एमाले प्रदेश १ घोषणा पत्र

पाँच वर्षमा कोशीको पानीबाट सिंचाइ, पिउने पानी र बिजुली

विराटगनर । नेकपा (एमाले)ले प्रदेश नम्बर १ को चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आउँदो मंसिर ४ गते हुने आम निर्वाचनलाई लक्षित गरेर एमालेले तयार पारेको घोषणा पत्र शनिबार सार्वजनिक गरेको हो ।

गत निर्वाचनमा बहुमत ल्याएर सरकारको नेतृत्व गरेको एमालेले आगामी चुनावपछि पनि प्रदेश नं. १ को सरकारको नेतृत्व गर्ने घोषणा पत्रमा उल्लेख छ । एमालेले प्रदेश सरकार मार्फत सम्पन्न गर्ने योजना र लक्ष्य समेटेर घोषणा पत्र सार्वजनिक गरेको हो ।
एमालेले ‘आत्मनिर्भर प्रदेश, समृद्ध देश’ भन्ने नारा अगाडि सारेको छ । शासनप्रणालीमा सुधार अन्तरगत सार्वजनिक प्रशासनलाई पारदर्शी, सहभागितामूलक, जवाफदेही तथा छरितो बनाउने, आर्थिक अनुशासन कायम गर्ने, प्रदेशले अध्ययन, अनुसन्धान, अभिलेखन, सहजीकरण, समन्वय र अनुगमन गर्ने र उत्तरदायी राज्य व्यवस्थाको सिद्धान्त अनुरूप अघि बढ्ने, नागरिक अधिकारका सबै आयामहरू जस्तै उपभोक्ता हित, नागरिकको मर्यादा, स्वतन्त्रता र सेवा प्रदायकहरूको क्षमता अभिवृद्धि गर्न कुरा पनि प्रतिबद्धता पत्रमा उल्लेख छ ।

प्रतिबद्धता पत्रमा पहाडी र हिमाली जिल्लाहरूबाट बसाइसराइ रोक्न मध्य पहाडी लोकमार्गका महत्वपूर्ण स्थानमा ब्यापारिक केन्द्र स्थापना गर्ने, जलविद्युत र विभिन्न उद्योगहरू स्थापना गरी रोजगारी र स्वरोजगारीको अवसर सिर्जना गर्ने, गाउँलाई उत्पादन, प्रशोधन र भण्डारण केन्द्र एवं सहरलाई बजारीकरण र ब्राण्डिङ्को केन्द्र बनाउने आदि कार्यक्रम समेटेको छ । एमालेले कृषि क्षेत्रलाई उद्योग र सेवा क्षेत्रसँग जोड्दै समग्रमा कृषि क्षेत्रको योगदान २९ प्रतिशत र उद्योग क्षेत्रको योगदान २२ प्रतिशत पु¥याउने घोषणा गरेको छ ।

कोशी नदी प्रणाली यस प्रदेशको महत्वपूर्ण सम्पदा मानेर कोशी नदीको पानीलाई सिंचाइ, पिउने पानी, विद्युत उत्पादन, जलचर संरक्षण तथा मत्स्य उत्पादन, जलपरिवहन र जलविहारका लागि उपयोग गर्ने बताएको छ । नदी डाइभर्सनबाट झापा, मोरङ र सुनसरीे जिल्लाका बासिन्दाका लागि स्वच्छ खानेपानीको दीर्घकालीन व्यवस्थापन गर्ने पनि उसले दाबी गरेको छ । प्रतिवद्धता पत्र पार्टी स्थायी कमिटी सदस्य गुरु बराल लगायतका नेताहरुले संयुक्त रुपमा गरेका थिए ।

आइतबार, २० कार्तिक, २०७९, बिहानको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर