विराटनगर । बैंकहरुले कर्जा लगानीमा बढाएको चर्को ब्याजदरका विरुद्धमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले आन्दोलन घोषणा गरेको छ । महासंघले कात्तिक २२ गतेदेखि पहिलो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
चर्को ब्याजदरका कारण उद्योग व्यवसाय बन्द गर्नुपर्ने असहज परिस्थिति आएको भन्दै महासंघ आन्दोलनमा उत्रिएको हो । कात्तिक १८ गते बसेको महासंघको कार्यसमिति बैठकले आन्दोलनको कार्यक्रम प्रस्ताव गरी निर्णय गरेको हो ।
महासंघले कात्तिक २२ गते मंगलबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय र नगरमा रहेका बैंक तथा वित्तीय संघ संस्थाहरुमा ज्ञापनपत्र दिने, कात्तिक २३ गते बैंकहरुसँग कुनैपनि कारोबार नगर्ने र विरोधमा प्लेकार्डसहित मौन जुलुस प्रदर्शन गर्ने, कात्तिक २५ गते शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को सचिवालयमा भेला भएर प्रदेश १ का मुख्यमन्त्री कार्यालय र नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिई ज्ञापन पत्र बुझाउने, कात्तिक २८ गते नेपाल राष्ट्र बैंकको अव्यवहारिक नीति विरुद्ध नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यालयमा भेला भएर दबाब दिने गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो ।
महासंघले उक्र संघर्षका कार्यक्रमहरुमा जिल्ला नगर उद्योग वाणिज्य संघ तथा वस्तुगत संघका सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थित हुन पनि आव्हान गरेको महासंघ प्रदेश १ कार्यालयका कार्यकारी निर्देशक राधारमण भण्डारीले जनाएका छन् ।