विराटनगर । किरात राई यायोक्खा ले १ नम्बर प्रदेशको नाम किरात राख्नुपर्ने माग राख्दै प्रतिनिधिसभा एवम् प्रदेशसभाका मोरङका उम्मेदवारलाई ज्ञापनपत्र बुझाएको छ।

केन्द्रीय कार्यसमितिले शनिबार विराटनगरमा कार्यक्रम आयोजना गर्दै ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझदैं मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार अमनलाल मोदीले माओवादी शुरुवातदेखि नै पहिचानको आधारमा प्रदेश १ को नामकरण हुनुपर्नेमा जोड दिँदै आएको बताए।

उनले पहिचानको पक्षमा आफू सधैँ लागि पर्नेमा जोड दिए। यस्तै क्षेत्र नम्बर ६ का उम्मेदवार लालबाबु पण्डितले प्रदेश १ को नाम छलफलको अन्तिम चरणमा पुग्दा पनि नामकरण टुंगो लाग्न नसकेको स्वीकार गरे।

उनले विगतको प्रदेशसभाले राख्न नसकेको प्रदेशको नाम अबको प्रदेशसभाका उम्मेदवारले निर्वाचित भएपछि निर्णायक छलफल गर्नुपर्नेमा जोड दिए। उनले आफू संघको प्रतिनिधित्व भएको बताउँदै भने, ‘नामकरणका लागि सुझाव माग्न आए, जनताको भावना अनुसारको सल्लाह र सुझाव दिन म तयार छु।’