विराटनगर ।  मोरङ क्षेत्र नं ४ (२) का एमाले उम्मेदवार जीवन घिमिरेले विराटनगरलाई प्रदेश १ को आर्थिक क्षेत्रको राजधानीमा रुपान्तरण गर्न एमाले प्रतिबद्ध रहेको बताएका छन् । एमाले नेतृत्वको सरकार बनेपछि विराटनगरमा आर्थिक गतिविधिहरू चलायमान हुने घिमिरेले बताए । नेकपा एमाले प्रदेश कमिटीले तयार गरेको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका सहइन्चार्ज तथा प्रदेश १ का पूर्वसामाजिक विकासमन्त्रीसमेत रहेका घिमिरेले सो कुरा बताएका हुन् ।

मुलुकको पर्यटनको गन्तव्य पोखरा, लुम्विनी मात्रै नहुने घिमिरेले बताए । उनले भने, ‘विराटनगरलाई पनि पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ ।’ उदयपुरमा रहेको सिमेन्टको कच्चा पदार्थको संरक्षण र उपयोग गर्न सकेमात्रै पनि समृद्ध प्रदेश निर्माण गर्न सकिने एमाले नेता घिमिरेको भनाइ छ । प्रदेश १ लाई जडिबुटीबाट पनि समृद्ध बनाउन सकिने उनको जोड छ । एमालेले प्रदेश सरकारमा ३ वर्ष ८ महिना रहँदा उल्लेख्य काम गरेको उनले बताए । पूर्वमन्त्री घिमिरले भने, ‘भौतिक निर्माण र सामाजिक विकासमा उल्लेख्य काम भयो । ’

एमाले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन प्रतिबद्व रहेको घिमिरेले बताए । यसको प्रकृया आफूहरू सरकारमा रहँदा शुरु भइसकेको उनले बताए । घिमिरेले भने, ‘हामी सरकारमा नहरेपछि यो कामले निरन्तरता पाउन सकेन, सरकारमा गएपछि हिजो भएका कामले निरन्तरता पाउने छन् ।’ एमालेले जम्बो मन्त्रिपरिषद् नबनाउने पनि उनको भनाइ छ । उनले भने, ‘अहिले कायम रहेको मन्त्रालयको संख्यालाई पहिलेकै अवस्थामा पुर्‍याइने छ ।’