विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर –८ ले सडकमा मापदण्ड बिपरीत बनाएको संरचना हटाएको छ । सडक विस्तारका लागि बाँके बिहारी मार्गको सडक भित्र मापदण्ड बिपरीत बनाएको संरचना हटाएको हो ।

वडा कार्यालयको पहलमा आइतबारदेखि १२० मिटर लम्बाईको उक्त बाटो फराकिलो गरेर कालोपत्रेको काम सुरु पनि भएको छ । जय नेपाल मार्ग साखा बाकेबिहारी मार्ग जोड्ने बाटो विगत लामो समयदेखि निमार्ण हुन सकेको थिएन ।

बाटोमा भएका खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम उच्च थियो । वर्षायाममा सडकमा पानी जम्दा आवतजावतमा समेत समस्या हुने गरेको थियो । नाला निकास नहुँदा हिउदमा पनि सडकमा पानी जम्ने समस्या थियो ।

नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि हाल सडक विस्तारको कार्य अघि बढाइएको हो । १० फिट चौडाईको बाँके बिहारी मार्गलाई नालासहित २० फिटमा स्तरोन्नति गर्ने तयारी रहेको वडा नं. ८ का वडा अध्यक्ष राम पोखरेलले बताए ।

कार्यालयका अनुसार नाला निमार्णका लागि वडा कार्यालयबाट १० लाख र सडक कालोपत्रेका लागि महानगरको सडक बोर्डबाट ७ लाख बजेट विनियोजन गरिएको छ ।

मापदण्ड अनुरुप सडक विस्तारका निम्त्ति हाल रेखाङ्कनभित्र परेका संरचनाहरू भत्काउने कार्य भईरहेको छ । अबको एक महिनाभित्र सडक कालोपत्रे गरिसक्ने तयारीका साथ सडक विस्तारको कार्य अघि बढाइएको वडाध्यक्ष पोखरेलले बताए ।

विगत लामो समयदेखि बन्न नसकेको बाटो कालोपत्रे हुुने भएपछि स्थानीय पनि उत्साहित देखिएका छन् ।

१२० मिटर लम्बाईको उक्त बाटो कालोपत्रे गर्ने जिम्मा भने सुमिसा निमार्ण सेवा विराटनगरले लिएको छ । निमार्ण कम्पनीले कुल ४३ लाखको बजेटमा वडा नं। ५, ६, ७ र ८ को विभिन्न चारवटा प्याकेजमा काम गरिरहेको छ ।