विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मोरङको क्षेत्र नं। ४ मा सत्ता गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।

नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको सत्ता गठबन्धन दलका उम्मेदवारले निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताका घर घरमा पुगिरहेका छन् ।

प्रतिनिधिसभातर्फ मोरङ क्षेत्र नं। ४ मा माओवादी केन्द्रका अमनलाल मोदी रहेका छन् । प्रदेशतर्फ ४९१० मा काँग्रेसका गुरुराज घिमिरे र ४९२० मा भिम पराजुली उम्मेदवार रहेका छन् ।
सत्ता गठबन्धनका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सत्ता गठबन्धनले घरदैलो अभियान सुरु गरेसँगै चुनावी सरगर्मी बढेको छ ।
बिहीबार गठबन्धनले विराटनगरमा वृहत् मोटरसाइकल र्‍याली निकालेका छन् । उम्मेदवारसहितको उपस्थितिमा बिहान विराटनगर १ पुष्पलालचौक बाट मोटरसाइकल र्‍याली निकालेको थियो । मोटरसाइकल र्‍यालीले मोरङको क्षेत्र नं। ४ को विभिन्न वडा परिक्रमा गरी विराटनगर २ मा रहेको माओवादी पार्टी कार्यालय नजिक तीन पैनी चौकमा कोणसभा गरिएको थियो ।

दिउँसो १ बजे विराटनगर १९ बाट सुरु भएको मोटरसाइकल र्‍याली ले विभिन्न वडाहरू परिक्रमा गरेपछि ग्रामथान गाउँपालिका २ को झोराहाटमा कोणसभा भएको थियो ।

कोणसभा कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका उम्मेदवार मोदीले संसदमा आफूले जनताको आवाज निर्भीक भएर बोलेको बताए । ‘संसदमा निर्भीक भएर बोल्ने मान्छेको खाँचो छ, हामी संसदमा तपाईँका समस्याहरू निर्भीक भएर बोल्नेछौँ,’ उनले भने । आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ को बुझेको र भिजेको मान्छे भएकोले विकासमा लागि पर्ने उनले बताए । आफूले पाँच वर्षमा काम गर्दा जनताको जीवनलाई छोएको उनले सुनाए । ‘यहाँको समाजमा भिजेको छु । समाजमा रहेका विविधतासँग गाँसिएको छु । विकास,पूर्वाधार निर्माणको सवालमा मैले जसरी काम गरेको छु । शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षाको सम्बन्धमा मैले काम गरेको छु ।

खेलकुददेखि महिला स्वावलम्बी बनाउने लगायतका जति पनि काम गरेको छु,जसको कारण जनताले व्यक्ति व्यक्ति घर घरले मलाई चिन्छन् । यो मेरो जन्म र हुर्केको ठाउँ पनि हो । म यहीँ हुर्केको,पढेको क्षेत्र हो । यहीँको धुलो, माटोमा हुर्केको बासिन्दा हो,’ उनले भने ।