण्डल र गयानन्द मण्डल यसअघिका निर्वाचनका प्रतिस्पर्धी हुन् । ०६४ सालमा देशैभर माओवादी केन्द्रले विजय प्राप्त गर्दा शिवकुमार मण्डललाई सोही क्षेत्रबाट काँग्रेसका गयानन्द मण्डलले पराजित गरेका थिए । ०७० सालमा भने देशैभर माओवादीले पराजय व्यवहोर्दा प्रदेश १ मा एकमात्र सिट शिवकुमार मण्डलले गयानन्द मण्डललाई ८ मतले पराजित गरेका थिए । ०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेद्वार बनेका शिवकुमार मण्डलले पुनः गयानन्दलाई पराजित गरेका थिए । अहिले पनि दुवै जना एक अर्काका सारथी भएर एक अर्कालाई भोट माग्दै चुनावी मैदानमा छन् ।
बाटोको एजेण्डा लगभग सकियो : मण्डल
प्रतिनिधिसभाका उम्मेद्वार शिवकुमार मण्डलले आफ्नो क्षेत्रमा रहेको रंगेलीमा सडक निर्माणका ठूला योजनाको लागि अब भोट माग्नु नपर्ने बताएका छन् । लगभग सबै सडक निर्माण भइसकेको छ । ‘अब बाटो र सडक बनाउने एजेण्डा लगभग सकियो । केन्द्र अन्तर्गत पिच गर्ने बाम छैन । प्रदेश र स्थानीय तहका सानातिना योजना भने छन्,’ उनी भन्छन्, ‘५ वर्ष अगाडि जनताको चाहना बाटो, बिजुली, स्वास्थ्य र शिक्षाको समस्या थियो, त्यो धेरै हदसम्म सम्बोधन भएको छ ।’
मण्डलले रंगेलीमा बाटो बनिसकेको, इन्जिनियरिङ कलेज स्थापना भएको, रिङ रोड निर्माण सुरु भएको, गाउँगाउँमा विजुली पुर्याउने काम भएको फेहरिस्त सुनाए । रंगेली अस्पतालको स्तरउन्नति भएको र रंगेलीको धार्मिक पर्यटकीयस्थल संसारीमाईस्थानमा हजारौंको संख्यामा भारतबाटसमेत भक्तालुहरु आउने अवस्था बनेको उनको दाबी छ ।
‘आगामी दिनमा चाहिं बेरोजगार समस्या कसरी हल गर्न सकिन्छ भन्ने मेरो ध्यान छ । अहिले विराटनगर–रंगेलीको लाइनमा ३३ केभिए लाइन चलेको छ । अब उद्योग चल्न कुनै समस्या हुँदेन । यसले रोजगारी सिर्जना गर्छ,’ मण्डल भन्छन्, ‘किसानले सिंचाई, मलखालको कुरा उठाइरहेका छन् । आगामी ५ वर्षमा किसानका मूलभूत मुद्दा र यो क्षेत्रमा उद्योगहरु संचालन गर्न, थप उद्योग स्थापना गर्न मेरो प्रयास हुनेछ । किसानलाई आत्मनिर्भर हुनेगरी कृषिमा औद्योगिकरण गर्ने तिर मेरो ध्यान छ ।’
इलेक्ट्रिकल बोरिङमा ध्यान
प्रदेशसभामा उम्मेद्वार बनेका गयानन्द मण्डलले भने आफ्नो ध्यान किसानको मुद्दामा केन्द्रीत हुने बताए । ‘म किसान हुँ । किसानको नेतृत्व गर्ने हो मैले । २० वर्ष अगाडिदेखि नै मैले किसानको कुरा उठाएको छु । किसानको मलको समस्या हल गर्नका लागि सरकारले ५ वर्षको लागि मलको सम्झौता गर्नुपर्छ । एकैपटक मल ल्याएर स्टोर गर्नुपर्छ । त्यो साल्ट टे«डिङले भएपनि कृषि समाग्री कम्पनी लि.ले भएपनि त्यो गर्नुपर्छ,’ उनी भन्छन्, ‘म सिंचाईमा पनि जोड दिन्छु । नेपाल जलस्रोतमा धनी भएपनि सिंचाईको व्यवस्था छैन । हरेक १० विगाहा जग्गामा इलेक्ट्रिक बोरिङ राख्ने मेरो प्रतिबद्धता छ । मैले जितेर गएँभने पहिले मेरो काम हो किसानको सिंचाई, मलखाद बिउ, नागरिकता र स्वरोजगारको समस्या समाधान गर्ने मेरो प्रतिबद्धता हो ।’ गठबन्धनले जित हासिल गर्नेमा आफू विश्वस्त भएको उनको भनाइ छ ।
प्रतिस्पर्धी कस्ता ?
मोरङको निर्वाचन क्षेत्र ५ मा पनि ८ जना स्वतन्त्रसहित १६ जनाले उम्मेद्वारी दिएका छन् । सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी नेता शिवकुमार मण्डल उम्मेद्वार बन्दा एमाले र जसपाका संयुक्त उम्मेद्वार राजकुमार यादव प्रतिस्पर्धामा छन् ।सो क्षेत्रमा राप्रपाबाट रेवतबहादुर थापा, जनमत पार्टीबाट परमेश्वर मुर्मु, हाम्रो नेपाली पार्टीबाट फिरोजकुमार साह, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मंगल ऋषिदेव, नेपाल लोकतान्त्रिक पार्टीबाट मजबुल रहमान मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रमोदकुमार मण्डल दलीय उम्मेद्वार हुन् । यसबाहेक रमेशकुमार यादव, विद्याभूषण प्रसाद, मोहमद रेजा हुसैन, सन्जु शर्मा वडइ, गयानन्द मण्डल केवरत, रामप्रसाद मुखिया, योगेन्द्र मण्डल र मनोजकुमार मण्डलले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । स्वतन्त्र उम्मेद्वारी दिने योगेन्द्र मण्डल नेकपा एमालेका नेता हुन् । जसपासँगको सहमतिमा एमालेले सो क्षेत्र छोडेपछि उनले असन्तुष्टि व्यक्त गर्दै स्वतन्त्र उम्मेद्वारी दिएका हुन् ।

