समाजमा यौनहिंसाका श्रृंखलाबद्ध घटना बढेका बढ्यै छन् । कलिला नानीहरुसमेत यसत हिंस्रक आक्रमणमा परिरहेका छन् । यहीक्रममा विराटनगरमा एक जना ६ वर्षीया नाबालिग यस्तै जघन्य अपराधको शिकार बन्न पुगेकी छन् । ३८ वर्षीय सजन कामत ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । घरमा कोही नभएको मौका छोपेर अबोध नाबालिकामाथि जबरजस्ती गर्ने अभियुक्त दण्डका भागिदार छन् । यसले घरैमा पनि छोरीहरु असुरक्षित भएको देखाउँछ । लामो समयदेखि चलिरहेको यौनहिंसाविरोधी अभियानको प्रभावकारिता अभाव र समाजमा बढ्दो आपराधिक मनोवृत्तिले यसैगरी सबै उमेर समूहका मानिस पीडित हुन बाध्य भइरहेका छन् ।
अहिले मुलुक चुनावी माहोलमा छ । यो बेला दलहरुले घोषणापत्र जारी गरिरहेका छन् । यस्ता हिंसाबारे दलहरुले सम्बोधन त गरेका छन् तर औपचारिकता पूरा गर्ने बहाना जसरी हिंसाविरुद्ध उभिने मात्रै उल्लेख गरेका छन् । बलात्कार जस्तो जघन्य अपराध घटाउन अब दलहरुले कानुन बनाएर मात्रै पुग्दैन, अभियान नै चलाउनुपर्ने खाँचो देखिएको छ । यस्ता गम्भीर अपराधविरुद्ध दलहरुले मुख्य चुनावी एजेण्डा बनाउनुपर्छ ।
अत्यासलाग्दो रुपमा बढेको यो जघन्य अपराधमा अधिकांश बालिकाहरु पीडित देखिन्छन् । यतिधेरै बलात्कारका घटना हुनु असुरक्षाको चरम अवस्था हो । यौनहिंसा व्यहोरेका पीडित र तिनका परिवारले भोग्ने अपमान, असुरक्षा र तनावको मापन त अकल्पनीय हुने भयो । उमेर र अनुभवले परिपक्व भइनसकेका, सामान्य प्रलोभनमा परिहाल्ने उमेरका कलिला नानीहरुमाथि एकपछि अर्को रुपमा भइरहेको यो अपराधबारे मसिनो रुपमा अध्ययन हुन, तिनको सुरक्षाको उपाय खोज्न र भविष्यमा घटना दोहोरिन नदिने सजगताका कामहरु गर्न ढिला भइरहेको छ ।
यस्ता अपराधका साझा विशेषता के छ भने, पीडकहरु कि परिवारभित्रैका सदस्य पाइएका छन्, कि छिमेकी कि तिनैका शिक्षक । यौनहिंसा मात्रै होइन, अन्त्य खालका जघन्य अपराधमा पनि नजिकैमा मान्छेको संलग्नता देखिने क्रम धेरै छ । परिवार र छिमेकमै मौलाएको जघन्य अपराधको श्रृंखलाले घरभित्रै त्रस्त हुनुपर्ने अवस्थामा पुर्याउनु गम्भीर सामाजिक समस्या हो । यसको न्यूनीकरणको उपाय खोज्न जति ढिलाइ भयो, मानवीय क्षति र अपराधका घटना झनै बढ्ने निश्चित छ । जहाँ सबैभन्दा ढुक्क हुनुपर्ने हो, त्यहीँ असुरक्षा हुने अवस्थाको कारण के हो ? पारिवारिक बेमेल, बढ्दो मानसिक समस्या, आर्थिक समस्या तथा विवाहेत्तर सम्बन्ध लगायतका कारणले यस्ता घटनाहरु बढेका हुनसक्छन् ।
नदेखिएका अरु कारण पनि थुप्रै हुनसक्छन् । त्यसैले राज्यले यो गम्भीर सामाजिक समस्यालाई अध्ययनको विषय बनाउनुपर्छ ।हरेक महिना, हरेक साता र हरेक दिनजसो भइरहेका यस्ता घटनाहरुमा परिवारकै सदस्यको संलग्नता देखिनुको मुख्य कारण पत्ता नलागाएसम्म यस्ता अपराध घट्ने छैन । कतै पाको व्यक्तिले बोलीसमेत फुटिनसकेको बालिकालाई यौन दुव्र्यवहार गरेको, कतै पतिले पत्नीलाई, कतै छोराले आफ्नै अभिभावकको हत्या गरेको घटनाले समाजमा गहिरिँदै गएको संकट र त्यसको आडमा भइरहेको अपराधको विस्तार छर्लङ्ग हुन्छ । यसलाई अरु फैलिन नदिन राज्यले मनोसामाजिक परामर्श गर्ने, मानसिक रोगीहरुको पहिचान गर्ने, उपचार गर्ने, मानसिक समस्याबारे चेतना अभियान चलाउने, रोजगारी सिर्जना गर्ने जस्ता उपायहरुको अवलम्बन गर्न ढिला गर्न हुँदैन । अन्यथा सरकारको प्रतिवेदनमा सुरक्षा व्यवस्था कडा हुने तर जनता चाहिँ अनेक रुपमा पीडित भइरहने अवस्था कायमै रहनेछ ।
यसबाहेक विद्यालय तहदेखि नै अपराधविरोधी चेत भर्ने, मानसिक स्वास्थ्यको ख्याल गर्ने बानीको विकास गराउनैपर्छ । यो दायित्व निसन्देहः राज्यको हो । जनताको जीउधनको सुरक्षा गर्ने आफ्नो आधारभूत दायित्व निर्वाह गर्न तीन वटै तहका सरकारले अग्रसरता देखाउनुपर्छ । अन्यथा समाज अकल्पनीय अपराधको भुंग्रोमा यसरी नै जलिरहनेछ । सँगै यौनहिंसाका विरुद्ध पनि संगठित अभियान चलाउनुपर्छ ।

