विराटनगर । १ नं. प्रदेश स्तरीय सुरक्षा गोष्ठी विराटनगरमा सुरु भएको छ । निर्वाचनलाई सुरक्षित, भयरहित र निष्पक्ष बनाउन प्रदेश स्तरीय गोष्ठी विराटनगरस्थित बीग होटलमा शनिबारदेखि सुरु भएको हो ।
गोष्ठीको उद्घाटन प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गरे । गोष्ठीमा गृह सचिब विनोद प्रकाश सिंह, प्रदेश १ का निमिक्त प्रमुख सचिब किशोर कुमार चौधरी, नेपाली सेनाका बालाधिकृत विभागका रथी सरोज प्रताव राण, नेपाल प्रहरीका महानिरीक्षक आइजिपी धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुस्न्धान निर्देशक हुतुराज थापा, नेपाली सेना, पूर्वी पृतनापति उपरथी सहदेव खड्का, १ नं.प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिपक गिरी, प्रदेश १ का १४ वटा जिल्ला प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुको उपस्थीति रहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको बताए । प्रदेश १ सहित चार प्रदेशमा सुरक्षा बैठक भएको उनले बताए । गृहप्रवक्ता पोखरेलले कार्ययोजना अनुसार निर्वाचन सुरक्षा तयारी तथा बन्दोबस्तीको काम भइरहेको बताए । ‘प्रादेशिक सुरक्षा गोष्ठी निर्वाचनलाई निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न अहिलेसम्म भए÷गरेका वस्तुस्थितिको समीक्षा र अपनाउनुपर्ने रणनीतिमा केन्द्रित हुन्छ,’ उनले भने ।
निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीसहित २ लाख ९८ हजार ५ सय ७९ सुरक्षाकर्मी परिचालन हुनेछन् । यसबाहेक सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति पनि खटिँदै छन् । सेना र सशस्त्रलाई बाहिरी सुरक्षा तथा प्रहरी र म्यादीलाई मतदानस्थल र मतदान केन्द्रको सुरक्षामा खटाउने निर्णय भइसकेको छ । निर्वाचन आयोगले मतदानका लागि १० हजार ८ सय ९१ मतदानस्थल र २२ हजार २ सय २६ मतदान केन्द्र निर्धारण गरेको छ । तय भएका मतदानस्थलमध्ये एक तिहाइ मतदानस्थल अतिसंवेदनशील सूचीमा समेटिएका छन् । गृहका अनुसार ३ हजार ८० मतदानस्थल अतिसंवेदनशील, ४ हजार ४ सय २० संवेदनशील र ३ हजार ३ सय ९१ कम संवेदनशील सूचीमा समेटिएका छन् ।


