विराटनगर । असुरक्षित रुपमा हुने गरेको गर्भपतन कार्यलाई निरुत्साहित पारी सुरक्षित रुपमा जनचेतना अभिवृद्धिमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । शुक्रबार स्वास्थ्य लाइभले विराटनगरमा आयोजना गरेको कार्यक्रममा गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउन आवश्यक रहेको बताए ।
उनीहरुले असुरक्षित गर्भपतनका कारण महिलाहरुले नै जोखिम मोल्नुपर्ने अवस्था रहेको उनीहरुले बताए । कार्यक्रममा बोल्दै विराट मेडिकल कलेजका अध्यक्ष तथा स्त्री तथा प्रसूती रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले असुरक्षित रुपमा हुने गरेको गर्भपतनलाई सुरक्षित बनाउनु र सकभर परिवार नियोजनका साधनहरु प्रयोग गरी गर्भपतन गराउनु हुँदैन भन्ने सन्देश दिनु आवश्यक रहेको बताए ।
‘सकभर गर्भपतन गर्न नपरोस् भन्ने मान्यता राख्ने गर्दछु,’ डा. कार्कीले भने, ‘तर पनि अहिले गर्भपतन गराउन आउने गरेका छन् ।’ गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जगाउनुपर्नेमा डा। कार्कीले बताए । ‘गर्भपतन गराउन पाईन्छ वा पाईदैन भन्ने कुराको सबैलाई ज्ञान छैन,’ उनले भने, ‘कस्तो अवस्थामा कहाँबाट गर्न पाइन्छ कस्तो अवस्थामा पाइदैन भन्ने कुराको सबैलाई ज्ञान हुन आवश्यक रेहको छ ।’ यसमा सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले विशेष पहल गर्नुपर्ने उनले बताए । कार्यक्रममा विपी कोइराला विज्ञान प्रतिष्ठानका श्याम लम्सालले जथाभावी गर्भतपन गराउँदा महिलाको स्वास्थ्यमा असर पर्ने बताए ।

औषधी खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले महिलाहरू बढी मेडिकलमा गई अवैध रुपमा गर्भपतन गराउने समस्या बढेको उनले बताए । असुरक्षित गर्भपतनलाई निरुत्साहित गर्न जनचेतना अभिवृद्धि गर्नु जरुरी उनले बताए ।
प्रदेश १ स्वास्थ्य मन्त्रालयका नर्सिङ अधिकृत कृतिश्री दाहालले गर्भपतन गराउने अवस्था आउनै नदिनुपर्नेमा सबैलाई जनचेतना जोगाउन आवश्यक रहेको बताईन् । उनले इच्छाविपरीत भइहालेमा सुरक्षित तरिकाले गर्भपतन गराउन नेपाल सरकारबाट सूचीकृत स्वास्थ्यकर्मी भएको स्वास्थ्य संस्थामा गएर सेवा लिन आग्रह गरिन् । दाहालले खुला सीमाबाट हुने दार्ताबिनाको औषधिको प्रयोग सबै जुटेर नियन्त्रणमा लिनुपर्ने धारणा राखिन् ।
कार्यक्रममा औषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले गर्भपतनका औषधि बिना दर्ताका नेपाल प्रवेश हुने र बिक्रिवितरण भए पनि सिमित स्रोत साधन र जनशक्तिले गर्दा प्रभावकारी अनुगमन गर्न सम्भव नभएको बताए । उनले गलत रुपमा औषधिको प्रयोग हुने गरेको कुरालाई भने स्वीकार गरे । खड्काले औषधि व्यवस्था विभागले मात्रै यो बिक्रिति रोक्न नसक्ने भन्दै उनले जिल्ला प्रसाशन कार्यालय, संचारकर्मी, मन्त्रालय सबैको सहयोग जरुरी भएको बताए ।
मेरी स्टोप्स इन्टरनेशनलका सिनियर एड्भाइजर केपी उपाध्ययले गलत रुपमा हुने गर्भपतनका औषधिको प्रयोगमा सबै सचेत हुनुपर्ने बताए । उनले संचारकर्मीहरुले गर्भपतनका समाचार लेख्दा सेवाग्राही महिलाको भावनालाई बुझेर लेख्न पनि आग्रह गरे । ‘गर्भपतन गराउन प्रत्साहन गर्नु हुँदैन’, उपाध्यायले भने, ‘तर कसैले गराउँछु भनेको खण्डमा सुरक्षित रुपमा दर्ता भएका स्वास्थ्य सस्थामा गएर पूर्ण सेवा लिन अनुरोध गर्नुपर्छ ।’

